प्रधानमन्त्री ओलीद्वारा एचपीभी खोप अभियानको शुभारम्भ
माघ २२, २०८१ मंगलबार
भक्तपुर – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आज बिहीवार सानोठिमीमा रहेकाे प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को निरीक्षण गर्नुभएको छ । सीटीईभीटीका अध्यक्षसमेत रहनुभएका मन्त्री पौडेलले निरीक्षणपछि बोल्दै कुनै पनि दलका नेता, सांसद वा कसैको पनि दबाबमा नभइ आवश्यकताका आधारमा सम्बन्धन दिन निर्देशन दिनुभयो ।
‘कुर्सीमा मात्रै बस्ने होइन, संस्था सुधार्ने काम गर्नुहोस्, सीटीईभीटीको नामै काफी छ भन्ने अवस्था बनाउनुहोस्, सबै तल्लो तहसम्म प्रभावकारी हुने गरी काम गर्नुहोस्’, शिक्षा मन्त्री पौडेलले भन्नुभयो, ‘यहाँ आएका प्रविधिको प्रयोग प्रभावकारी रूपमा गर्नुहोस्, यसलाई राम्रो ज्ञान केन्द्रको रूपमा लैजाऔँ, यसको थप क्षमता विकास गरेर जाऔँ ।’
कर्मचारीका शत्रुका रूपमा रहेका अल्छीपना, उदासिनता, लापर्बाही र भ्रष्टाचारलाई सबैले त्याग्नुपर्छ भन्दै उहाँले आफ्नोबारेमा सोच्ने तर संस्थाको बारेमा नसोच्ने प्रवृत्ति हटाएर भ्रष्टाचारको सोच कतै नराख्न निर्देशन दिनुभयो । ज्ञानलाई तालिमसँग, तालिमलाई उत्पादनसँग जोडेर लैजानुपर्ने औल्याउँदै उहाँले मौलिक हकका रूपमा रहेको रोजगारीसँग जोडेर सीप र ज्ञानलाई अगाडि लैजान निर्देशन दिनुभयो ।
उत्पादनसँग जनशक्तिलाई जोडेर समाजवादतर्फ जानुपर्छ भन्दै मन्त्री पाैडेलले सीटीईभीटी अब आफैँ आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले सिक, कमाऊ भन्ने अवधारणातर्फ जानुपर्ने औल्याउनुभयो ।रोजगारीको खोजी गर्दै सीप खोज्न आउने किसान, श्रमिक, गरिब, उत्पीडित लक्षित जनसमुदाय नै हुन् भन्दै उहाँले सीप खोज्न आउनेलाई रोजगारीमा आधारित ज्ञान र सीप दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा शिक्षा राज्यमन्त्री बोधमाया कुमारी यादवले देशभरका सामुदायिक विद्यालयमा अनिवार्य रूपमा प्राविधिक शिक्षा सञ्चालन गर्नु आवश्यक रहेको भन्दै विद्यालय र जिल्लाहरूबाट यसको माग पनि भइरहेको बताउनुभयो । उहाँले प्राविधिक शिक्षा जनमुखी, बहुमुखी र आर्थिकमुखी हुनु आवश्यक रहेको बताउँदै गाउँ–गाउँमा स्वास्थ्य शिक्षाका कार्यक्रमहरू माग भइरहेकाले सीटीईभीटीले माग र आवश्यकताका आधारमा अनुमति दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सीटीईभीटीले अहिले २०५२ सालकै १४ वटा स्कुलको जनशक्तिको भरमा अहिलेको ६२ वटा स्कुल चलाउनुपर्ने बाध्यता रहेको भन्दै जनशक्ति थप गर्नु आवश्यक रहेको औल्याउनुभयो । सरकारको राष्ट्रिय शिक्षा नीतिमा ७० प्रतिशत विद्यार्थीलाई प्राविधिक शिक्षाको पहुँच पुर्याउने भन्ने लक्ष्य रहेको चर्चा गर्दै उहाँले सीप सिक्न चाहनेलाई राज्यले दिगो रहने गरी लगानी गर्नुपर्ने बताउनुभयो ।
सीटीईभीटीलाई अझै सुधार गरेर लैजानुको विकल्प नभएको भन्दै उहाँले यहाँको विषय र पाठ्यक्रममा पनि सुधार गर्दै जानुपर्नेमा जोड दिनुभयो । सीटीईभीटी अन्तर्गत रहने गरी आङ्गिक क्याम्पसको माग अत्यधिक बढेको भन्दै उहाँले त्यसका लागि जनशक्तिसहित तयारी गर्नु आवश्यक रहेको औल्याउनुभयो ।
सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारीले मन्त्री पाैडेलले भनेजस्तै सीप सिक, कमाऊ भन्ने अवधारणामा जान लागेको बताउँदै राज्यको आकाङ्क्षालाई परिणाम दिने अवधारणा सीटीईभीटीले अगाडि बढाएको बताउनुभयो । कर्मचारी अभावले ज्यादै पिरोलिएको बताउँदै उहाँले भन्नुभयो, ‘दरबन्दी असाध्यै खड्किएको छ, छिटै कर्मचारीको पदपूर्ति आवश्यक छ, जाडोमा ओढेको छोटो सिरक जस्तो कर्मचारीलाई एकातिर लग्यो अर्कोतिर पुग्दैन ।’
सीटीईभीटीका सदस्य सचिव जीवनारायण काफ्लेले कर्मचारी अभावले निकै समस्या पारेको बताउँदै २०५२ सालको ९३२ दरबन्दी मध्ये ४०० जना स्थायी र १७ सय करार तथा ज्यालादारी कर्मचारीको भरमा देशभरका आङ्गिक संस्था सञ्चालन गरिरहेको बताउनुभयो । कतिपय कर्मचारीको उमेर हद नाघेकोले समस्या भइरहेको भन्दै उहाँले अझै १ हजार दरबन्दी थप आवश्यक रहेको बताउनुभयो ।
सीटीईभीटीको समग्र अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै उहाँले दरबन्दीमा पनि धेरै रिक्त रहेको भन्दै कर्मचारी अभावले काम गर्न गाह्रो भएको बताउनुभयो । सीटीईभीटीले विभिन्न शीर्षकमा आठ हजारलाई निःशुल्क छात्रवृत्ति दिँदै आएको बताउँदै अहिलेसम्म चार लाख ६ हजारलाई सीप परीक्षणको प्रमाणपत्र प्रदान गरेको जानकारी दिनुभयो । सीटीईभीटीको चालु आवमा ६ अर्ब ११ करोड रुपैयाँ बजेट रहेको बताउँदै कुल बजेटमा २० प्रतिशत केन्द्रमा र ८० प्रतिशत प्रदेशमा बजेट जाने गरेको उहाँले बताउनुभयो ।
अझै एक सय पालिकामा अझै प्राविधिक शिक्षा पुर्याउन बाँकी रहेको बताउँदै सदस्य सचिव काफ्लेले भन्नुभयो, ‘ह्वात्तै प्राविधिक शिक्षा विस्तार गर्दा त्यसले गुणस्तरीयता दिन नसक्दा प्रश्न चिह्न खडा भएको छ, कतै कार्यक्रम नै सुरु हुन सकेन, कतिपय वडा–वडामा रहेको प्राविधिक विद्यालयलाई मर्ज गरेर गुणस्तरीयता ल्याउनु आवश्यक छ ।’
कार्यक्रममा शिक्षा मन्त्री पौडेलले सीटीईभीटीले सञ्चालन गरेको विभिन्न कार्यक्रम र प्रविधिको अवलोकन गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।