संसद् चल्न दिनुपर्छ अनि मात्र एमालेकाे एकाेहाेराे नाराकाे अर्थ हुन्छ : कांग्रेस नेता बडू

 असोज १९, २०७८ मंगलबार २०:२१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले प्रमुख प्रतिपक्षी दलका सांसदहरूले संसदमा विभिन्न विषय उठाएर नाराबाजी गरे पनि त्यसको जवाफ सुन्न नचाहेको बताउनुभएको छ । 

आज मङ्गलवारकाे प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बडूले प्रमुख प्रतिपक्षी दलका सांसदहरूले नारामा विभिन्न विषयको उठान गरेको भए पनि त्यसको जवाफ सुन्न तयार नभएको बताउनुभएको हो । सभामुखले संसदीय परम्परा, मूल्य–मान्यता र प्रतिनिधि सभा नियमावलीबारे बारम्बार सजग गराउँदा पनि प्रतिपक्षी सांसदहरू सुन्न तयार नभएको उहाँले बताउनुभयो ।

संसदमा उठेका कालोधन लगायतका विषयमा सम्बन्धित पक्षले जवाफ दिनका लागि पनि संसद् खोल्नुपर्ने उहाँले बताउनुभयो । संसद् खुलेमा प्रतिपक्ष दलले उठाएको सबै विषयवस्तुको जवाफ पाउने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘कालोधनको नारा दिनुहुन्छ, त्यसको जवाफ दिने कसले ? उहाँले एकोहोरो नारा त लगाइरहनुभएको छ । संसदीय परम्परा, मान्यता र हाम्रो प्रतिनिधि सभा नियमावलीले भनेका विषयहरू सभामुखले एकोहोरो सुनाइरहनुभएको छ, तर उहाँहरू त्यसलाई सुन्न तयार हुनुहुन्न । सम्बन्धित पक्षले जवाफ दिन्थ्यो होला हाउसमा, हाउस चल्न दिएको भए । जे–जे नारा दिनुभएको छ, पर्याप्त छ । अब त्यसको जवाफ सुन्नलाई हाउस चल्न दिनुपर्छ अनि मात्र उहाँहरूको एकोहोरो नाराको अर्थ हुन्छ ।’

फरक प्रसङ्गमा उहाँले नेपाली कांग्रेसको पालिका तहको अधिवेशनले पार्टीलाई अझ सक्रिय र अनुशासित रूपमा अगाडि बढाउन आम धारणा बनेको बताउनुभयो । चुनावी परिणाम विभिन्न समूहको मिश्रित रूपमा आएको भन्दै उहाँले यसले पार्टीलाई समूहगत रूपमा पनि सन्तुलित राख्ने बताउनुभयो । 

त्यस्तै नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रतिपक्षले उठाएको विषय सर्वोच्च अदालतमा विचाराधीन मुद्दा भएकाले संसदमा त्यसलाई विषय बनाउन नसकिने बताउनुभयो । सर्वदलीय बैठक बसेर संसद्को गतिरोधलाई निकास दिनुपर्ने उहाँले बताउनुभयो । 

सांसद कँडेलले संसद्लाई अनिर्णयको बन्दी बनाउँदा देशकाे हित नहुने बताउनुभयो । प्रतिपक्ष दलले छलफलको माध्यमबाट निकास दिनुपर्ने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया