मेयरकाे घर अगाडि फाेहर थुपारेर जनप्रतिनिधिद्वारा विराेध प्रदर्शन

 कात्तिक १४, २०७८ आइतबार १४:२०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – जनकपुरका स्थानीय जनप्रतिनिधिहरूले मेयरको घरअघि फोहर थुपार्दै विरोध प्रदर्शन गरेका छन् । 

चाड पर्वको अवसरमा समेत जनकपुरधाम उपमहानगरपालिकाले सरसफाइ गर्नमा ध्यान नदिएको भन्दै मेयर लालकिशाेर साहको घरअघि स्थानीय जनप्रतिनिधिहरूले फोहर थुपारेर विरोध गरेका हुन् । उनीहरूले मेयर साहलाई पटक–पटक फोहर व्यवस्थापनको लागि आग्रह गर्दा समेत कुनै चासो नदिएको आरोप लगाएका छन् । 

दीपावली नजिकिँदै गर्दा पनि फोहर व्यवस्थापनमा चासो नदेखाएको भन्दै केही वडाध्यक्षहरूले मेयर साहलाई कालोमोसो दल्ने चेतावनीसमेत दिएका छन् । वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहले उपमहानगरलाई दुर्गन्धित बनाउने गरी थुपारिएका फोहर व्यवस्थापनमा मेयर साहले बेवास्ता गरेको भन्दै उहाँलाई कालोमासो दल्ने चेतावनी दिनुभयो ।

वडा नम्बर १ का अध्यक्ष शत्रुधन साह, वडा नम्बर ३ का अध्यक्ष दिपेन्द्र साह, वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंह र वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहलगायतले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अगाडि धर्नासमेत दिएका छन् ।

वडाध्यक्ष साहले भन्नुभयो, ‘हामीले यो भन्दा पहिला पनि धेरै पटक फोहर व्यवस्थापन हुनुपर्छ भनेका थियौँ तर मेयरले फोहर व्यवस्थापनका लागि कुनै चासो नै देखाउनु भएन । नागरिकलाई उहाँले बेवास्ता गर्नुभयो, उपमहानगरलाई दुर्गन्धित बनाउने गरी थुपारिएका फोहर व्यवस्थापनलाई उहाँले वास्ता नै गर्नुभएन । फोहोर व्यवस्थापन हुनुपर्छ भनेर ल्यान्डफिल साइट बनाउनुपर्छ भन्दै आएका छौँ, तपाईँले नसके हामी वडाध्यक्षहरूको समूह बनाएर काम गर्छाैँ भन्दा पनि उहाँले मान्नुभएन । काम नगर्ने मेयर अनि गाली खाने हामी वडाध्यक्ष ? उहाँ चाहिँ अहिले काठमाण्डाै घुम्न जाने चाडबाडको बेला, रमाइलो गर्ने ? अब कालोमोसो दल्नुपर्छ भने त्यो पनि गर्छाैँ ।’

प्रहरीले मेयर साहको घर अगाडि फोहर फाल्न नदिएपछि उनीहरूले उपमहानगरपालिकाको कार्यालय अगाडिको बाटो जाम गरेर धर्नामा बसेका थिए । जनकपुरधाम उपमहानगरभित्रका विभिन्न वडामा थुपारिएको फोहर व्यवस्थापनमा असहयोग गरेको भन्दै मेयर साहप्रति जनप्रतिनिधिहरू पनि आक्रोशित बनेका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया