‘नाम’ को उच्चस्तरीय बैठकमा सहभागी भएर स्वदेश फर्किनुभयाे परराष्ट्र मन्त्री खड्का

 असोज २७, २०७८ बुधबार १३:५५:२८ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सर्बियाको बेलग्रेडमा सम्पन्न असंलग्न राष्ट्रहरूकाे उच्चस्तरीय बैठकमा भाग लिएर परराष्ट्र मन्त्री डा. नारायण खड्का आज बुधवार स्वदेश फर्किनुभएको छ ।

गणतन्त्र सर्बिया र गणतन्त्र अजरबैजानका परराष्ट्र मन्त्री निकोला सेलाकोविक र जेहुन ब्यरामभको निमन्त्रणामा परराष्ट्र मन्त्रालयका पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गरी मन्त्री खड्का यही असोज २२ गते बेलग्रेड प्रस्थान गर्नुभएको थियो । बेलग्रेडमा यही असोज २५ र २६ गते असंलग्न राष्ट्रहरूको उच्चस्तरीय बैठक सम्पन्न भएको थियो । 

स्वदेश फर्किएलगत्तै आज बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रेस कक्षमा त्याे बैठकबारे पत्रकारलाई जानकारी गराउँदै आफ्नो भ्रमण सफल र नेपालको निम्ति फलदायी रहेको मन्त्री डा. खड्काले बताउनुभयो । 

असंलग्न आन्दोलनका सयभन्दा बढी सदस्य राष्ट्रको सहभागिता रहेको विशेष समारोहमा परराष्ट्र मन्त्री खड्काले असोज २५ गते सम्बाेधन गर्दै असंलग्न आन्दोलन मञ्चलाई वर्तमान विश्वमा देखा परेका बढ्दो जातीय तथा अन्तर–राज्य द्वन्द्व, हिंसात्मक अतिवाद, अन्तर्राष्ट्रिय आतङ्कवाद, जलवायु परिवर्तन, आर्थिक मन्दी, वित्तीय जोखिम, भूराजनीतिक जटिलता र हातहतियारको होडबाजी लगायतका विषयलाई जोडदार रूपमा आवाज उठाएको जानकारी दिनुभयो । बैठकमा धनी र गरिब राष्ट्रबीचको बढ्दो असमानता, इन्धन तथा खाद्य सङ्कट र कोभिड–१९ को महामारीले ल्याएका चुनौती जस्ता विषय समेत उठान गरेको उहाँले बताउनुभयो । 

साथै असंलग्न आन्दोलनको स्थापनाकालदेखि नै नेपाल त्यसको सदस्यको रूपमा सक्रिय रहँदै आएको र असंलग्नताको सिद्धान्तलाई नेपालको संविधानले प्रमुख नीतिको रूपमा अङ्गीकार गरेको विषयलाई पनि आफूले राखेको मन्त्री खड्काले जानकारी दिनुभयो ।  

साथै सम्मेलनमा बहुपक्षीय संस्थाहरू जस्तै– संयुक्त राष्ट्र सङ्घ, अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको काम गर्ने तरिकामा संरचनागत सुधार गरी आमूल परिवर्तन गर्न आन्दोलनले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखेको मन्त्री खड्काको भनाइ छ । त्यसैगरी उहाँले बैठकमा गरिबी, असमानता र अभावबीचमा बाच्न बाध्य भएका विकासोन्मुख देशहरूबीच वास्तविक सहकार्य गर्दै मुक्ति दिलाउन दक्षिण–दक्षिण देशबीच वास्तविक हातेमालो गर्नुपर्ने धारणा व्यक्त गरेको जानकारी पनि उहाँले दिनुभयो । 

बैठककै क्रममा महत्त्वपूर्ण द्विपक्षीय भेटघाट गरेको र ती भेट नेपालका लागि महत्त्वपूर्ण रहेका पनि मन्त्री डा. खड्काको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया