मलाई विश्वास छ, याे टाेलीले आउँदा दिनमा अझै राम्राे नतिजा निकाल्नेछ : किरण चेम्जाेङ

 कात्तिक १, २०७८ सोमबार १३:५३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – माल्दिभ्समा सम्पन्न १३ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा उपविजेता बनेको राष्ट्रिय नेपाली फुटबल टोली आज साेमवार स्वदेश फर्किएको छ । 

पहिलो पटक फाइनल खेल्दै इतिहास बनाएको उपविजेता टोलीलाई विमानस्थलमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले स्वागत गरे । विमानस्थालमा टोलीलाई स्वागत गर्न पुग्नुभएका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले फुटबल अगाडि बढाउनका लागि सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयाे ।

यसअघि राष्ट्रिय फुटबल टाेलीकाे मुख्य प्रशिक्षकबाट राजीनामा दिइसकेका अबदुल्लाह अलमुताइरी भने नेपाल फर्किएनन् । उनीबाहेक फर्किएको टोलीलाई स्वागत गर्न पदाधिकारीसहित फुटबल समर्थकहरू समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरूले टोलीलाई हौसला प्रदान गर्दै नारासमेत लगाएका थिए ।

पाँच देशले सहभागिता जनाएको प्रतियोगिता राउन्ड रोबिन लिगको आधारमा सञ्चालन भएको थियो । प्रतियाेगितामा नेपालले लिग चरणका चार खेलमध्ये दुई खेलमा जित निकाल्दा एक खेल भारतसँग पराजित भएको थियो भने बङ्गलादेशसँग एक खेल बराबरी खेल्दै फाइनल प्रवेश गरेर इतिहास बनाएको थियो । 

त्रिभुवन विमानस्थलमा ओर्लिएपछि नेपाली टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले फाइनल खेलको दोस्रो हाफमा तालमेल अभाव हुँदा गोल खान पुगेसँगै लक्ष्य पूरा हुन नसकेको बताए । अहिले टोलीमा युवा जोस भएकाले आउँदा दिनमा यो टोलीले नेपाली फुटबलमा अझै राम्रो नतिजा निकाल्नेमा आफू विश्वस्त रहेको कप्तान किरणले बताए ।

गएकाे शनिवार मालेमा भएको फाइनलमा नेपाल भारतसँग तीन–शून्यले पराजित हुँदा उपविजेतामा चित्त बुझाएको थियो । लिग चरणमा नेपालले आयोजक माल्दिभ्स र श्रीलङ्कालाई हराएको थियो । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया