नेपालले उपाधि जित्ने प्रयास गर्दा गर्दै नसके पनि म निराश छैन : खेलकुद मन्त्री गहतराज

 असोज ३१, २०७८ आइतबार १६:१२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नेपालले साफ च्याम्पियनशिप फुटबलमा उच्च मनोबलका साथ खेलेको भन्दै प्रशंसा गर्नुभएकाे छ । आज आइतवार काठमाण्डाैमा भएकाे एक कार्यक्रमा बाेल्दै मन्त्री गहतराजले नेपालले साफ च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेर इतिहास बनाइसकेको भन्दै उपाधि जित्ने प्रयास गर्दा गर्दै नसके पनि आफू निराश नभएको बताउनुभयाे ।  

‘म राष्ट्रिय फुटबल टाेलीका खेलाडीहरूको प्रदर्शनबाट निराश छैन, नयाँ आशा जगाएको छ,’ उहाँले भन्नुभयाे, ‘नेपालले अझ राम्रो प्रदर्शन गरेर भविष्यमा विभिन्न उपाधि जित्न सक्छ ।’ आफूले खेल हुनुभन्दा अघि पनि टिम व्यवस्थापक, प्रशिक्षकसँग संवाद गरेको खुलाउँदै उच्च मनोबलका साथ खेलाडीहरूले खेल्ने अपेक्षा गरेकाे समेत मन्त्री गहतराजले सुनाउनुभयाे । 

नेपालले समग्रमा साफ च्याम्पियनशिपमा उत्कृष्ट प्रदर्शन गरेको गहतराजको भनाइ थियो । उहाँले भन्नुभयाे, ‘नेपाली गोर्खा स्प्रिट सम्झेर खेल्न प्रेरित गरेको थिएँ गर खेले पनि ।’ नेपालले भविष्यमा अझ राम्रो प्रदर्शन गर्न सक्ने देखिएको उहाँले बताउनुभयाे । 

भारतलाई लामो समयसम्म गोल गर्नबाट रोक्न सकेको भन्दै जितको आशा भने पूरा नभएको मन्त्री गहतराजले उल्लेख गर्नुभयाे । खेलाडीहरू खेल्दा खेल्दै असफल भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयाे, ‘असफलताबाट सिकेर सफलताका लागि बढ्नुपर्छ ।’ नेपालको खेलको समीक्षा हुने र भविष्यमा अझ खेलकाे स्तर सुधार्न आवश्यक कदम चालिने मन्त्री गहतराजले आश्वासन दिनुभयाे । 

आफूले युवा र खेलकुदको विकासको आधार तयार गर्न काम थालिसकेको उहाँले दाबी गर्नुभयाे । मन्त्री नियुक्त भएकै दिनदेखि आफू काममा खटिइसकेको उहाँले बताउनुभयाे । आफ्नो कार्यकालमा सम्झनलायक काम गर्न योजनाबद्ध तरिकाले बढिरहेको मन्त्री गहतराजले बताउनुभयाे । 

आफू काममा विश्वास गर्ने व्यक्ति भएको उहाँकाे भनाइ छ । गफ र भाषणमा आफूले विश्वास नगर्ने र काममा नै विश्वास गर्ने भएकाले त्यसअनुसारको काम बढाउने मन्त्री गहतराजले बताउनुभयाे । देशभित्र निराशा पैदा भएकाले आशा बढाउनुपर्नेमा उहाँले जोड दिनुभयाे । 

खेल क्षेत्रलाई परिणाममुखी बनाउन अपेक्षित परिणाम हासिल नभएको बताउँदै मन्त्री गहतराजले सोच र भिजन सार्वजनिक गरेर अगाडि बढ्ने जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया