पर्यटकीय क्षेत्र म्याग्दीकाे टोड्केमा पर्यटकको चहलपहल बढ्यो

 कात्तिक २५, २०७८ बिहिबार १२:१७:४० | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा स्वदेशी पर्यटकको चहलपहल बढ्दै गएको छ । म्याग्दीकाे बेनी नगरपालिका, मङ्गला र रघुगङ्गा गाउँपालिकाको सङ्गमस्थलमा पर्ने टोड्के पर्यटकीय गन्तव्यको क्षेत्र बन्दै जान थालेको हो । 

समुद्री सतहदेखि २ हजार ५ सय मिटरको उचाइमा रहेकाे पर्यटकीय क्षेत्र टोड्केमा खासगरी स्वदेशी पर्यटकको आगमनमा वृद्धि हुँदै गएको टोड्के हिल रिसोर्ट प्रालिले जनाएको छ । टोड्के क्षेत्र भ्रमण गर्ने पर्यटकहरुलाई लक्षित गरेर खाने, बस्ने र रमाउनका लागि रिसोर्ट निर्माण भएपछि पर्यटकको सङ्ख्या बढ्दै गएको हो । 

टोड्केमा स्थानीयबासिन्दाले सामूहिक लगानीमा सामुदायिक रिसोर्ट निर्माण गरी सञ्चालनमा ल्याएपछि पछिल्लो समय पर्यटकको चहलपहल बढेको स्थानीयले बताएका छन् ।

पर्यटकीय क्षेत्र टोड्केमा टोड्के हिल रिसोर्ट प्रालिद्वारा आधुनिक सुविधासम्पन्न सामुदायिक रिसोर्ट सञ्चालन गरेपछि विगतको तुलनामा भन्दा पछिल्लोपटक टोड्के भ्रमण गर्ने पर्यटकको आगमनमा वृद्धि हुँदै गएको जनाइएको छ । 

टोड्केको भ्रमण गर्नका लागि म्याग्दीसहित बाग्लुङ, पर्वत, पोखरा, काठमाण्डौलगायत जिल्लाबाट स्वदेशी पर्यटकहरु पुग्ने गरेका छन् । कोरोना भाइरस र लकडाउनका कारण विदेशी पर्यटकहरु नआए पनि अहिले स्वदेशी पर्यटकको चहलपहल बढेको रिसोर्टका सञ्चालक मोहन खत्रीले जानकारी दिनुभयो।

टोड्के क्षेत्र भ्रमण तथा रिसोर्टमा बस्न आउने पर्यटकहरुलाई स्थानीय उत्पादन मुलाको चटनी, कोदो र फापरको ढिँडो, लोकल कुखुराको मासुलगायत अर्गानिक खाना खुवाउने गरिएको उहाँले जानकारी दिनुभयो।

विगतमा पर्यटकीय क्षेत्र टोड्केको भ्रमण गर्न जर्मनी, जापान, इटली, अमेरिका र भारतबाट विदेशी पर्यटकहरु पुग्ने गरेका थिए । तर यसपटक अझै कोरोनाको जोखिम तथा सहज आवतजावत हुन नसक्दा विदेशी पर्यटकहरु भने पुग्न सकेका छैनन् । 

टोड्केमा प्रालिमार्फत निर्माण गरिएको सामुदायिक रिसोर्टमा ९ जना संस्थापकसहित ३३ जनाले साढे तीन करोड रुपैयाँ भन्दाबढी लगानी गरेका छन् । अहिले पर्यटकलाई लक्षित गरेर प्रालिद्वारा टोड्केमा हाइअल्टिच्युड प्ले–ग्राउण्ड, वनस्पति उद्यान केन्द्र, हरियाली पार्क निर्माण तथा कृषि खेती गर्नेतर्फ जोड दिइएको छ ।

प्रालिमार्फत पर्यटन प्रवर्द्धन गर्नका लागि कृषि, जडीबुटी, पशुपालन, शिक्षा र स्वास्थ्यलाई जोड दिइएको प्रालिका सञ्चालक भीम शेरचनले बताउनुभयो । 

बेनी–अर्थुङ्गे–पुलाचौर–चिप्लेटी–डडुवा–पूर्णगाउँ र बेनी–घतान–पात्लेखेत–झीँ तथा बेनी–बाबियाचौर–कुहुँ हुँदै पूर्णगाउँ भएर टोड्के पुगेर रमाउन सकिन्छ । पर्यटकीय क्षेत्र टोड्केको भ्रमण गर्न पाउँदा आफूलाई निकै आनन्दको अनुभूति मिलेको स्वदेशी पर्यटक मिनप्रसाद रेग्मीले अनुभव सुनाउनुभयो । 

म्याग्दीकाे सदरमुकाम बेनीदेखि गाडीमार्फत डेढ घण्टाको यात्रापछि सजिलै पुग्न सकिने पर्यटकीय क्षेत्र टोड्केबाट संसारको सातौँ अग्लो चुचुरो धौलागिरि, दशौँ अग्लो अन्नपूर्ण तथा निलगिरि, माछापुच्छ्रे, मानापाथी, गुर्जालगायत दर्जनौँ मनोरम हिम श्रृङ्खलाहरु देखिन्छन् ।

म्याग्दीको अधिकांश भू–भागसहित मुस्ताङ, बाग्लुङ र पर्वत जिल्लाको डाँडाकाँडाहरू समेत देखिने टोड्केमा माघ फागुनमा ढकमक्क फुल्ने लालीगुँरासले पर्यटकको मनै लोभ्याउँछ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया