चिनी नआउँदा बाग्लुङमा सुपथ मूल्य पसल खुलेन

 असोज १८, २०७८ सोमबार २०:२३:२ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बाग्लुङ – भन्सार सहुलियतको चिनी नआएपछि यहाँ चाडपर्व लक्षित सुपथ मूल्य पसल खुल्न सकेको छैन । दशैँ मुखैमा आइपुग्दा पसल खुल्ने/नखुल्ने अनिश्चित छ ।

चिनी नहुँदा पसल सञ्चालनमा ढिलाइ भएको साल्ट ट्रेडिङ कर्पोरेशन बाग्लुङ कार्यालयले जनाएको छ । गएकाे वर्ष पनि कोभिड–१९ का कारण पसल खुल्न सकेको थिएन । कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठले केन्द्रबाट बिक्री मूल्यसमेत तोकिए पनि चिनी भने नआएको बताउनुभयो । भारतबाट भन्सार छुटमा आउनुपर्ने चिनी नै नआएको भन्ने बुझिएको छ, उहाँले भन्नुभयो, चिनी आउनासाथ सुपथ पसल खोल्ने हाम्रो तयारी छ ।

दशैँअघि पसल खोल्न अब असम्भव देखिन्छ । बेलैमा चिनी आए तिहार र छठलाई लक्षित गरेर पसल खोल्ने योजना कार्यालयले बनाएको छ । सहज स्थितिमा दशैँको नवदुर्गा लाग्नुअघि देखि नै पसल सञ्चालनमा आइसक्थ्यो ।

चाडपर्वका बेला उपभोक्तालाई थोरै भए पनि सहुलियत दिने उद्देश्यले कर्पोरेशनले सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । बजार भाउ चर्किएका बेला सस्तो पसलले कम मूल्यमा चिनी र नुन बेच्ने गर्छ । कार्यालय प्रमुख श्रेष्ठले काठमाण्डाैबाहेक बाहिर रहेका संस्थानका कार्यालयमा चिनी नभएको बताउनुभयो ।

वीरगञ्जमा रहेको संस्थानको डिपोमा सोध्दा पनि चिनी आएको छैन भन्ने जवाफ आयो, उहाँले भन्नुभयो, मन्त्रालय तहबाटै प्रक्रिया लम्बिएजस्तो देखिन्छ । चाडपर्वमा अभाव हुन नदिन कर्पोरेशनले गएकाे वैशाखमै भन्सार छुटमा ५० हजार मेट्रिक टन चिनी ल्याउन सरकारसँग माग गरेको थियो ।

अर्थ मन्त्रालयको स्वीकृतिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी आयात गर्छ । चिनी खरिदको प्रक्रिया लम्बिँदा त्यसको प्रत्यक्ष मार उपभोक्तामा परेको छ । पसल खुले सस्तोमा चिनी, नुन किन्न पाइने आशमा उपभोक्ता छन् । पसल सञ्चालनमा आउँदा दैनिक सयौँको लाम लाग्छ । भिड व्यवस्थापन र सेवा प्रवाहमा कर्मचारीलाई नै हम्मेहम्मेको स्थिति बन्छ ।

पसलबाट करोडौँको चिनी र नुन बिक्री हुन्छ । कर्पोरेशनबाहेक खाद्य व्यवस्था तथा व्यापार कम्पनी, नेशनल ट्रेडिङ लिमिटेड, खाद्य संस्थान र दुग्ध विकास संस्थानले पनि विभिन्न ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्छन् । दशैँअघि खुल्ने त्यस्ता पसलले छठसम्म उपभोक्तालाई सेवा दिन्छन् । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया