परदेशमा बसेर घरदेशको दशैँ सम्झना

 असोज २२, २०७८ शुक्रबार १२:३९:१७ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

छत्र लकाई खड्का / मोरङ्ग, हाल मलेसिया ।

सात समुन्द्र पारीको यो बिरानो देशमा अरुको खटनमा रहेर आज पनि म सधैँ झैं काम गरिरहेको छु । गाउँघरमा त दशैँ सुरु भइसकेछ । यता हामी परदेशीलाई उही त हो नि, फेसबुकमा साथीभाइले राखेका फोटो र क्याप्सन हेरेर थाहा हुने । दशैँ होस् या नयाँ वर्ष, हामीले त थाहा पाउने भनेकै यसरी नै हो । 

सधैंभरि ड्युटी । यस्तो व्यस्ततामा दशैँको याद नहुनुपर्ने हो नि है ? तर ड्युटी गरिरहँदा पनि दशैँको सम्झना दिमागको खै कुन कुनाबाट सुटुक्क पसेर मन बहकाइदिन्छ । आफ्ना आमाबुवा, दाजुभाइ, दिदीबहिनी, श्रीमती र छोराछोरीहरुसँगै बसेर दशैँ मनाएका ती याद आज यी आँखामा झल्झली आइरहेका छन् । म जस्तै लाखौं नेपाली दाजुभाइहरु यो बिरानो परदेशमा नजिकै आइरहेको दशैँलाई सम्झेरै भए पनि मनाउने सुरसारमा छौँ । दशैँको कति महत्व हुन्छ भन्ने कुरा परदेशीहरुले गहिरोसँग बुझेका छन्, भोगेका छन् ।

जेजस्तो भए पनि परदेश आखिर परदेश नै रहेछ । हामीसँग त केवल गाउँघरमा छँदा मनाएका दशैँका यादहरु बाँकी हुन्छन् । आज तिनै यादहरुका गुजुल्टा फुकाउने प्रयास गर्दैछु ।

बाल्यकाल हुँदाको त्यो दशैँमा कति रमाइलो हुन्थ्यो, आज पनि यसरी सम्झिरहेको छु । ती मेरा बाल्यकालका हरेक अनुभवहरुलाई मेरो जन्मथलो पूर्वी पहाडी जिल्ला तेह्रथुमको साविकको मोराहाङ्ग गाविस वडा न ४ सल्लेरी सिरानमा थियो । अहिले त  मेन्छयाम गाउँपालीका वडा न ५ बनिसक्यो । 

दशैँ नजिकिएपछि गाउँघरमा मूलबाटोको सरसफाइमा हामी सम्पूर्ण गाउँलेहरु घरको एकजनाको हिसाबले जम्मा हुन्थ्यौँ । मूलबाटोको झारपातहरु उखेल्ने खाल्डाखुल्डी भएको ठाँउमा ढुंङ्गाहरु राखेर बाटो सम्याउने काम गरिन्थ्यो । त्यसरी काम गरेको पत्तै हुँदैनथ्यो । प्रायःजसो उस्तै उमेरका हामी अल्लारे केटाहरू भेला हुन्थ्यौँ । यस्तै  गाउँका अगुवा हजुरबा, काका, दाजुहरुको कुरालाई पनि हामीले खुब चासो दिएर सुन्दै बाटो सरसफाइमा लागिपर्थ्याैँ । एकदुई दिनको खटाइपछि बाटोको सरसफाइ सकिन्थ्यो । त्यसपछि गाउँमा लिङ्गे पिङ्ग हाल्ने कामको लागि हामीलाई निकै चटारो परेको हुन्थ्यो । सबैले घर घरबाट बाबियो ल्याउने, बाबियोको पिङ्गको डोरी कसैले तयार गर्ने त कसैले पिङ्गका लागि भालुबाँसका लिङ्गा हाल्नलाई खाल्डो खन्ने अनि कसैले भालुबाँस लिएर आउने । साँच्चिकै त्यो माहोलमा छुट्टै रमाइलो हुन्थ्यो । अनि दिनभरको सबैको मेहनतले बेलुकासम्ममा लिङ्गे पिङ्ग तयार भइसक्थ्यो । 

अनि गाउँमा नौरता लागेपछि सबैको घर घरमा ढिकीमा चिउरा कुट्ने काम सुरु हुन्थ्यो । गाउँमा सबैको घरमा गुञ्जेको ढीकीको आवाजले दशैँमा थप रौनक मिसिन्थ्यो । म पनि आमा दिदीसँगै कहिलेकाहीँ दशैँमा चिउरा कुट्न छिमेकीको ढिकीमा जान्थेँ ।  आमाले चिउरा भुट्नु हुन्थ्यो, दिदीले घान चलाउनुहुन्थ्यो र म ढिकी कुट्ने गर्थें । त्यसरी कुटेको चिउरा कति मिठो हुन्थ्यो । अहिले पनि त्यो चिउराको स्वाद मेरो जिब्रोमा झुण्डिएकै छ । 

