विद्युत् प्राधिकरणले पायो अरुण–४ जलविद्युत् आयोजनाको लाइसेन्स

 कात्तिक ८, २०७८ सोमबार १६:३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले अरुण नदीमा पहिचान भएको चार सय ९० दशमलव दुई मेगावाटको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र नेपाल विद्युत् प्राधिकरणलाई दिएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सङ्खुवासभाको भोट खोला र मकालु गाउँपालिकामा पर्ने आयोजनाको लाइसेन्स प्राधिकरणलाई दिने निर्णय गरेको हो । विद्युत् विकास विभागले आयोजनाको विस्तृत डिजाइन तथा अध्ययन गरिसकेको छ । प्राधिकरणले आयोजनाको लाइसेन्सका लागि विद्युत् विभागमा गएको भदौ २९ मा आवेदन दिएको थियो । 

प्राधिकरणले आयोजनाको लाइसेन्स आज सोमवार प्राप्त गरेको छ । अरुण–४ प्राधिकरणले निर्माण गर्न लागेको एक हजार  ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको विद्युत् गृहभन्दा तल्लो भागमा पर्दछ । अरुण–४ को लाइसेन्स पाएसँगै अरुण नदीमा प्राधिकरणले एक हजार पाँच सय  ५१ मेगावाटका दुई वटा आयोजना एकसाथ अगाडि बढाउने छ ।  

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण र अरुण–४ गरी एक हजार पाँच सय ५१ मेगावाटको आयोजनाको निर्माण समानान्तर रूपमा ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत अगाडि बढाइने बताउनुभयो । 

‘अरुण–४ को लाइसेन्स पाउनु प्राधिकरणका लागि ज्यादै खुसीको कुरा हो, माथिल्लो अरुण र अरुण–४ आयोजनालाई उच्च प्राथमिकतामा राखी निर्माण तथा लगानी मोडालिटी एक/डेढ वर्षभित्रमा टुङ्ग्याएर अगाडि बढाउँछौँ’, घिसिङले भन्नुभयो, ‘आयोजनाबाट प्राप्त हुने लाभ आम नागरिकलाई पनि उपलब्ध गराउन सर्वसाधारणले पनि शेयर खरिद गरी आयोजनामा लगानी गर्न पाउने व्यवस्था गरिने छ ।’

विभागले अरुण–४ लाई नदीको बहावमा आधारित आयोजनाको रूपमा पहिचान गरेको थियो । तर माथिल्लो अरुण अर्धजलाशययुक्त मोडलमा डिजाइन गरिएकाले यसबाट प्राप्त हुने पानीको बहावलाई सदुपयोग गरी अरुण–४ लाई पनि अर्धजलाशययुक्त बनाउन लागिएको हो । 

अरुण–४ को बाँधस्थल भोट खोला गाउँपालिका–४ र ५ मा रहेको अरुण नदी र लेकसेवा दोभानभन्दा झन्डै एक सय ३० मिटर दक्षिण तथा कपासे र गोलाबस्तीभन्दा उत्तरमा पर्दछ । बाँधमार्फत अरुण नदीको पानीलाई फर्काएर दुई दशमलव ५५ किलोमिटर सुरुङमार्फत भूमिगत बालुवा थिग्य्राउने पोखरी (डिसेन्डर) मा लगिने छ । डिसेन्डरबाट पानीलाई ६ दशमलव ८ किलोमिटर सुरुङमार्फत मकालु गाउँपालिका–३ मा रहेको सजुवाबेसीमा भूमिगत विद्युत् गृहमार्फत विद्युत् उत्पादन गरिने छ । 

विद्युत् गृहबाट विद्युत् उत्पादन गरी चार सय ७३ दशमलव ४ किलोमिटर टेलरेस सुरुङमार्फत पानीलाई पुनः अरुण नदीमा खसालिने छ । आयोजना मकालु वरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ । 

सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट आयोजनाको विद्युत् गृह र बाँध क्षेत्र क्रमशः झन्डै ६२ र ७७ किलोमिटर टाढा रहेका छन् । कोसी राजमार्गअन्तर्गत खाँदबारीदेखि आयोजना क्षेत्रसम्मको सडक खण्ड अहिले स्तरोन्नति भइरहेको छ । बाँध क्षेत्र कोसी राजमार्गमा नै पर्दछ । विद्युत् गृह क्षेत्र पुग्ने झन्डै २ किलोमटर ग्रामीण सडक गाउँपालिकाले स्तरोन्नति गरिरहेको छ । 

विभागले गरेको अध्ययनअनुसार, आयोजनाको अनुमानित लागत ५५ करोड अमेरिकी डलर (झन्डै ६५ अर्ब रुपैयाँ)  छ । आयोजनाबाट वार्षिक दुई अर्ब नौ करोड युनिट ऊर्जा उत्पादन हुने छ ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया