टी–२० विश्व कप : आयरल्यान्डकाे विजयी सुरुवात

 कात्तिक १, २०७८ सोमबार २०:२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – टी–२० विश्व कप २०२१ मा आयरल्यान्डले विजयी सुरुवात गरेकाे छ । आज सोमवार समूह 'ए' काे खेलमा आयरल्यान्डले नेदरल्यान्ड्सलाई सात विकेटले हराउँदै विश्व कपमा विजयी सुरुवात गरेको हो ।

नेदरल्यान्ड्सले दिएको एक सय सात रनको सामान्य लक्ष्य आयरल्यान्डले तीन विकेट गुमाएर २९ बलअघि नै भेटायो । आयरल्यान्डका लागि ग्यारेथ डिलेनीले ४० रन बनाउँदा पल स्ट्रर्लिङले अविजित ३० रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका फ्रेड क्लासेन, ब्रान्डन ग्लाेभर र पिटर सिलरले एक–एक विकेट लिए । 

यसअघि यूएईको आबुधाबीमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा अलआउट हुँदै एक सय ६ रन बनायो । उसका लागि म्याक्स ओ दाउदले सर्वाधिक ५१ रन बनाए । आयरल्यान्डका कर्टिस क्याम्फरले ह्याट्रिकसहित चार विकेट लिए ।

यो टी–२० विश्व कप २०२१ को पहिलो ह्याट्रिक पनि हो । क्याम्फरले १० औँ ओभरको दोस्रो, तेस्रो, चौथो र पाँचौँ बलमा लगातार चार विकेट लिएका हुन्. । क्याम्फर टी–२० क्रिकेटमा लगातार चार बलमा चार विकेट लिने तेस्रो बलर पनि बनेका छन् ।   

विश्व कपको पहिलो चरणमा आयरल्यान्ड, नामिबिया, श्रीलङ्का र नेदरल्यान्ड्स समूह 'ए' मा छन् भने बङ्गलादेश, स्कटल्यान्ड, पपुवा न्युगिनी र ओमान समूह 'बी' मा रहेका छन् । दुई वटा समूहका शीर्ष दुई/दुई टोली अन्तिम १२ मा पुग्नेछन् । अन्तिम १२ का खेल आउँदो शनिवारदेखि सुरु हुनेछ । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया