हराउन थाले हुलाकी दाइ

 असोज १७, २०७८ आइतबार ११:२९:५६ | रासस
unn.prixa.net

लमजुङ - समयानुकूल र प्रविधिमैत्री हुन नसक्दा हुलाक सेवा उपयोगविहीन बनेको छ । पछिल्लो समयमा चिठ्ठीपत्र आदानप्रदान गर्ने चलन हराउँदै गएको, नयाँ–नयाँ प्रविधि र सञ्चारका तरौतरिकालाई हुलाक सेवाले अवलम्बन गर्न नसक्दा यसको उपयोगिता  घट्दै गएको हो ।

मर्स्याङ्दी गाउँपालिका–३ घनपोखराकी ८७ वर्षीया धनकुमारी गुरुङले भन्नुभयो, 'विगतमा चिठ्ठीपत्र हुलाक दाइले घरघरमा ल्याउने गर्नुहुन्थ्यो, हाम्रो पालामा हामीले कसैलाई केही खबर पठाउन परे पनि हुलाक सेवा प्रयोग गरेका थियौँ । समय बदलिँदै जाने क्रममा समयानुसार यसको सेवा प्रभावकारी हुन नसक्दा यसको महत्त्व हट्दै गएको छ ।'

पहिला पहिला यहाँका दाजुभाइ लाहुर गएका र विभिन्न देशमा काम गर्न गएकाको खबर पाउने, यताको खबर उता र उताको खबर यता पठाउने एउटै मात्र माध्यम हुलाक सेवामार्फत चिठ्ठीपत्र आदानप्रदान नै थियो।

उहाँले भन्नुभयो 'चिठ्ठी आउन र पाउनलाई पनि धेरै समय लाग्थ्यो, हुलाकी दाइ भनेर परिचित एक जना दाइ हुनुहुन्थ्यो, उहाँ गाउँमा आउँदा चिठ्ठी आयो कि भनेर सोध्ने गर्थेँ । विगतमा चिठ्ठीपत्र कि त छिमेकी कोही विदेशबाट आएमा मात्र त्यहाँको हालखबर थाहा हुने गरे पनि अहिले त मिनेट भरमै सबै ठाउँको कुरा थाहा हुन्छ । ' 

हुलाक समयानुकूल हुन नसक्दा अहिलेका नयाँ पिँढीलाई हुलाक सेवा भनेकै थाहा छैन । दोर्दी गाउँपालिका–३ की ९० वर्षीया मनमाया तामाङले भन्नुभयो, 'हुलाक दाई गाउँमा आएको देखेपछि विदेशमा गएका छोरा र आफन्तको खबर आयो कि भन्दै सोध्ने गर्दथ्यौँ, खबरको माध्यम भनेकै चिठ्ठीपत्र थियो । विगतमा यसले ठूलो महत्व राखे पनि प्रविधिको युगमा अहिले भने यसको वास्ता हुन छाडेको छ ।'

हुलाक भनेको सुनेको छु, तर यसको काम के हो ? कुनै जानकारी नभएको बेसीसहर नगरपालिकाका स्थानीयवासी २५ वर्षीय सरोज श्रेष्ठले भन्नुभयो । अहिलेसम्म हुलाक सेवा हामीलाई आवश्यकता नपरेकाले कुनै जानकारी तथा महत्त्व थाहा नभएको उहाँको भनाइ छ ।

प्रविधिको युगसँगै हुलाकको ढाँचा परिवर्तन हुन नसक्दा सरकारी कामकाजका चिठ्ठी, पत्रपत्रिका आदानप्रदान, हुलाक टिकट बिक्री, कहिलेकाहीँ बैंकबाट ऋण लगेर भाका नाघेका व्यक्तिलाई चिठ्ठी पठाउनेलगायत काममा मात्रै हुने गरेको हुलाक अधिकृत गङ्गाबहादुर घलेले बताउनुभयो ।

केही वर्षअघिसम्म प्रविधिको विकास नभएकाले हुलाक सेवा प्रभावकारी बने पनि यतिबेला हुलाक सेवाबाट भन्दा इमेल, इन्टरनेट, मोबाइल, वेबसाइटजस्ता नयाँ प्रविधिले छिटोछरितो सञ्चार सेवा प्रवाह गर्ने भएकाले हुलाक सेवा उपयोगविहीन बन्दै गएको हुलाक अधिकृत घलेको भनाइ छ ।

यतिबेला हुलाक सुनसानजस्तै बनेको छ । जिल्ला हुलाक कार्यालयमा सरकारी चिठ्ठी र केही व्यक्तिको पार्सललगायतका १५/२० वटा चिठ्ठीपत्र दैनिक आउने गरेको हुलाक कार्यालयले जनाएको छ । जिल्लामा एक जिल्ला हुलाक कार्यालय, १० इलाका, ५० अतिरिक्त हुलाक गरी ६१ वटा हुलाक कार्यालय रहेका छन् । यी सबै कार्यालयमा २१० भन्दा बढी कर्मचारी छन् ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया