न्यायालय विवादमा फसेकाे बेला प्रधानमन्त्री बेलायत जानु राष्ट्रकै बेइज्जत : पूर्वराष्ट्रपति यादव

 कात्तिक १४, २०७८ आइतबार १९:२५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पूर्वराष्ट्रपति डा. रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको छ । पूर्वराष्ट्रपति यादवले न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरेको टिप्पणीसमेत गर्नुभयो । 

‘विपी विचार, नीति र व्यवहार’ नामक पुस्तकको आज आइतवार काठमाण्डौमा एक कार्यक्रममा बीच विमोचन गर्दै उहाँले न्यायका प्रतिष्ठित व्यक्तिहरू, कानुनविद्हरूसँग सल्लाह गरेर न्यायालयमा देखिएको समस्या समाधान गर्नुपर्दैैन ? भनेर सरकारलाई प्रश्न गर्नुभयो ।

कानुन मन्त्रीले यस समस्या समाधान गर्न सक्दैनन् भन्दै पूर्वराष्ट्रपति यादवले न्यायालय बेहाल अवस्थामा रहेका बेला प्रधानमन्त्री देउवाले बेलायत भ्रमण गरेर नेपालको शिर निहुँर्‍याएको बताउनु भयो । उहाँले सारा न्यायाधीशहरू, नेपाल बार, कानुनविद्हरू एक ठाउँमा रहेका बेला पनि राजीनामा दिन्नँ भनेर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कसको आडमा भनेको भनेर सरकार र राजनीतिक दलहरूमाथि प्रश्नसमेत तेर्स्याउनुभयो । 

उहाँले भन्नुभयो, ‘न्यायालयमा सारा न्यायाधीशहरू एकातिर छ । बुद्धिजीविहरू एकातिर छ । संविधानविद्हरू, कानुनविद्हरू एकातिर छ । यस्तो अवस्थामा प्रधानन्यायाधीश भन्छन् कि म छोड्दिनँ । केही नभए पनि एक्लै बेन्चमा बस्छन् । कसको तागतमा ? तर पनि कि आजसम्म राजनीतिक पार्टीहरूको त कुरा छोडिदिउँ । सरकार देशको प्रतिनिधि हो । प्रथम प्रतिनिधि हो देशको । सरकारले आफ्नो 'ट्र्याक टु डिप्लोमेसी' बाट न्यायका प्रतिष्ठित व्यक्तिहरू, कानुनविद्हरूसँग सल्लाह गरेर ती समस्यालाई हल गर्नुपर्दैन ? आज संसारको सामुन्ने न्यायालयको अवस्था यस्तो छ । तर सम्माननीय प्रधानमन्त्री बेलायत जानुभएको छ । यस्तो अवस्थामा हामी संसारको सामुन्ने टाउको देखाउन सक्छौँ ?’

पूर्वराष्ट्रपति यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति पनि असन्तुष्टि जनाउनुभएको छ । उहाँले संविधानमा नभएको संसद् भङ्ग गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा राष्ट्रपति भण्डारीले साथ दिएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको हो । पूर्वराष्ट्रपति यादवले संविधानको कार्यान्वयन गर्न दलहरू गम्भीर नभएकोमा चिन्तासमेत व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया