नागरिकले थोपा–थोपा गरेर जम्मा गरेको अर्थको सही सदुपयोग हुनुपर्छ : राष्ट्रपति

 मंसिर ९, २०७८ बिहीबार २०:५:११ | रासस
unn.prixa.net

काठमाण्डाै – नागरिकका सेवाका लागि स्थापना भएका सरकारी निकायमा आर्थिक अनुशासनमा कमी हुन थालेकाेप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले चिन्ता व्यक्त गर्नुभएको छ । महालेखापरीक्षको कार्यालय भवनको आज बिहीवार उद्घाटन गर्दै उहाँले आर्थिक अनुशासन कायम राख्ने काममा महालेखाको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । 

चाणक्यको अर्थशास्त्रमा लेखिएको ‘अथ अर्थानुशासनम्’ पदावलीको सापटी लिँदै राष्ट्रपति भण्डारीले आर्थिक अनुशासन पालना गर्ने महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सङ्घीय सरकार, प्रदेश सरकार र पालिकाकाे उत्तिकै भूमिका रहने स्पष्ट पार्नुभयो । नियन्त्रणको प्रयास भइरहँदा समेत प्रत्येक वर्ष बेरुजु बढ्नु चुनौतीको विषय रहेको उल्लेख गर्दै उहाँले कसरी त्यसको पर्छ्याेट गर्ने भन्ने सवालको जवाफ खोज्नुपर्नेमा जोड दिनुभयो । व्यापार घाटा बढ्दै गएकाेमा राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गर्नुभयो । निर्यातको तुलनामा आयातको मात्रा बढ्दै गएकाेले व्यापार घाटा चुलिएको तथा कृषि उपजमा परनिर्भर बढ्नु चिन्ताको विषय भएको उहाँको भनाइ छ ।

जैविक इन्धनको आयात बढ्दै जानुले व्यापार घाटाको मात्रामा वृद्धि भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले विद्युतीय गाडीकाे प्रयोग बढाउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रको निर्माणका लागि जनताको उद्यमशीलताको विकास गर्न महालेखापरीक्षकको कार्यालयले भूमिका निर्वाह गर्न सक्ने उहाँको भनाइ थियो ।

संवैधानिक भूमिकाअनुसार देशको आर्थिक अनुशासनको परिपालना गराउन महालेखाले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सूचना र प्रविधिमा आधारित लेखापरीक्षण प्रणाली लागू गर्न लागेकामा प्रशन्नता व्यक्त गर्नुभयो । सङ्घीयताको कार्यान्वयनपछि महालेखाको क्षेत्राधिकार विस्तार भएको तथ्य पेस गर्दै उहाँले नागरिकले थोपा–थोपा जम्मा गरेको अर्थको सही सदुपयोग भयो कि भएन हेर्ने दायित्व पूरा गर्न महालेखालाई आग्रह गर्नुभयो ।

महालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालले २०७२ सालमा गएको भूकम्पका कारण बबरमहलमा रहेकाे मुख्य भवनमा क्षति पुग्दा काम गर्ने वातावरणमा असर परेको भन्दै नयाँ भवनको निर्माणपछि कर्मचारीको मनोबल बढ्ने विश्वास व्यक्त गर्नुभयो । वार्षिकरूपमा एक खर्ब रुपैयाँभन्दा बढी बेरुजु देखिनु र त्यो बढ्दै गएर ६ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको तथ्याङ्क पेस गर्दै उहाँले आर्थिक अनुशासन पालना गर्न सबैको उत्तिकै भूमिका रहने स्पष्ट पार्नुभयो । सबै सरकारी कार्यालयको लेखापरीक्षणलाई थप पारदर्शी, व्यावसायिक र विश्वसनीय बनाउन आफूहरूले अहोरात्र प्रयास गरिरहेको दङ्गालको भनाइ छ । छिट्टै सातै प्रदेशमा महालेखाको कार्यालय स्थापना गर्ने तयारी भइरहेको जानकारी दिँदै उहाँले सरकारी लेखापरीक्षणलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भवन निर्माणमा संलग्न सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग, निर्माण व्यवसायीलगायतलाई दङ्गालले धन्यवाद दिनुभयो । लोक सेवा आयोग र काठमाण्डाै उपत्यका विकास प्राधिकरणसँगै अनामनगरमा रहेकाे महालेखापरीक्षकको नवनिर्मित भवन कुल सात रोपनी क्षेत्रफलमा फैलिएको छ । 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया