एकीकृत समाजवादीले आज पनि मन्त्री टुङ्गाे लगाउन सकेन

 असोज २१, २०७८ बिहिबार २०:११:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा जाने मन्त्रीको नाम आज बिहीवार पनि टुङ्गो लगाउन सकेन ।   

पार्टीको काठमाण्डाैमा बसेकाे स्थायी कमिटीकाे बैठकले  सरकारमा जाने मन्त्रीको नाम टुङ्गो लगाउने अपेच्छा गरिएको थियो । केहीबेर अघि सम्पन्न बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै प्रवक्ता जगन्नाथ खतिवडाले भोलि (शुक्रवार) बस्ने पार्टी केन्द्रीय सचिवालयको बैठकले सरकारमा जाने मन्त्रीको नाम सिफारिस गर्ने समझदारी बनेको जानकारी दिनुभयो । सत्ता साझेदार दलहरूबीच मन्त्रालय भागबन्डा मिलाउँदा नागरिकसँग प्रत्यक्ष जोडिने मन्त्रालय नपाएको भन्दै नेकपा एकीकृत समाजवादीले असन्तुष्टि जनाउँदै आएको छ । 

अहिले भएको सहमतिअनुसार नेकपा एकीकृत समाजवादी पार्टीले सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने छ भने एक राज्यमन्त्री राख्न पाउने छ । 

यस्तै स्थायी कमिटी बैठकले पार्टीको विभिन्न विभागमा रहने पदाधिकारी र सङ्ख्याको टुङ्गो लगाएको छ । पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिव रहने गरी २५ सदस्य रहने निर्णय गरेको छ । यस्तै बैठकले पार्टी पदाधिकारीमा चार जना नेतालाई मनोनयन गरेको छ । उपमहासचिवमा जगन्नाथ खतिवडा र सचिवहरूमा गरिमा शाह, जीवनराम श्रेष्ठ र भागवत विश्वासलाई मनोनयन गरेको छ । 

यस्तै स्थायी कमिटी बैठकले बेदुराम भुसालको नेतृत्वमा रहने पाँच सदस्य केन्द्रीय कार्यालय र ११ सदस्य केन्द्रीय सचिवालय बनाउने निर्णय गरेको छ । केन्द्रीय सचिवालयलाई स्थायी कमिटीकाे बैठक बस्न नसकेको अवस्थामा सचिवालयले गर्ने निर्णयलाई आधिकारिकता दिने निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो । बैठकले पार्टी संरचनाको विभिन्न निकायमा रहने पदाधिकारी र सङ्ख्यालाई पनि टुङ्गो लगाएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया