प्रधानन्यायाधीशलाई महाअभियाेग नलगाइ बारकाे आन्दाेलन राेकिँदैन : वरिष्ठ अधिवक्ता शाक्य

 मंसिर १२, २०७८ आइतबार १५:११:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रधानन्यायाधीशविरुद्ध राजनीतिक दलहरूले महाअभियोग नलगाएसम्म नेपाल बार एसोसिएशनको आन्दोलन चलिरहने बताउनुभएको छ । 

आज आइतवार नेपाल बार एसोसिएशनले सर्वोच्च अदालत परिसरमा गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शाक्यले राजनीतिक दलहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाएमात्रै बारको आन्दोलन रोकिने बताउनुभएको हो । उहाँले प्रधानन्यायाधीश जबरा कानुनी र कागजी रूपमा पदमा अहिलेसम्म कायम रहेको भए पनि व्यावहारिक रूपमा भने त्याे पदमा नरहेको जिकिर गर्नुभयो । उहाँले प्रधानन्यायाधीशलाई कसैले स्वीकार नगर्दा पनि नागरिकलाई दुःख दिएर अदालत ठप्प पारेको आरोप लगाउनुभयो ।

वरिष्ठ अधिवक्ता शाक्यले भन्नुभयो, ‘प्रधानन्यायाधीश व्यावहारिक रूपले अब त्यो पदमा हुनुहुन्न । उहाँ आफ्नो कार्यालयमा नआएको पनि ६/७ दिन भइसक्यो । उहाँसँग अब कसैले पनि बेञ्च शेयर गर्नुहुन्न । उहाँको उपस्थितिमा न्याय परिषद्, न्याय सेवा आयोग र संवैधानिक परिषद्को बैठक पनि बस्नेवाला छैन भनेपछि व्यवहारमा उहाँले प्रधानन्यायाधीशको जिम्मेवारी बहन गर्न नपाउने भइसकेपछि उहाँले ढिपी गरेर, राजीनामा नदिएर सारा नागरिककाे मुद्दालाई अस्तव्यस्त पारेर, यो अदालतलाई ठप्प पारेर के सन्देश दिन खोजेको हो भन्ने हामीले बुझेका छैनौँ । हामीले के भनेका छौँ भने– राजनीतिकर्मीहरूले संसदबाट उहाँलाई महाअभियोगको प्रक्रिया लगाएर हटाउने सम्भावना जब रहन्छ तब यो कार्यक्रम हामी रोक्छौँ । तर त्यो सम्भावना नरहेको कारणले गर्दा हामीले बाध्य भएर यो कार्यक्रम चलाइरहेको हो । यो कार्यक्रमले आफ्नो उद्देश्य हासिल नगरिकन छोड्दैन । व्यावहारिक रूपमा हाम्रो उद्देश्य हासिल भइसकेको छ, कानुनी रूपमा र कागजी रूपमा मात्रै बाँकी रहेको हुनाले त्यो पनि चाँडै नै पूरा हुनेमा विश्वस्त छौँ ।’

अधिवक्ता अनन्तराज लुइँटेलले आउँदा दिनमा न्यायपालिकामा गरिने नियुक्ति वैज्ञानिक ढङ्गले गर्नुपर्ने बताउनुभयो । अहिले न्यायपालिकाको मान, सम्मान र प्रतिष्ठा समाप्त भएको भन्दै उहाँले बारको आन्दोलनलाई न्यायपालिका सुधारको कोशेढुङ्गा साबित गराउनुपर्नेमा जोड दिनुभयो । 

अधिवक्ता पदमबहादुर श्रेष्ठले ‘प्रधानन्यायाधीश जबरा न्यायपालिकाको प्रदूषण’ भएको टिप्पणी गर्नुभयो । कानुन व्यवसायीको आजसम्मको कुनै पनि आन्दोलन असफल नभएकाले प्रधानन्यायाधीशविरुद्धको यो आन्दोलन पनि सफल हुने उहाँले दाबी गर्नुभयो । 

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएशनले सर्वोच्चमा निरन्तर धर्ना दिदैँ आएको छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया