जुम्लाको तातोपानीमा वडाको पहलमा सडक, सबै घरधुरीमा खानेपानी र सिँचाइ

 कात्तिक २५, २०७८ बिहिबार १३:९:३८ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्लाको तातोपानी गाउँपालिका हुँदै सिञ्जा गाउँपालिका जोड्ने थारमारे-दिलौरी सडक १५ किलोमिटर निर्माण गरिएको छ । 

गाउँपालिका र प्रदेश सांसद विकास कोषको सहयोगमा १५ किलोमिटर सडक निर्माण गरिएकाे हाे ।  अहिले याे क्षेत्रसम्म एम्बुलेन्स, गाडी पुग्ने गरेकाे छ । गाडी पुग्न थालेपछि स्थानीयबासिन्दा खुशी भएका छन्।

स्थानीय सूर्यबहादुर अधिकारीले सबै घरधुरीमा खानेपानी, खेतीयाेग्य जमिनमा सिँचाइ र सडक पुगेपछि सङ्घीयता आएको महसुस भएको बताउनुभयो।

जुम्ला सदरमुकामबाट जाने छोटो मार्गको रुपमा रहेकाे याे सडक एक करोड ४५ लाख रुपैयाँ लागतमा निर्माण भएको वडाध्यक्ष हरिबहादुर डाँगीले जानकारी दिनुभयो । वडाध्यक्ष डाँगीले अब चार सय मिटर सडक खनिएमा सिञ्जा गाउँपालिका र दिलौरी काँध जोडिने बताउनु भएकाे छ । 

सडकको प्रदेश सांसद तथा पूर्व मन्त्री नरेश भण्डारी, गाउँपालिका अध्यक्ष नवराज न्यौपाने, चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरा देवी न्यौपाने, तातोपानी ५ का वडाध्यक्ष हरिबहादुर डाँगी र स्थानीयले अनुगमन गरेका छन् । 

अनुगमनको क्रममा सांसद नरेश भण्डारीले यो सडकले वास्तविक सङ्घीयता पालिकामा आएको आभास गराएकाे बताउनु भयाे । वडाको पहलमा यति ठूलो सडक निर्माण हुनु निक्कै ठूलाे कुरा भएकाे बताउँदै उहाँले सडकलाई गन्तव्यमा पुर्याउन आफूले थप सहयाेग गर्ने प्रतिबद्धता जनाउनु भएकाे छ । 

तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले गाउँपालिकाले गरेकाे लगानीमा ४५ लाख रुपैयाँ सहयोग गर्ने प्रदेश सांसद भण्डारीलाई धन्यवाद दिनुभयो ।

उहाँले तातोपानीकाे लेक क्षेत्रमा पनि सडक पुगेकाले कृषि उत्पादन समेत वृद्धि हुन थालेको र निर्यात गर्न सजिलो हुन थालेको बताउनुभयो । 

१५० घरधुरीमा खानेपानी 

वडाध्यक्ष हरिबहादुर डाँगीले वडा नम्बर ५ मा पानी लिन गाग्री लिएर दौडिने, सिँचाइ नहुने र सडक अभावमा लेकाली जमिन बाँझाे हुने समस्या अब समाधान भएकाे बताउनु भयाे । 

उहाँले अहिले लाम्राका १५० घरधुरीमा खानेपानी, मार्सीधान सिँचाइ कुलो स्तरवृद्धि, थारमारे दिलौरी सडक निर्माणकाे काम सम्पन्न भएको बताउनुभयो । 

तातोपानी-५ ले दिलौरी लेक नजिकको छकालेपानीबाट पानी लगेर प्रत्येक घरमा एउटा खानेपानीकाे धारा बनाएकाे उहाँले जानकारी दिनुभयाे ।

चन्दननाथ नगरपालिकाका उपमेयर न्यौपानेले चन्दननाथ र तातोपानी मिलेर मध्य सिञ्जा जोड्ने यो सडक पूरा गर्नुपर्ने बताउनुभयो । चन्दननाथ नगरपालिका वडा नम्बर ८ र ९ हुँदै छकाले पानी दिलौरी सडक जोड्न करिब पाँच सय मिटर मात्रै बाँकी रहेको उहाँले बताउनुभयो । 

स्थानीय गुम्म डाँगीले सडक पुगेपछि सिञ्जा-६ का स्थानीयले बिरामी बाेकेर दिलौरीसम्म ल्याउने र त्यहाँबाट एम्बुलेन्समार्फत कर्णाली प्रतिष्ठान लैजाने गरेकाे बताउनु भयाे । 

सडक पुगेपछि बाँझाे जमिनमा आलु, सिमी लगाउँदा उत्पादनमा वृद्धि भएको र बजार लिन पनि सजिलो भएकाे उहाँले बताउनु भयाे ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया