‘सोझा साझालाई त विदेशको प्रलोभन देखाएर एजेण्टले बेचेर खाने रहेछन्’

 मंसिर ८, २०७८ बुधबार १६:६:४ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

चन्द्र बहादुर सिंह/कैलाली । 

विदेशमा कमाउला भन्ने सपना देखेको थिए । तर सपनाहरु कहिले काहीँ नराम्रोसँग टुट्दा रहेछन् । ती सपनाले असाध्यै दुःख पनि दिँदा रहेछन् । जुन अहिले म भोगिरहेको छु ।

 विदेशमा राम्रो काम छ भनेर एजेण्टले प्रलोभन देखाए । मैले पनि होला भनेर एजेण्टलाई दुई लाख १० हजार रुपैयाँ पनि बुझाएँ । तर उड्ने बेलामा मेरो भिसाको म्यादमा समस्या देखियो । समस्या के थियो म बुझ्दिन । जे होस् भिसाकै कारण सँगैका साथीभाइ उड्दा म भने विदेश उड्न पाइनँ । तर अहिले लाग्छ जे भएछ राम्रोकै लागि भएको रहेछ ।

किनभने त्यही बेला उडेका साथीहरू यूएई पुगेर अलपत्र परे । मेरो पैसा फसे पनि म भोक भोकै परदेशी भूमिमा भौँतारिन परेन ।

करिब तीन महिना अघि हामी एउटै गाउँका केही साथीभाइको विदेश जाने कुरा भयो । हामी सबैलाई एउटै एजेण्टले कामका लागि यूएई पठाउने भए । 

जान त हामीले कतार खोजेको थियौँ । तर एजेण्टले भन्नुभयो कि, ‘कतारमाभन्दा यूएईमा कामको राम्रो अवसर छ ।’ राम्रो अवसर छाड्ने कुरै भएन ।

उसको कुरा हामीलाई पनि हो जस्तै लाग्यो । बेकरीमा, फुड प्याकिङ र अन्य कामहरु पनि छन् । तपाईँहरूले रोजेर काम गर्न पाउनुहुन्छ भन्नुभयो एजेण्टले । कमाइ पनि गतिलै हुन्छ भनेका थिए ।

उसको कुरा नै यति मिठो थियो कि होइन होला भनेर अविश्वास गर्ने कुनै ठाउँ नै थिएन । त्यसपछि हामीले उसले जसो जसो भन्यो त्यसै गर्दै गयौँ । 

मैले पनि सहकारीबाट दुई लाख १० हजार रुपैयाँ ऋण लिएँ । त्यो पैसा उनै एजेण्टलाई बुझाएँ । 

सबै प्रक्रिया मिल्यो अब विदेश उड्न आउनु भन्ने खबर आयो एजेण्टबाट । सबै साथीभाइ विदेश जानका लागि काठमाण्डौ गयौँ । 

मसँगै गएका अन्य साथीहरू त विदेश उड्नु पनि भयो । तर मेरो भने भिसाको म्यादमा समस्या भएका कारण साथीभाइसँग उड्न सकिनँ । त्यो समस्या मिलाएर पछि उडाउने आश्वासन दिए एजेण्टले । ठिकै छ भनेर म विदेश उड्ने दिन कुर्न थालेँ ।

तर त्यो मेरो भाग्य रहेछ भन्छु । किनभने सँगै गएका साथीहरूले त्यहाँ पुगेपछि भन्नुभयो कि हामीलाई त भिजिटमा ल्याएको रहेछ । यहाँ त हामीजस्तै अन्य सयौँ मानिस छन् । उनीहरूले काम पाएका छैनन् । सायद हामीले पनि पाउँदैनौँ । हामी त फसिहाल्यौँ । तिमी नआऊ, पछि भनेन भन्लाउ भनेर अहिले भनेको भने साथीहरूले । 

साथीहरूले त्यसो भन्दा त म झसङ भए । उनीहरूले त्यसोभन्दा भन्दै म घुम्ने भिसामा भिजिट भिसामा किन जान्थें र । उता साथीहरुको त बिस्तारै रोडकै बास भयो । एजेण्टले काम लगाउन सकेनन् । त्यहाँ जुन ठाउँमा राखिएको थियो त्यो कोठाबाट पनि साहुले निकालिदिए । त्यसपछि केही दिन रोडमा भोक भोकै सुते । अहिले एनआरएनएले लगेर राखेको छ । 

मेरो पैसा फस्यो । समयको वरवाद भयो । तर मैले अर्काको देशमा गएर भोक भोकै रोडमा सुत्न परेन । यदि त्यो बेला भिसा मिलेको भए मेरो पनि हालत त त्यही नै हुने रहेछ । 

मैले लामो समय भारतमा दुःख गरेँ । त्यहाँ काम अलिक गाह्रो खालको थियो । अब त उमेर पनि जान लाग्यो । पछि विदेश जान पाइँदैन भन्ने ठानेर नै मैले अहिले विदेश गएर दुईचार पैसा कमाएर आउने सोचेको थिएँ । तर सोचेको जस्तो नहुने रहेछ । यहाँ त दुःखी गरिबको पैसामाथि रमाउनेहरू धेरे रहेछन् । हाम्रो सपनालाई हतियार बनाएर पैसा लुट्दा रहेछन् ।

एजेण्टहरुले पैसा खाइदिएँ । यता मैले बिना सित्तैमा ब्याज तिर्न परिरहेको छ । सावा कसरी तिर्छु भन्ने कुरा मलाई नै थाहा छैन ।

मैले एजेण्टलाई मेरो पैसा दिनुहोस् भनेर भनेको पनि हुँ । तर एजेण्टले बिस्तारै मेरो कुरै सुन्न छाडेँ । अहिले त फोन नै उठाउँदैनन् । बेला बेलामा फेसबुकतिर कुराकानी गर्छन् । तर उनीहरू फोनमा कुरा गर्न चाहँदैनन् । ६० हजार कटाएर एक लाख ५० हजार चाहिँ फिर्ता गर्छु भनेको थियो । त्यो पनि कहिले हो थाहा छैन । 

रकम फिर्ता गरी पाऊँ भनेर वैदेशिक रोजगार विभागमा निवेदन त दिएको छु । तर अब विभागले मेरो मुद्दा कहिले कसरी हेर्ला त्यो पनि थाहा छैन । 

हामीजस्ता सोझा साझालाई त एजेण्टले बेचेर खाने रहेछन् । एजेण्टले देखाएको प्रलोभनमा भन्दा पनि विदेश जाँदा बुझेर मात्र जानु पर्ने रहेछ भन्ने लाग्न थालेको छ आजकाल ।

अन्तिम अपडेट: मंसिर १७, २०७८

1 Comments

  • Ambir basnet

    Nov. 24, 2021, 4:18 p.m.

    हो, मेरो पनि भातिजहरुको त्यस्तै गरिदियो / राम्रो पानी कम्पनीमा पठाउने भनेर पासपोर्ट र पैसा लग्यो, भिसा आयो अब कार्तिक २६ गते फ्लाइट हुन्छ भनेर बोलाए, तर सबै झुठ रहेछ / भिसा इडित गरेर देखाएको रहेछ , अहिले सम्म पासपोर्ट पनि फिर्ता गरेको छैन , पैसा पनि दिदैन, भागी भागी हिंड्छ / फोन गर्दा मलाई थाहा छैन भन्छ / त्यो ठग इम्पायर इन्टरनेशनलमा काम गर्ने ....कार्की हो /

  •  0 Reply

तपाईको प्रतिक्रिया