घट्न थाल्यो तरकारी र फलफूलकाे भाउ

 कात्तिक १, २०७८ सोमबार १९:२७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दशैँ सुरु हुँदा आकासिएको तरकारी र फलफूलको भाउ बिस्तारै घट्न थालेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दशैँ सुरु हुँदा तरकारी र फलफूलको मूल्यमा केही वृद्धि देखिए पनि आज सोमवारदेखि भने मूल्य घट्न थालेको हो ।

दशैँको समयमा खासगरी गोलभेँडा, काँक्रो, काउलीलगायतका केही वस्तुको मूल्य अत्यधिक बढेको थियो भने आलु, प्याज लगायतको मूल्य सामान्य बढेको थियो । दशैँको समयमा फलफूलको मूल्य पनि अत्यधिक महँगो भएको उपभोक्ताहरूकाे गुनासो थियो ।

तर दशैँ सकिएसँगै तरकारी र फलफूलको मूल्य बिस्तारै घट्न थालेको समितिका प्रवक्ता एवम् उपनिर्देशक विनय श्रेष्ठले बताउनुभयो । उहाँले माग सामान्य हुँदै गएकोले मूल्य पनि बिस्तारै घट्ने क्रम जारी रहेको बताउनुभयो । गोलभेँडा, काउली, बोडी लगायतका केही तरकारीको मूल्य आजदेखि नै घटिसकेको पनि उहाँले बताउनुभयो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक श्रेष्ठले यस वर्ष बढी पानी परेका कारण किसानको बाली नालीमा असर पर्नुका साथै नयाँ तरकारी पनि आउने क्रममा रहेकाले मूल्य वृद्धि भएको दाबी गर्नुभयो । यस्तै अहिलेको समयमा भारतबाट पनि तरकारी धेरै नआउने भएकाले दशैँको समयमा मूल्य बढेको उहाँले बताउनुभयो ।

दशैँको बेला काठमाण्डाैकाे कालीमाटी फलफूल तथा तरकारी बजारमा दैनिक आठ सय टनसम्म समान भित्रिएको थियो । अष्टमीको दिन भने झन्डै चार सय टन मात्रै तरकारी तथा फलफूल भित्रिएको समितिको भनाइ छ ।

दशैँ, तिहार लगायतका पर्वको बेला व्यापारीहरूले हरेक सामानको अत्यधिक मूल्य वृद्धि गर्ने गरेका छन् । सरकारले मूल्य वृद्धि नियन्त्रण गर्न भन्दै चाडपर्वको बेला अनुगमनलाई तीव्रता दिने गरे पनि व्यापारीहरूले भने हरेक वर्ष हरेक सामानको मूल्य वृद्धि गर्ने गरेका छन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया