एमसीसी, बीआरआई लगायतका विषय सहमतिमै अघि बढ्छ : मन्त्री खड्का

 असोज २०, २०७८ बुधबार १९:१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको छ । 

आज बुधवार सिंहदरबारमा बसेको समितिको बैठकमा परराष्ट्र मन्त्री खड्कालाई बोलाएर समितिले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको हो । समितिको बैठकमा बोल्दै परराष्ट्र मन्त्री खड्काले एमसीसी, सीमा, बाँध, बीआरआई लगायतका सबै मुद्दाहरू सहमति र विश्वसनीयताका आधारमा मात्रै पास गर्नुपर्ने बताउनुभयो । उहाँले सहमति नभइ र राष्ट्रिय हित विपरीत मुद्दाहरू पेस गर्न नमिल्ने पनि उहाँले बताउनुभयो ।

मन्त्री खड्काले राष्ट्रको हित विपरीत कुराहरू पास गर्न नहुने भन्दै सम्झौता गरिएका मुद्दाहरू राष्ट्रिय हितमा छन् वा छैनन् भन्ने कुरा अनुसन्धान गरेर मात्रै निर्णय लिनुपर्ने बताउनुभयो । उहाँले सत्तामा एउटा र बाहिर हुँदा अर्को आवाज निकाल्ने हो भने परराष्ट्रहरूसँगको विश्वसनीयता हट्ने भन्दै सबै सम्झौताहरू गर्दा अध्ययन गरेर मात्रै सम्झौता गर्न सुझाव दिनुभयो ।

परराष्ट्र मन्त्री खड्काले भन्नुभयो, ‘राष्ट्रिय हित भनेको कुनै एउटा पार्टीको होइन, त्यसैले साझा सहमति हुन सक्यो भने मात्रै अहिले उठेका मुद्दाहरूलाई सम्बोधन गर्न सक्छौँ, होइन भनेदेखि खेल्छन् नै खेलिन्छन् नै, त्यसैले हामीले सबैभन्दा पहिलो कुरा नेशनल युनिटी एप्रोज हुनुपर्यो । सीमाका, बाँधका, एमसीसीका, बीआरआईका यी सबै मुद्दाहरू हामीले सम्बोधन गर्न सक्नुपर्छ, त्यसैले मेरो सबैभन्दा पहिलो प्राथमिकता नै सहमति गर्ने हो, एमसीसी पनि सहमतिबाटै गर्ने हो, मैले भने हाम्रो हितमा छ भने पास गर्ने हो, हितमै छैन भने किन पास गर्ने ? तर हितमा छ कि छैन भन्ने कुरा अनुसन्धान गरौँ अनि समस्या विश्वसनीयताको छ । भदौ २९ गते २०७६ सालमा हामीले सही गरेर आएका छौँ एमसीसीको, त्यो सही के हो त ? अर्थ मन्त्रीबाट नेपालको तथा धेरै देशको अर्थ मन्त्रीले हस्ताक्षर गर्दै आउनुभएको छ, त्यसमा फेरि संयुक्त सरकार, खास गरी दुई वटा माओवादी र कांग्रेसको सरकार थियो, अब त्यसलाई हामीले पास गर्ने कि नगर्ने ? त्यो भन्दाअघि हामीले किन अध्ययन गरेनौँ ? बाबुरामजीदेखि अहिलेको प्रधानमन्त्री शेरबहादुर देउवासम्म आइपुग्यो, सात जना प्रधानमन्त्री इन्भल्व भइसक्नुभयो, अहिलेसम्म आइपुग्दा किन अध्ययन हुन सकेन ? हामीले सत्तामा हुँदा एउटा र बाहिर हुँदा अर्को आवाज गर्यौं भने विश्वसनीयता गुम्छ अनि पत्याउँदैनन् हामीलाई । हामी कमजोर हुन्छौँ, हाम्रो हितमा छैन भने भनौँ माई डियर अमेरिका फ्रेण्ड्स हामीले हाम्रो हितमा पाएनौँ सरी, तर हामीले सही गरिसक्यौँ अब के गर्ने ?’

बैठकमा नवनियुक्त परराष्ट्र मन्त्रीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै सहभागीहरूले अबको परराष्ट्र नीति कस्तो बनाउने भन्नेबारेमा छलफल गरेका थिए । मन्त्री खड्काले सांसदहरूको प्रश्नको जवाफमा अबको परराष्ट्र नीति नजिकका मित्र र अन्य परराष्ट्रहरूसँगको सम्बन्धलाई एकताबद्ध गरेर जानुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया