पालिकामा सडक खन्ने होडबाजी, स्तराेन्नतिमा भने ध्यान गएन

 असोज २०, २०७८ बुधबार ६:४८:७ | रासस
unn.prixa.net

फाइल फाेटाे

बैतडी – विकास बजेटमा सबैभन्दा बढी खर्च हुने सडक नै ग्रामीण सडक रहेको छ । बैतडीका पालिकामा जनप्रतिनिधि आइसकेपछि ग्रामीण सडक खन्ने होडबाजी नै चलेको छ । सबै पालिकाले पहिलो प्राथमिकता सडकलाई नै राखेका छन् । बैतडीमा चार नगरपालिका र ६ गाउँपालिका गरी १० पालिका रहेका छन् । 

जनप्रतिनिधि आएको चार वर्षको अवधिमा यहाँ पालिकामा एक हजार सात सय २९ किलोमिटर सडक खनिएको छ । स्थानीयवासीको माग र आवश्यकतानुसार नै सडक खनिएका पालिकाहरूले जनाएका छन् । ग्रामीण सडक बढी निर्माण गर्नेमा पञ्चेश्वर गाउँपालिका रहेको छ भने कममा सिगास गाउँपालिका रहेको छ ।

पञ्चेश्वरमा अहिलेसम्म दुई सय ९० किलोमिटर सडकको ट्र्याक खोलिएको छ । तीमध्ये दुई सय ५० किलोमिटर गाउँपालिका र ४० किलोमिटर सङ्घीय सरकारको बजेटमा सडक निर्माण भएको हो । गाउँपालिकाले सडकमा प्रत्येक वर्ष कम्तीमा तीन करोड रुपैयाँ बढी रकम खर्च गरेको जनाएको छ । विकासको मेरुदण्ड नै सडक रहेकाले पहिलो प्राथमिकतामा सडक परेको गाउँपालिकाका प्रवक्ता दशरथ मङ्गोलाको भनाइ छ ।

तीन वर्षको अवधिमा शिवनाथ गाउँपालिकामा दुई सय ३६ किलोमिटर सडक निर्माण भएको छ । शिवनाथमा दुई वटा सडक सङ्घीय र दुई वटा प्रदेश सरकारले निर्माण गरेको हो । वार्षिक तीन करोड रुपैयाँ सडकमा खर्च गरिरहेको गाउँपालिकाले अहिले तीन वटा सडकको स्तरोन्नति गरिरहेको छ ।

सदरमुकाममा रहेकाे दशरथचन्द नगरपालिकामा जनप्रतिनिधि आएपछि दुई सय किलोमिटर सडक निर्माण भएको छ । चालीस सडक निर्माण गरेको नगरपालिकाले वार्षिक तीन करोडदेखि सात करोड रुपैयाँसम्म सडकमा खर्च गरेको छ । गाउँ–गाउँमा सडक पुर्‍याउने लक्ष्यका साथ सडक निर्माणमा जोड दिइएको नगरपालिकाका मेयर नरेन्द्रसिंह थापाले बताउनुभयो । पाटन नगरपालिकाले एक सय ८० किलोमिटर सडक निर्माण गरेको जनाएको छ । हरेक वडामा कम्तीमा १५ किलोमिटर सडक खनेको पाटनले ५० भन्दा बढी सडक निर्माण गरेको हो ।

मेलौली नगरपालिकाले पनि एक सय ८० किलोमिटर सडक निर्माण गरेको छ । नगरपालिकाले सबै वडामा गरी अहिलेसम्म ३२ सडक निर्माण गरेको हो । दोगडाकेदार गाउँपालिकाले अहिलेसम्म एक सय ६१ किलोमिटर सडक निर्माण गरेको छ । पाँच वटा चक्रपथसमेत निर्माण गरेकामा अहिलेसम्म २० वटा सडक खनेको गाउँपालिकाले जनाएको छ । जिल्लाको पुर्चौडी नगरपालिकाले एक सय ५० किलोमिटर सडक निर्माण गरेको छ । सबै वडालाई कच्ची सडकले छोएको पुर्चौडीमा अहिलेसम्म १८ वटा सडक खनिएका हुन् ।

सुर्नया गाउँपालिकाले अहिलेसम्म एक सय नै किलोमिटर सडक निर्माण गरेको छ । चार वर्षमा २० वटा सडक खनेको सुर्नयामा वार्षिक दुई करोडदेखि चार करोड रुपैयाँसम्म सडकमा खर्च गरेको छ । स्थानीय नागरिकको माग र आवश्यकतानुसार नै सडकलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले बताउनुभयो ।

विकास निर्माणको हिसाबले जिल्लाको सबैभन्दा दुर्गम मानिएको सिगास गाउँपालिकाले जनप्रतिनिधि आएपछि १० सडक निर्माण गरेको एक सय तीन किलोमिटर खनेको हो । डिलाशैनी गाउँपालिकामा एक सय १९ किलोमिटर सडक खनिएको छ । जनप्रतिनिधि आएपछि यहाँ सडक खन्ने होडबाजी चलेको भए पनि विना याेजना सडक निर्माण गरिँदा जोखिमसमेत निम्त्याउने गरेको सामाजिक अभियानकर्मीसमेत रहनुभएका दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका भोजराज जोशी ‘क्वालिटी’को भनाइ छ । उहाँले भन्नुभयो, ‘गाउँगाउँमा सडक पुर्‍याउने नाममा विना स्टमेट सडक खन्ने गरेका छन्, यसले विपद् निम्तिने गरेको छ ।’

उहाँका अनुसार गाउँमा सडक पुर्‍याउन पालिकाले विकास बजेटको ५० देखि ७० प्रतिशतसम्म लगानी गर्छन् । त्यति मात्रै होइन, प्रदेश तथा सङ्घीय सरकारको लगानीमा समेत ग्रामीण सडकको स्तरोन्नतिका योजनाले प्राथमिकता पाइरहेका छन् । तर, सडकमा बर्सेनि गरिएको लगानी बालुवामा पानी हालेसरह छ । बाह्रै महिना सञ्चालन हुने सडकको दुरी अत्यन्त न्यून रहेको छ ।

‘टोलटोलमा खनिएका सडकका कारण मुख्य सडक र भूक्षयमा गम्भीर असर परेको छ’, उहाँले भन्नुभयो, ‘ठूलो बजेट नहुने पालिका सरकारले सडकमा धेरै लगानी गर्न नसकेका कारण टोलटोलमा खनेका सडकले विनाश थपेको छ ।’ 

डोजर चालक नै प्राविधिक बन्ने गरेकाले यहाँ हरेक वर्ष विपद् बढ्दै गएको उहाँको आरोप छ । यसका साथै ग्रामीण सडक स्तरोन्नतिमा ध्यान नदिँदा यहाँका ग्रामीण सडकमा सवारी दुर्घटनासमेत हुने गरेको छ । उहाँले भन्नुभयो, ‘सडक खन्ने होडबाजीभन्दा पनि खनिएका सडक स्तरोन्नतिमा ध्यान दिनुपर्छ, जसले विपद् र दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।’

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया