संसद् चलाउन एमालेसँग छलफल गर्न तयार छु : सभामुख सापकाेटा

 असोज २७, २०७८ बुधबार १४:१८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले संसद् सुरु गराउन नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताउनुभएको छ । सभामुख सापकोटाले संसद् चलाउनका लागि संवादको विकल्प नभएकाले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताउनुभयो ।

आज बुधवारकाे कुराकानीमा उहाँले संसद्को गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताउनुभएको हो । सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समीक्षा गरेर संवादमा आउनुपर्ने बताउनुभयो ।

सभामुख सापकोटाले भन्नुभयो, ‘म अझै के भन्छु भने पहिला हाम्रो संवाद भइरहेको थियो, अहिले विवाद भइरहेको छ,अन्तिममा फेरि वादविवाद, संवादकाे विकल्प छैन,ढिलो–चाँडो संवादमा उहाँहरू आउनुहुन्छ भन्ने छ र मैले ड्यासबाट नै पनि उहाँहरूलाई विनम्रतापूर्वक नै संसद्को गरिमालाई बढाउनका लागि हामी सबैको दायित्व उत्तिकै छ, के पक्ष, के विपक्ष, सबैभन्दा बढी भूमिका त सदनको हिसाबले सभामुखको नै हो । के गर्नुपर्छ ? त्यसको लागि म तयार छु, तर सरकार, सभामुख, विपक्षी दलको नेताको र समस्त सांसदहरूको सबै दायित्व हुन्छ । अब पनि मलाई के लागेको छ भने दशैँको अवसरमा छौँ, यो अवसरले हामी सबैमा सकारात्मक सोचको विकास होस्, हामीले यस्तो बेलामा कामना गर्ने कुरा यो हो । सभामुखको जिम्मेवारी प्राप्त भइसकेपछि कहीँ कतै मैले पनि बल त गरेको छु, तटस्थ, निस्पक्षी र स्वतन्त्र भूमिका खेल्नुपर्छ । मैले संविधान र खासगरी प्रतिनिधिसभाको नियमावलीमा टेकेरै आफ्ना कार्य सम्पादन गर्नुपर्छ, मैले फेरि फर्केर सबै कामको समीक्षा गर्ने कुरा हुन्छ, उहाँहरूले पनि समीक्षा गर्नुहुन्छ भन्ने आशा छ, हामी सबैले समीक्षा गरौँ र सकारात्मक सोचका साथ संवाद थालौँ । जतिसुकै ठूलो समस्या भए पनि संवादको विकल्प छैन, समन्वय, सहकार्य र समझदारी नै हो । हाम्रो संसदमा अहिले अलिकति समस्याहरू देखिएको छ, अवराेध भइरहेको छ, १५ दिनको समय पनि छ, कात्तिक ९ गतेको बैठकसम्म सकारात्मक वातावरण बन्छ भन्नेमा म आशावादी छु ।’

सभामुख सापकोटाले राजनीतिमा आग्रह, पूर्वाग्रह हुनु सामान्य भएको बताउँदै विजया दशमीले सकारात्मक सोचको विकास गराउने बताउनुभयो । उहाँले संसद् चलाउनका लागि नेकपा एमालेसँग संवाद गर्न आफू सकेसम्म पहल गर्ने बताउँदै संसद् पुनर्स्थापना गर्न लागि परेजस्तै संसद् चलाउन संसदहरूले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले संसदलाई जीवन्त र जनमुखी बनाउन आफू पनि गुणात्मक ढङ्गले लागिपर्ने बताउनुभयो ।

सभामुख सापकोटाले संसदमा सभामुखले प्रभावकारी भूमिका नखेलेको भन्दै सञ्चारमाध्यमहरूमा आएको कुरा सही नभएको बताउनुभएको छ । उहाँले एक किसिमले राष्ट्रका संवेदनशील विषयहरू अगाडि बढ्न आफूले नरोकेको र सहजीकरण नै गरेको बताउनुभयो । उहाँले सभामुखले नै सबै समस्या हल गर्नुपर्छ भनेर अन्य दलका नेताहरू उदासीन नभएको बताउँदै संसद् सुरु गर्नका लागि शान्तपूर्वक लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । सभामुख सापकाेटाले यसका लागि सरकार, गठबन्धन दल र सबै सांसदहरूले समीक्षा गर्नुपर्ने बताउनुभयो ।

संसद लोकतन्त्रको आत्मा हो त्यसैले सभामुख र सांसदहरूको भूमिका बढाउन आवश्यक रहेको बताउँदै सभामुख सापकोटाले याे प्रवचन र प्रशिक्षणको विषय मात्र बनाइएको बताउनुभयो । उहाँले लोकतन्त्र सङ्घीय संसदमा कमै मात्र प्रयोग भएको बताउनुभयो ।  

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया