‘मरुभूमिमा विस्फोट’, माया र सम्झना बोकेर रोजगारी गर्न फेरि यूएई उडेँ

 मंसिर १०, २०७८ शुक्रबार ११:२:७ | नारायण कोइराला
unn.prixa.net

कम्पनीले दिएको बिदा सकिएको थियो । बिदामा घर आउनेलाई परदेश उड्न खासै अप्ठ्यारो त थिएन । तर सामान्य अवस्था हुँदा जस्तो सजिलो पनि थिएन ।

देशको एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल पुग्न नै विभिन्न समस्याहरू भोग्न पर्ने । 

परदेशबाट जाँदाजस्तो घरबाट फर्किँदा हामी परदेशीको साथमा खासै सामान हुँदैन । हाते झोलालाई बसको सामान राख्ने ठाउँमा राखे । आफ्नो सिटमा बसेँ ।

पाल्पाको तानसेनबाट गन्तव्य तिर लाग्दा बिहानको सूर्य उदाउन बाँकी नै थियो । हल्का चिसो हावा नाक र कानमा ठोकिन्थ्यो । त्यो सिरेटो पनि परदेश हिँड्यो भनेर मसँग रिसाए झैँ अनुभव हुन्थ्यो ।

आ–आफ्नो उद्देश्य लिएर बसमा बसेका यात्रीसहित बस घाम नउदाउँदै पाल्पाबाट काठमाण्डौका लागि छुट्यो ।

यात्रीको खचाखच थियो बसमा । कोरोना त एकादेशको कथाजस्तै लाग्थ्यो यात्रीलाई देख्दा । न त कुनै सामाजिक दूरी कायम थियो न त सबैले सही तरिकाले मास्क लगाएका थिए । अधिकांशले त लगाएकै थिएनन् ।

मलाई भने डर लाग्यो । आफूलाई विदेश उड्नु छ । कतै काठमाण्डौ आएर पीसीआर परीक्षण गर्दा पोजेटिभ आयो भने के गर्ने ? मनमा त्रास छायो । 

अक्सिजन नपाएर, आइसियुको अभावमा छटपटिएर मानिसले ज्यान गुमाएको अस्तिको त्यो त्रासदीपूर्ण समयले पनि मानिसलाई पाठ सिकाएको रहेनछ ।

तर परिस्थिति अनुसार आफूलाई ढाल्नु बाहेक विकल्प नहुने रहेछ । आफू सुरक्षित रहने कोसिस गरेँ । मास्क लगाए । बेलाबेला स्यानिटाइजरको प्रयोग पनि गरेँ । 

मेरो आशा थियो घाम अस्ताउनुअघि नै म काठमाण्डौ पुग्नेछु । तर राजमार्गको यात्रा पनि भनेजस्तो नहुने रहेछ । 

राजमार्ग भए पनि बाटो हेर्दा मन नै अमिलो भयो । बस कयौँ पटक जाममा फसिरह्यो । म लगायत सबै यात्री भोक र प्यास नभनेर जाम खुल्ने प्रतीक्षामा बसिरह्यौँ ।

घण्टौँको जामपछि बाटो खुल्दा पनि ठूलै युद्ध जिते झैं लाग्ने रहेछ ।

हामीहरू जाममा फसे पनि घडीको सुई भने घुमिरहेको थियो । खाना खान बस रोक्दा दिउँसोको तीन बजिसकेको थियो । दिउँसोको खाजा र खाना एकै पल्ट भयो । 

राजमार्गका होटलको अवस्थाको त कुरै नगरौँ । तर पनि भोक त मेटाउनै पर्‍यो । 

खाना खाएपछि बस पुन गन्तव्य तिर हुइँकियाे । समयमा पुग्ने आस जामले मरिसकेको थियो। खाना खाएपछि आँखा झपक्क लागेछ । उठ्दा घाम अस्ताउँदै गरेको दृश्य देखियो । बाटो अझै धेरै नै बाँकी थियो ।

कति बेला गन्तव्यमा पुगिएला भन्ने कुराले मन आत्तिइसकेको थियो । रातले दिनलाई छोप्यो । आकाशमा ताराहरू बढ्दै गए । हामीहरू भने अझै गन्तव्यमा पुग्न सकेनौँ । घडीको सुईले दस बजाउँदा काठमाण्डौ आइपुगियो ।

थकानले शरीर उठ्न कठिन मानेको थिएन । बल्ल तल्ल उठेर हातमुख धोई सकेपछि एक कप  तातो चिया पिएँ । तर चिन्ता पीसीआर रिपोर्ट कै थियो । 

 गेस्ट हाउसको काउन्टरमा बुझेँ ।  हस्पिटल नजिकै रहेछ । अरू पनि थुप्रै साथीभाइ रहेछन् । गेस्ट हाउसको गाडीमा हस्पिटल तिर लागियो । खासै समय लागेन । चेक गरेपछि केही समय बाँकी थियो । यो समय पनि मेरो लागि मूल्यवान् नै थियो ।

परदेशमा खाली समय सदुपयोग गरी लेखिएको   मेरो आफ्नै पुस्तक  मरुभूमिमा विस्फोट  लघुकथा प्रकाशित भएको थियो । केही प्रति लिन मलाई प्रकाशनतिर जानु थियो ।

प्रकाशनमा पुग्दा एउटा अनौठो सरप्राइज पनि पाए । म परदेशीलाई बिदाइ तथा मेरो लघुकथा मरुभूमिमा विस्फोटको लागि सानो कार्यक्रम रहेछ । छोटो तर  त्यो मिठो कार्यक्रमले मलाई आउँदा दिनमा पनि लेखिरहन प्रेरित गर्‍यो ।

साहित्यिक माया देखेर मन अति खुसी र हर्षित भयो । सानो तर अविस्मरणीय  त्यो कार्यक्रम मिलाउने सम्पूर्ण साहित्यकारलाई मनदेखि आभार व्यक्त नगरी रहन सकिनँ ।

मरुभूमिमा विस्फोट लगायत अरू पनि पुस्तक लिएर त्यहाँबाट बिदा भए । वास्तवमा प्रदेशमा खाली समयमा यस्ता रचना र लेख लेख्दा आफ्नो मनमा सन्तुष्टि त हुन्छ नै साथै अरू बाट पाउने माया झन् आनन्ददायी हुँदो रहेछ ।

गेस्ट हाउसमा पुग्दा पीसीआर रिपोर्ट आइसकेको  रहेछ । म ढुक्क भएँ । 

अर्को दिन बिहान मलाई चाँडै नै एयरपोर्ट पुग्नु थियो । दिउँसो उडान भएकोले बिहानै र्‍यापिड टेस्ट गर्नु पर्ने प्रावधान छ । बेलैमा  टेस्ट भयो । टेस्ट गरेपछिको समय बिताउन भने धौ धौ भयो । एक छिन त्यहाँको अवस्था बुझ्न थाले ।

घरबाट हिँड्नुभन्दा पहिला जुन मनमा  खुल्दुली थियो, जस्तो समस्या होला भनेको थिए त्यो त भोग्न परेन ।  सुधारहरू भएको रहेछ । राम्रो कुरोलाई राम्रो नै भन्नु पर्छ । 

तर पनि सही सूचना पाउन भने अलिक कठिन रहेछ । अहिलेको अवस्थामा विदेश आउँदा  सबैभन्दा सजिलो भनेको एयरपोर्ट मै पीसीआर गर्नु रहेछ । बाहिरका निजी हस्पिटलले शुल्क दुई हजार लिएको पाइयो । जब कि एयरपोर्ट भित्र एक हजार दुई सयमा पीसीअर हुँदो रहेछ ।

मलाई पनि यो कुरो थाहा नहुँदा अलमल परेको थिएँ । अब आउने साथीहरूले अलमल नपरी सिधै अन्तर्राष्ट्रिय विमानस्थलको मूल गेटमा  रहेका जुन सुकै पीसीआर सेन्टरबाट रिपोर्ट गराउँदा हुन्छ भन्ने मेरो सुझाव छ । 

अब भने सबै रिपोर्ट मेरो हातमा आइसकेको थियो । म एयरपोर्ट भित्र पस्ने तयारी गर्दै थिए । थकाली भान्छा घरमा भर पेट खाना खाएर म एयरपोर्ट तिर लागे । परदेश लाग्नुभन्दा पहिलाको त्यो खाना अति स्वादिलो लाग्यो । सायद जिब्रोलाई पनि लाग्यो होला अबको केही वर्ष यो स्वाद पाउने छुइन भनेर ।

एयरपोर्टमा पुग्दा पहिलाभन्दा धेरै नै  सुधार भएको देखेँ । आफ्नो देशको प्रगति देख्दा कुन परदेशी खुसी नहोला र । म पनि खुसी भएँ । विमानस्थल भित्र पहिलेको तुलनामा सफा र चट्ट देखियो । मेरो त सबै कागजात मिलेकाले पनि विमानस्थलमा ठुलो समस्या झेल्न परेन ।

यसपालिको घर बिदामा थुप्रै खुसीहरू पाएँ । माया पाएँ । त्यही अनुभव, माया र खुसी समेट्दै म फेरि कर्मभूमि यूएई उडेँ । 

अन्तिम अपडेट: मंसिर १७, २०७८

नारायण कोइराला

पाल्पाका नारायण कोइराला अहिले खाडीको देश यूएईमा कार्यरत हुनुहुन्छ ।

1 Comments

  • लव जोशी

    Nov. 26, 2021, 12:25 p.m.

    अनुभव बनाँड्नु भएकोमा खुसी लाग्यो। निरोगी र सतर्क रहनु होला । सफलताको शुभकामना।

  •  0 Reply

तपाईको प्रतिक्रिया