यूएई श्रम कानुन : निजी क्षेत्रमा काम गर्ने श्रमिकको ‘वर्किङ आवर’ कति ?

 मंसिर ९, २०७८ बिहिबार १७:१३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – के तपाईं वैदेशिक रोजगारीको सिलसिलामा यूएईको कुनै निजी (प्राइभेट) कम्पनीमा कार्यरत हुनुहुन्छ ? यदि हुनुहुन्छ भने पछिल्लो समय परिमार्जित त्यहाँको श्रम कानुनको बारेमा थाहा पाउनुहोस् ।

यूएईले अब चाँडै कार्यान्वयनमा आउने गरि आफ्नो पुरानो श्रम कानुनमा निजी क्षेत्रको श्रम नियममाथि केही परिमार्जन गरेको गल्फ न्युजले जनाएको छ ।

अहिलेसम्म त्यहाँको निजी क्षेत्रको श्रममाथि नियमन गर्दै आएको सन् १९९० को संघीय कानुन नम्बर ८ लाई २०२१ को संघीय कानुन नम्बर ३३ ले विस्थापित गर्ने बताइएको छ ।

२०२१ को संघीय कानुन २०२२ को फेब्रुअरी २ देखि कार्यान्वयनमा आउने जनाइएको छ । यस नयाँ कानुनको धारा १७ र १८ मा निजी क्षेत्रमा कार्यरत श्रमिकहरुको काम गर्ने समयको बारे उल्लेख गरेको छ । यसले श्रमिकले सबैभन्दा धेरै कति घण्टासम्म काम गर्न सक्ने भन्ने बारेमा प्रष्ट पारेको छ । यो नियमले कार्यालयमै गएर काम गर्ने र टाढाबाट काम गर्नेहरुको समयलाई कसरी गणना गर्ने भन्ने कुरालाई पनि समेटेको छ ।

धारा १७ ले निजी कम्पनीमा काम गर्ने श्रमिकले बढीमा ८ घण्टा र हप्तामा ४८ घण्टासम्म काम गर्ने व्यवस्था गरेको छ । कार्यकारी नियमद्वारा तोकिएका निश्चित वर्गबाहेकलाई आफ्नो निवासदेखि कार्य क्षेत्रसम्म पुग्न लाग्ने समय अफिसको ‘वर्किङ आवर’मा समेटिने छैन ।

यस्तै श्रमिकलाई करार सम्झौतामा उल्लेख भएभन्दा बढी समय काममा लगाउने पाइने छैन । त्यसरी काममा लगाउनैपर्ने भएमा पनि लिखित कागज गरेर मात्र काममा लगाउनुपर्ने नियममा उल्लेख छ ।

यदि श्रमिकले अफिस नआएर घरबाटै वा यूएई बाहिर रहेर काम गर्छु भनेमा रोजगारदाताले उपयुक्त समय उपलब्ध गराइदिनुपर्ने पनि नयाँ कानुनमा उल्लेख छ । 

यस्तै धारा १८ मा एक वा त्यो भन्दा बढी ‘ब्रेक’बिना लगातार पाँच घण्टा काम गर्न नसकिने भन्दै आठ घण्टाको अवधिमा समग्रमा कम्तीमा एक घण्टाको ‘ब्रेक’ लिन सकिने र त्यो समय ‘वर्किङ आवर’मा नसमेटिने उल्लेख छ । यस्तै ‘ब्रेक’को समय र काम गर्ने अवधिलाई पालैपाले मिलाउन सकिने पनि उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया