विश्व कप क्रिकेट छनोटको तयारी गर्न नेपाली टोली बङ्गलादेशतर्फ

 कात्तिक १८, २०७८ बिहिबार २०:२९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठामाण्डाै – आईसीसी महिला टी–२० विश्व कप क्रिकेटको छनोट प्रतियोगिताको तयारीका लागि नेपाली टोली आज बिहीवार बङ्गलादेश प्रस्थान गरेको छ । नेपाली टोलीले बङ्गलादेशमा एक हप्ता तयारी गर्ने छ ।

बङ्गलादेशमा रहँदा नेपाली टोलीले चार अभ्यास खेल खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । नेपाली टोलीले यही कात्तिक २५ गतेसम्म बङ्गलादेशमा अभ्यास गर्ने छ ।

नेपाली टोलीको कप्तानी रुबिना क्षेत्रीले गरेकी छिन् । टोलीका अन्य खेलाडीमा सीता रानामगर, करुणा भण्डारी, डली भट्ट, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सवनम राई, कविता कुँवर, अप्सरी वेगम, कविता जोशी र संगीता राई रहेका छन् । यस्तै सरस्वती जीएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरीलाई वैकल्पिक खेलाडीका रूपमा राखिएको छ । नेपाली टोलीको प्रशिक्षकमा जगत टमाटा र व्यवस्थापकमा जयन्ती भट्ट रहेका छन् । 

आईसीसी महिला टी–२० विश्व कप क्रिकेटको छनोट प्रतियोगिता आउँदाे मङ्सिर ३ देखि १३ गतेसम्म युनाइटेड अरब इमिरेटस् (युएई) मा हुनेछ । प्रतियोगितामा नेपालसहित युएई, भुटान, कुवेत, हङकङ र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले पहिलो खेल मङ्सिर ६ गते हङकङसँग, दोस्रो खेल मङ्सिर ७ गते भुटानसँग, तेस्रो खेल मङ्सिर ९ गते कुवेतसँग, चौथो खेल मङ्सिर १० गते मलेसियासँग तथा पाँचौँ खेल मङ्सिर १२ गते युएईविरुद्ध खेल्ने तय भएको छ । प्रतियोगिताको शीर्ष टोली आउँदाे वर्ष हुने ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछ ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया