पाकिस्तानले 'क्लिन स्वीप' गर्‍याे बङ्गलादेशसँगकाे टी–२० शृङ्खला

 मंसिर ६, २०७८ सोमबार १८:२०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बङ्गलादेशसँगको टी–२० क्रिकेट शृङ्खला पाकिस्तानले 'क्लिन स्वीप' गरेको छ । ढाकामा आज साेमवार भएको तेस्रो तथा अन्तिम खेल पाँच विकेटले जितेसँगै पाकिस्तानले तीन–शून्यले शृङ्खला जितेको हो ।

आज बङ्गलादेशले दिएको एक सय २५ रनको लक्ष्य पाकिस्तानले पाँच विकेट गुमाएर अन्तिम बलमा भेटायो । अन्तिम ओभरमा पाकिस्तानलाई आठ रन चाहिएकोमा बङ्गलादेशका कप्तान मोहमदुल्लाहले लगातार दुई विकेट लिएपछि पाकिस्तान समस्यामा परेको थियो । अन्तिम बलमा दुई रन आवश्यक रहेकोमा मोहम्मद नवाजले चौका प्रहार गरेर टिमलाई जिताए ।

पाकिस्तानका लागि हैदर अलीले ४५ र मोहम्मद रिजवानले ४० रन बनाए । बलिङतर्फ बङ्गलादेशका कप्तान माेहमदुल्लाहले तीन विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको बङ्गलादेशले मोहम्मद नइमको ४७ रनकाे मद्दतमा एक सय २४ रन बनाएको थियो । बलिङतर्फ पाकिस्तानका माेहम्मद वासिम र उसमान कदिरले दुई–दुई विकेट लिए । 

यी दुई देशबीच आउँदो शुक्रवारदेखि दुई खेलको टेस्ट शृङ्खला पनि हुनेछ । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया