मुग्लिन–पोखरा सडकखण्ड चार लेनमा विस्तारको लागि रूख काट्न सुरु

 कात्तिक १३, २०७८ शनिबार १८:१५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडकखण्ड चार लेनमा विस्तारको लागि रूख काट्न सुरु गरिएको छ  । बन्दीपुर गाउँपालिका–५ याम्पाफाँट आसपासका रूख काट्न थालिएको छ ।

सडक विस्तारका क्रममा तनहुँ खण्डमा ६ हजार सात सय ५० वटा रूख काट्नुपर्ने र पहिलो चरणमा याम्पादेखि आँबुखैरेनीसम्मका रूख काटिने डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । यस्तै, आयोजनाले कास्की खण्डमा एक हजार दुई सय पचास रूख काट्न विभागबाट स्वीकृति लिने प्रक्रिया अघि बढाइएको छ । सडक विस्तारका लागि निर्माण कम्पनीले चीनबाट उपकरण ल्याएको छ ।

वि.स. २०२६ सालमा बनेको मुग्लिन–पोखरा सडकमा गाडीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क एडीबीको ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१ दशमलव ४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डको काम सुरु भएको छ । जामुने–पोखरा पश्चिम खण्डमा भने काम सुरु हुने चरणमा छ । सडक विस्तारको लागत १३ अर्ब ६१ करोड ७८ लाख रुपैयाँ रहेको छ । ३१ नयाँ मोटरेबल पुल निर्माण गर्नुपर्नेमा दमौलीको मादी नदी र पोखराको सेती नदीमा पुल निर्माणको ठेक्का लगाउन बाँकी रहेको आयोजनाले जनाएको छ ।
 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया