तिहारमा झिलिमिली बत्ती तथा दियो बाल्दा सतर्कता अपनाउन आग्रह

 कात्तिक १७, २०७८ बुधबार ८:८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - तिहारमा झिलिमिली बत्ती तथा दियो बाल्दा सतर्कता अपनाउन आग्रह गरिएको छ । सामान्य सावधानी नअपनाउँदा आगलागीको जोखिम हुने भएकाले झिलिमिली बत्ती तथा दियो बाल्दा ध्यान दिन आग्रह गरिएको हो । काठमाण्डौलगायत सहरी क्षेत्रमा आगलागी हुनुमा ७० देखि ८० प्रतिशत विद्युत् सटका कारण हुने गरेको छ ।

झिलिमिली पर्व तिहारमा आगलागीका घटना हुने खतरा धेरै हुन्छ । यस्तै, तिहारमा दियो बालेर लक्ष्मी पूजा गर्ने र घर वरिपरि नै दियो बत्ती बाल्ने गरिएकाले विशेष सावधानी अपनाउनु पर्छ ।  जुद्ध वारुणयन्त्रका प्रमुख चन्दन श्रेष्ठकाअनुसार मानवीय त्रुटिका कारण हरेक वर्ष आगलागीका घटना हुने गरेका छन् ।

तिहारमा झिलिमिली पार्न सबैका घरमा विद्युतीय बत्ती बालिन्छ । घरमा भएका सबै विद्युतीय सामग्री (फ्रिज, माइक्रोओभन, टेलिभिजन, राइसकुकर) पनि एकैपटक प्रयोग गर्ने गरिन्छ । यसरी सबै विद्युतीय सामग्री प्रयोगमा ल्याउँदा ओभरलोड भइ विद्युत् सर्ट हुने सम्भावना हुन्छ । तिहारमा आउन सक्ने सबै जोखिमबारे पूर्ण तयारी अवस्थामा बस्नुपर्ने उहाँको सुझाव छ । 

आगो  लागिहाले के गर्ने ?

बिजुलीबाट भएको आगलागीमा पानीबाट निभाउनु झन् खतरा हुन्छ ।  बालुवा वा माटोको सहायताबाट आगो निभाउन सकिने उहाँले बताउनुभयो । यसैगरी दीपावली गरेपछि घरको एक व्यक्तिले दियो व्यवस्थापनको जिम्मेवारी लिनुपर्छ भने घरमा आवश्यकभन्दा बढी विद्युतीय सामग्री एकैपटक बाल्नसमेत हुँदैन ।

सकेसम्म एकसाथ सबै विद्युतीय सामग्रीको प्रयोग गर्नु हुँदैन । तिहारमा विभिन्न परिकार बनाउने गरिन्छ, त्यसैले तेलको कराहीमा आगो बलेमा पानी हाल्नु हुँदैन । पानी राख्दा आगो झन् बल्छ । कुनै सामग्रीले कराहीलाई ढाक्नुपर्छ । यसो गर्दा अक्सिजन कम हुन गइ आगो निभ्छ । तेल पोखिएर वा उछिट्टिएर शरीरमा आगो लागेमा डराएर दौडनु हुँदैन ।

दौडिदा अक्सिजन धेरै प्राप्त हुनाले आगो झन् बल्ने सम्भावना हुन्छ । त्यसैले यथास्थानमा नै उभिनुपर्छ । सकेसम्म बाक्लो कपडा वा बोराले शरीर छोपिदिनुपर्छ । भुइँमा पल्टनु उचित हुन्छ । यसो गर्दा अक्सिजन कम हुन गइ आगो निभाउन सकिन्छ ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया