सोध्ने गणकलाई उल्टै प्रश्नको दनक !

 मंसिर ५, २०७८ आइतबार १३:४०:४५ | मिलन तिमिल्सिना
unn.prixa.net

नमस्कार आमा !

आमा रे, हैन नानी तिमी मेरी कुन चाहिँ छोरी पर्यौ त ? मेरा छोरीहरू त सबै ठूल्ठूला भएर उहिल्यै बिहे गरेर पठाइसकेँ । तिमी त सानी देखिन्छौ । नातिनी पनि हैनौ !

म तपाईंकी छोरी हैन आमा, छोरीजस्तै चाहिँ हुँ । त्यसैले आमा भनेको नि ।

लौ लौ त्यसरी आमा भनेर चेपारो घस्ने धेरै आए, गए । हामीलाई केही न केही । ल भन तिमी चाहिँ के को लागि आयौ नि ?

म जनगणना गर्न आएको आमा ।

के हो नि जनगणना भनेको ?

जन भनेको मान्छे, गणना भनेको गन्ने । तपाईंको, तपाईंको परिवारको बारेमा सोध्न आएको क्या । अहिले सरकारले देशभरि जनगणना अभियान चलाएको छ । तपाईंजस्तै देशभर भएका सबै मान्छेको गणना भइरहेको छ क्या ! 

मान्छे गन्ने भनेपछि गन न त लौ । मलाई देखिहाल्यौ, म एक जना । बुढा उ तल खेतमा गएका छन्, बाटोमा जाँदा देख्छौ, उतै गन । उ त्यहाँ पर चार नाति–नातिना खेलिरहेका छन्, तिनलाई पनि गन । छोरा–बुहारी उनीहरूकै काममा छन्, देख्यौ भने गने भइहाल्यो । ल अब म पनि काममा निस्कन लागेको, खै बाटो छोड ।

एकछिन पर्खनुहोस् न आमा । अरू कुरा पनि सोध्नुपर्छ क्या, एकछिन आँगनमा बस्नुहोस् न ।

अरू के सोध्नुपर्छ र नानी ?

गाईभैँसी, भेडाबाख्रा, हाँसकुखुरा, घरजग्गा जस्ता परिवारका अरू कुरा पनि सोध्नुपर्छ क्या ।

अनि अघि मान्छे गन्ने भनेकी हैनौ र ? अहिले गाईँभैसी पनि गन्ने भन्न थाल्यौ त ! तिमी मान्छे गन्न आएकी कि हाँसकुखुरा गन्न ? जनगणना भनेपछि मान्छे गनेर गए भइहाल्यो नि, तातो न छारो अरू के सोध्नुपर्यो त ?

सोध्नुपर्छ आमा । एकछिन त हो, धेरैबेर लाग्दैन ।

ल ल सोध, के के सोध्ने हो, आफूलाई यहाँ बेर भइसक्यो । 

अनि आमा यो घरको मूली चाहिँ को नि ?

मूली त म हो नि, तर घरको त मूला छन् । बुढा मान्छे क्या । उनी घरमूला, म घरमूली ! तिमीलाई चाहिएको चाहिँ मूला हो कि मूली ? 

ए ए बुझेँ, बा हुनुहुँदो रहेछ घरमूली । 

कुरा बुझिनौ कि क्या हो ? बा मूला हो, म मूली हो । बा घर भएको बेला उनी मूला, उनी अन्त गएको बेला म मूली !

अनि तपाईंको बैंक खाता छ आमा ?

के हो बैंक खाता भनेको ? न गाउँमा बैंक छ, न आफूसँग खाता ।

बैंकमा पैसा राख्ने गर्नुभएको छ भनेर सोधेको ?

पैसा भए पो राख्नु नानी । पाए पो राख्नु । कसले दिन्छ र पैसा राख्न । कहिलेकाहीँ बाख्रापाठा, सागपात बेचेर आएको अलिकति पैसा आउँछ, त्यो उधारो तिर्नु कि बैंकमा लगेर राख्नु भन त नानी । कि सरकारले बैंकमा राख्ने पैसा पनि पठाएको छ, छ भने देऊ क्यारे !

अनि बाख्रा, भेडाच्याङ्ग्रा, गाईभैँसी के के छन् त तपाईंसँग ?

हैन नानी, मान्छे गन्ने भन्छौ, फेरि किन चाहियो गाईबाख्राको कुरा ?

चाहिन्छ क्या आमा ।

अब कति छन् भन्ने, आफैँले गन्न भ्याएको छैन । ल हिँड त्यहाँ गोठमा । उ दुई वटा लैना भैँसी छ, अर्को भैँसी ब्याउनका लागि भरे भोलि भएको छ । १२ वटा बाख्रा यहीँ छन्, अरू १३ वटा चर्न गएका छन् । उ त्यहाँ खोरमा कुखुराका परिवार नै छन् । हिजोसम्म १३ वटा चल्ला थिए, दुई वटा वनबिरालाले खाए । अर्को पोथी ओथारो बसेको छ । तिमी फर्केर जाने बेलासम्म भैँसी ब्याउला, अर्को बाख्री ब्याउला, बाख्रीले तीन वटा पाउँछ कि चार वटा के थाहा, अनि कुखुरीले कति वटा चल्ला कोरल्ला, कति वटा वनबिरालोले लैजाला, अब यी सबैका हरहिसाब कसरी मिलाउँछौ तिमी नै मिलाऊ ।

हुन्छ आमा म मिलाएर भर्छु । अनि अर्को प्रश्न नि, आमा घरमा चर्पी कस्तो छ ?

हामी सहरका मान्छे हो र नानी घरमै चर्पी राख्न ? हाम्रा घरमा चर्पी हुँदैनन्, बाहिर जङ्गलमा हुन्छन् । सहरका मान्छे बाहिर खान्छन्, भित्र फाल्छन् । हामी भित्र खान्छौँ, बाहिर फाल्छौँ । म त आची आउनै लागेपछि मात्रै चर्पी जान्छु । अघि भर्खर गएर आएको ! त्यस्तो गन्हाउने ठाउँमा कति ओहोरदोहोर गरिरहनु । चर्पी त्याँ पर झाडीमा छ । अब चर्पी कस्तो छ भनेर जान्ने भए तिमी आफैँ गएर हेर । खाएका र हगेका कुरा त काम नभाका मान्छेले पो गर्छन् त ! तेस्ता कुरा नि के गर्नु है नानी ! अरु कुरा गर न ।

ल ल आमा अब अरू कुरा गरौँ । तपाईंको कति वर्षमा बिहे भएको नि ?

कति वर्ष कति वर्ष, कसले उमेर गनेर बस्यो र नानी ? अहिलेजस्तो वर्षैपिच्छे 'हेप्पी बर्थ डे' भनेर बेलुन फुक्दैन थिए उबेला । अलिअलि खुट्टा लाग्न थालेपछि अहिलेका बुढा माग्न आए, अहिले पो बुढा उतिबेला त सानै थिए कट्टु पनि लगाउन र सिँगान पुछ्न पनि नजान्ने । आफूलाई पो के आउँथ्यो र बा । ऊ पनि उस्तै, आफू पनि उस्तै । माग्न आए, बाआमाले पठाइदिए । कताको लभ, कताको माया, बिहे भनेको के हो, बिहे गरेर के हुन्छ भन्ने थाहा नपाइकन बिहे भयो ।

अनि बच्चाबच्ची कति भए नि आमा ?

त्यो पनि हिसाब गरेर साध्य छैन नानी । बर्सेनि लगातार सात छोरी भएका, तीन वटी त खेरै गए । त्यसपछि बुढा विदेश गए । केही वर्ष सुत्केरी छुट्टी भयो । फेरि बुढा छुट्टीमा फर्किए । उनको छुट्टी सुरु भएपछि आफ्नो सुत्केरी छुट्टी हरायो । त्यसपछि फेरि बर्सेनि हुन थालिहाल्यो । अब त बुढो नि भइयो । पाँच छोरीको बिहे भयो, ६ छोरामा दुई जना विदेशमा छन् । अरू कोही कता, कोही कता । जति छोराछोरी भए नि के गर्नु र नानी आफ्नो दुःख आफैसँग छ ।

अनि आमाले लेख्न पढ्न जान्नुभएको छ ?

किन जान्नुपर्‍याे । जानेर के हुन्छ ? लेख्न,पढ्न जान्नेले के गरे ल भन त नानी ? उबेला चुनावमा यसो गर्छु, उसो गर्छु भनेर बजियाहरूले त्यत्रो घोषणापत्र लेखेका होइनन् ? अनि घोक्रो फुलाइ फुलाइ तिनै बज्जेहरूले त्यही घोषणापत्र पढेर सुनाएका होइनन् ? तिनीहरूले लेखेजस्तो भयो ? पढेजस्तो भयो ? हामीलाई भनेजस्तो भयो ? हामीलाई सुख भयो ? देशमा समृद्धि भयो ? तिनीहरूले झगडा गर्न छोडे ? महँगी, भ्रष्टाचार, अन्याय, अत्याचार, लडाइँ, झगडा, मारकाट सधैँका लागि अन्त्य भयो ? ल भन के चाहिँ भयो ? के गर्छु भनेका थिए के भयो ?

ल नानी तिम्रो प्रश्नको जवाफ त मैले दिएँ, अब तिमीले पनि मेरा प्रश्नको जवाफ देउ । मेरा प्रश्नको जवाफ नदिने भए, मलाई पनि प्रश्न नगर ! जवाफ दिँदा दिँदा थाकी पनि सकेँ, मैले मात्रै जवाफ दिनुपर्छ भन्ने कुन शास्त्रमा लेखेको छ र ? 

अन्तिम अपडेट: चैत १५, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • Ajay Anjaan Lama

    Nov. 23, 2021, 8:09 a.m.

    जनगणनामा सम्पति,पशु चौपायाको पनि विवरण सोध्ने भए कृषि गणना र सम्पत्ति विवरण किन भर्ने र गर्ने गर्नुपर्यो र एकैचोटी जनगणना मै मिल्ने भए । नबुझेको कुरा सरकार !

  •  0 Reply

तपाईको प्रतिक्रिया