फूलपातीको सुरुवातसँगै दशैँको थप चहलपहल बढ्दै जान्थ्यो । अष्टमीको दिनमा प्रायःजसो घर घरमा खसीहरु काट्ने गरिन्थ्यो । अनि परदेशबाट आएका छिमेकी काका, दाजुभाइको परदेशका कहानीहरु सुनेर म निकै मोहित हुन्थेँ । मलाई पनि लाग्थ्यो, ‘विदेशमा गएर आफूले पनि टन्नै कमाएर ल्याउन पाए, देशविदेश घुम्न पाए त कति रमाइलो हुन्थ्यो होला ।’

यस्तै रमाइलो माहोलसँगै दशैँको टीकाको दिन आएको पनि पत्तै हुन्नथ्यो । कति चाँडै दिन बितेजस्तो लाग्थ्यो । टीकाको दिनमा हाम्रो परिवारको सबैभन्दा ज्येष्ठ उमेरकी मेरी हजुरआमा हुनुहुन्थ्यो । उहाँका हातबाट मेरा बुवाआमा, काकाकाकी, दाजुभाइ र दिदिबहिनी सबैले टीका जमरा र आशीर्वाद लिने गथ्र्यौँ । तर आज त्यो क्षेण मात्रै सम्झनामा सीमित छन् ।

यही बीचमा घरमा दुःखद घटना भए । केही खुसी चुँडिएर गए । मेरो एउटै दिदी हुनुहुन्थ्यो । २०६४ सालमा उहाँले यो धर्ती छोडेर जानुभयो । जसको हातको टीका र आशीर्वादबाट हाम्रो दशैँ सुरु हुन्थ्यो, २०७२ सालमा उनै हजुरआमाले पनि देहत्याग गर्नुभयो । आजभोली चाडपर्वहरु नजिकिएसँगै उहाँहरुको याद पनि उत्तिकै आइरहन्छ । 

आज हाम्रो परिवारमा सबैभन्दा ज्येष्ठ उमेरकी मेरी ८५ वर्षीया आमा हुनुहुन्छ । दशैँमा सबैजना आमाको हातबाट टीका, जमरा र आशीर्वाद लिनलाई आउनुहुन्छ । यो वर्ष पनि आउनुहुन्छ होला । यो वर्ष पनि सबैलाई टीका लगाइसकेपछि आमाले मलाई उसैगरि सम्झिनुहुन्छ होला, जसरी अहिले म सम्झिरहेको छु ।

समयको खेलसँगै यसरी नै दिनहरू बितिरहेका छन् । दशैँ नजिकिदै गर्दा मजस्तै परदेशीलाई विगतका यादहरुले साँच्चिकै नरमाइलो महसुस भएर आउँदोरहेछ । तर पनि यहाँ परदेशमा न दशैँ, न तिहार । महिनाभरि बिदा नभनी दिनको १२ घण्टा काममा खटिनुपरेको छ । त्यसैले पनि चाडपर्वहरु नजिकिएसँगै मन बिझाउँदो रहेछ ।
 

अन्तिम अपडेट: असोज २५, २०७८

1 Comments

  • कबिन लकाइ खड्का

    Oct. 9, 2021, 11:15 a.m.

    सबै नेपालीहरुको घरघरमा आएको चाड दशैंको अवसरमा सबै बन्धुबान्धव अनि इष्टमित्रमा हार्दिक शुभकामना !माता भवानीले सबै नेपालीलाई सम्पन्न्ता, यशकीर्ति मात्र नभै धैर्य, लज्जा , सदाचार अनि सद्बुद्धि पनि प्रदान गरुन् । यही नै मेरो प्रार्थना छ !या देवी सर्वभूतेषु लज्जारुपेण संस्थिता नमस्तस्यै: नमस्तस्यै: नमस्तस्यै: नमो: नम: ‘सुख, शान्ति र सम्वृद्धि मिलोस’ दशैंको हार्दिक मंगलमय शुभकामना भन्दछौं हामि तर आफैले पशुपन्छी (प्राणधारी जीव जन्तुको हत्या गरेर चाड मनाउदछौं), हामीले जे रोप्दछौँ तेही त फल्ने हो नि होईन र? शान्तीकाे बीउ छराैँ, शान्ती पाउनकाे लागी !!!! अरूलाइ दुःख दिएर सुख नखाेजाैँ फेरि पनि सबै जानलाई शुभकामना 🙏 नाम : कबिन लकाइ खड्का मिक्लाजुङ गाउँपालिका १ पाँचथर हाल : मलेशिया

  •  0 Reply

तपाईको प्रतिक्रिया