कांग्रेस नेता पौडेल बर्दियाको बाढी प्रभावित क्षेत्रमा, राहतकाे विशेष प्याकेज ल्याउने प्रतिबद्धता

 कात्तिक ७, २०७८ आइतबार २०:३१:३० | भावुक योगी
unn.prixa.net

बर्दिया – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज आइतवार बाढीबाट प्रभावित बर्दियाको राजापुर क्षेत्रको निरीक्षण गर्नुभएको छ । अनुगमनका क्रममा नेता पौडेलले बाढी पीडितहरूलाई राहतका लागि काठमाण्डौ गएर विशेष प्याकेज ल्याउने बताउनुभएको छ । 

बर्दियाका धेरैजसो बाढी पीडितहरूले ६ दिनदेखि चाउचाउ र चिउराकै भरमा बिहान र बेलुकीकाे छाक टारेकोे बताएका छन् । घरमा भएको सबै अन्नपात बाढीले बगाएपछि टहरामा बस्दै आएका बाढी पीडितहरूले खाद्यान्नका नाममा चाउचाउ, बिस्कुट र चिउराबाहेक केही नपाएको बताएका छन् ।

स्थानीयवासीका घर पूरै हिलोले भरिएका छन् । घर भत्किएपछि केही पीडितहरू आफन्तको घरमा बसिरहेका छन् भने केहीले त्रिपाल पाएको र केहीले खुला आकाशको भरमा बस्न बाध्य भएको गुनासो पोखेका छन् । 

बाढी कम भए पनि स्थानीयवासीलाई अहिले घरभित्रको हिलो पन्छाउन भ्याइनभ्याइ छ । पालिकाले भने बाढी पीडितहरूलाई राहत बाँडिरहेको बताएका छन् । पश्चिम नेपालकै सबैभन्दा बढी धान खेती हुने बर्दियाको राजापुर क्षेत्रमा बेमौसमी वर्षाका कारण आएको बाढीले राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका झन्डै ११ सय घरपरिवारमा क्षति पुर्याएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताउनुभयो । 

बाढीले बर्दियामा झन्डै ३५ हजार हेक्टरमा लगाइएको धान सखाप पारेको छ । कर्णाली नदीको बाढी गाउँ पस्दा बर्दियाका झन्डै आठ हजार बढी स्थानीयवासी प्रभावित भएका छन् । सरकारले तत्काल आफूहरूका लागि खाद्यान्न र बासको जोहो गर्ला भन्ने आसमा बसेका बाढी प्रभावितहरु प्रधानमन्त्री शेरबहादुर देउवाले आश्वासन मात्रै दिएपछि निराश बनेका छन् । 

बर्दियाका स्थानीयवासीले आफूहरूले हरेक वर्ष बाढीको त्रास भोग्दै आएको भन्दै कर्णाली नदीमा बलियो तटबन्ध बनाउन माग गरेका छन् । 

यसैबीच कार्यक्रममा ठाकुरबाबा नगरपालिका नेपाली कांग्रेसका नगर सभापति पदमबहादुर खड्काले विभिन्न मागसहित नेता रामचन्द्र पौडेललाई ज्ञापन पत्र बुझाउनुभएको छ ।   

अन्तिम अपडेट: बैशाख ५, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया