वेस्ट इन्डिजसँगकाे पहिलाे टेस्टमा श्रीलङ्का १ सय ८७ रनले विजयी

 मंसिर ९, २०७८ बिहिबार १५:३०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा श्रीलङ्का एक सय ८७ रनले विजयी भएको छ । गालेमा श्रीलङ्काले दिएको तीन सय ४८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज दोस्रो इनिङ्समा एक सय ६० रन अलआउट भएको हो । वेस्ट इन्डिजका नक्रुमाह बोनर ६८ बलमा नटआउट रहे पनि टिमलाई जिताउन सकेनन् । यस्तै जोशुवा डा सिल्भाले ५४ रन बनाए । बलिङतर्फ रमेश मेन्डिसले पाँच विकेट र लासिथ इमबुल्देनियाले चार विकेट लिए । 

पहिलो इनिङ्समा एक सय ५६ रनको अग्रता लिएको श्रीलङ्काले दोस्रो इनिङ्समा चार विकेटको क्षतिमा एक सय ९१ रन बनाएर पारी समाप्त भएको घोषणा गरेको थियो । श्रीलङ्काका दिमुथ करुनारत्नेले ८३ र एन्जेलो म्याथ्विजले नटआउट ६९ रन बनाएका थिए । बलिङतर्फ वेस्ट इन्डिजका रहकीम कर्नवाल र जोमेल वारिकनले समान दुई–दुई विकेट लिएका थिए । 

पहिलो इनिङ्समा वेस्ट इन्डिज दुई सय ३० रनमा अलआउट भएको थियो । वेस्ट इन्डिजका केल मायर्सले ४५, रहकीम कर्नवालले ३९ र जेसन होल्डरले ३६ रन बनाएका थिए । बलिङतर्फ श्रीलङ्काका प्रभीन जयविक्रमाले चार र रमेश मेन्डिसले तीन विकेट लिएका थिए । 

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्का पहिलो इनिङ्समा तीन सय ८६ रन बनाएर अलआउट भएको थियो । श्रीलङ्काका दिमुथ करुनारत्नेले एक सय ४७, धननन्जय डी सिल्भाले ६१, पथुम निसान्काले ५६ र दिनेश चन्डिमलले ४५ रन बनाएका थिए । बलिङतर्फ वेस्ट इन्डिजका रोस्टन चेसले पाँच, जोमेल वारिकनले तीन र शानोन गाब्रिएलले दुई विकेट लिएका थिए । 

दुई खेलको टेस्ट शृङ्खलाका लागि वेस्ट इन्डिज श्रीलङ्का भ्रमणमा आएको हो । यी दुईबीचको दोस्रो टेस्ट यही नोभेम्बर २९ देखि सुरु हुनेछ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया