विद्युतकाे नयाँ महसुल दरमा यस्ताे छ सहुलियत

 कात्तिक ११, २०७८ बिहिबार ७:७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विद्युत् नियमन आयोगले गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी विद्युत् उपभोक्ता महसुल दर निर्धारण गरेको छ । निर्धारण गरिएको महसुल दर आउँदाे मङ्सिरको विद्युत् खपतका आधारमा पुस महिनाको बिलमा उल्लेख हुनेछ ।

विपन्न नागरिकलाई लक्षित गरी पाँच एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको हकमा ‘इनर्जी’ शुल्क नलाग्ने र न्यूनतम शुल्क ३० रुपैयाँ मात्र लाग्ने गरी महसुल निर्धारण गरिएको आयोगका प्रमुख आयुक्त डिल्लीबहादुर सिंहले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,'गार्हस्थ्य स्तरमा विद्युत् उपभोग बढाउन तथा उपभोक्तामाझ विद्युतकाे उचित मूल्य सुनिश्चित गर्न गार्हस्थ्य वर्गको महसुलमा औसतमा २.८४ प्रतिशतले घटाइएको छ ।'  विस्तृत अध्ययन, छलफल, विश्लेषण, सार्वजनिक सुनुवाइ, सरोकारवालाको राय, सुझाव तथा प्रतिक्रियाका आधारमा महसुल निर्धारण गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । देशमा अहिले विद्युत् ग्राहक सङ्ख्या ४९ लाख ८९ हजार ४९४ रहेकामा २० युनिटभन्दा कम खपत गर्ने न्यून आय भएका ग्राहकको सङ्ख्या १९ लाख ८६ हजार ५ सय ७ छ ।

आयोगका अनुसार सिङ्गल फेजबाट मासिक १ सय ५१ देखि २ सय ५० युनिटसम्म खपत गर्ने पाँच एम्पियर, १५ एम्पियर र ३० एम्पियरका गार्हस्थ्य उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साविकको महसुल दरमा २५ रुपैयाँले कटौती गरी क्रमशः एक सय, एक सय २५ र एक सय ५० रुपैयाँ कायम गरिएको छ ।

सिङ्गल फेजबाट मासिक ४०० युनिटभन्दा बढी विद्युत् खपत गर्ने पाँच एम्पिएर, १५ एम्पियर, ३० एम्पियर र ६० एम्पिएरका गार्हस्थ्य उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साविकको महसुल दरमा २५ रुपैयाँले कटौती गरी क्रमशः  १५०,  १७५,  २०० र  २५० रुपैयाँ कायम गरिएको छ । यसैगरी सिङ्गल फेजबाट आपूर्ति लिइ मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको इनर्जी शुल्कको हकमा साविकको दरमा प्रतियुनिट ५० पैसा घटाइ प्रतियुनिट  ९.५० रुपैयाँ कायम गरिएको छ ।

सिङ्गल फेजबाट आपूर्ति लिइ मासिक ४०० युनिटभन्दा माथि विद्युत् खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको इनर्जी शुल्कमा प्रति युनिट  एक रुपैयाँ घटाइ प्रतियुनिट ११ रुपैयाँ कायम गरिएको प्रमुख आयुक्त सिंहले जानकारी दिनुभयो ।

आन्तरिकरूपमा विद्युत् खपत वृद्धि गराउन उपभोक्तालाई प्रेरित गर्नेसरकारको नीतिअनुरूप सिङ्गल फेजबाट आपूर्ति लिइ मासिक १५१ युनिटभन्दा बढी विद्युत् खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताका लागि विद्युतीय चुलोजस्ता घरायसी उपकरणको प्रयोगलाई प्रोत्साहन गर्ने हेतुले साविकको भन्दा कम महसुल हुने गरी महसुल दर निर्धारण गरिएको छ । विद्युतीय गाडीको उपयोग बढाउन थ्री–फेजबाट विद्युत् आपूर्ति लिने गार्हस्थ्य वर्गका उपभोक्ताको हकमा असारदेखि कात्तिकसम्म वर्षा यामको महसुल दर र मङ्सिरदेखि ज्येष्ठसम्म सुक्खा यामको महसुल दर हुने गरी मौसमी दर कायम गरिएको छ ।

आयोगका अनुसार थ्री–फेज तल्लो भोल्टेज (२३०/४०० भोल्ट) बाट आपूर्ति लिने गार्हस्थ्य वर्गका उपभोक्ताको हकमा मासिक ४०० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताको वर्षायामको इनर्जी शुल्कको हकमा साविकको दरमा प्रतियुनिट एक रुपैयाँले घटाइ प्रतियुनिट १० रुपैयाँ ५० पैसा कायम गरिएको छ । त्यसैगरी मासिक ४०० भन्दा बढी युनिट विद्युत् खपत गर्ने उपभोक्ताको वर्षायामको इनर्जी शुल्क प्रतियुनिट  १ रुपैयाँ ५० पैसाले घटाइ प्रतियुनिट  १० रुपैयाँ ५० पैसा र सुक्खा यामको इनर्जी शुल्क ५० पैसाले घटाइ प्रति युनिट ११ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

आन्तरिक विद्युत् खपत वृद्धि गराउने नेपाल सरकारको नीतिअनुरूप तथा थ्री–फेजबाट विद्युत् उपभोग गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको समेत साविकको भन्दा कम महसुल हुने गरी महसुल दर स्वीकृत गरिएको छ । आयोगले इन्डक्सन चुल्हो र विद्युतीय उपकरणको प्रयोग बढी हुने युनिटअनुसारको स्ल्याबमा पनि महसुल दर घटाएको छ । त्यसैगरी सिँचाइका ग्राहकको महसुल पनि घटेको छ । सबैभन्दा बढी लाभ यसपटक सिँचाइका ग्राहकले पाएका छन् । उनीहरुको महसुल ८० प्रतिशतसम्म घटाइएको छ ।

२३०/४०० भोल्ट बिजुली उपयोग गर्ने ग्राहकको हकमा सिँचाइका ग्राहकले अब प्रतियुनिट २ रुपैयाँ २५ पैसा महसुल तिनुपर्ने छ । यसअघि यो तहमा प्रति युनिट ४ रुपैयाँ ३० पैसा महसुल थियो । सिँचाइका ३३ केभीका ग्राहकले प्रतियुनिट २ रुपैयाँ ५० पैसा महसुल तिर्नुपर्ने छ । यसअघि यो स्ल्याबमा प्रतियुनिट महसुल ४ रुपैयाँ ८० पैसा थियो ।

यस्तो छ नयाँ महसुल दर


अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया