हेलिकप्टरबाट सामान ढुवानी गरेर नेपाल टेलिकमले दियो ८ ठाउँमा सेवा

 मंसिर १२, २०७८ आइतबार २०:२६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल टेलिकमले हेलिकप्टरबाट सामान ढुवानी गरेर आठ ठाउँमा सेवा सञ्चालन गरेको छ । पहाडी भिरपाखा छिचोल्दै अति आवश्यक घरायसी सामग्रीहरू डोकामा बोकेर लग्नुपर्ने अवस्थामा दूरसञ्चारका ठूला र गह्रुँगा उपकरणहरू कम्पनीले विगतमा जस्तै हेलिकप्टरबाट उपकरण ढुवानी गरी अति दुर्गम र विकट आठ ठाउँम जीएसएम टुजी र फोरजी सेवा प्रवाह गरेको छ ।

सोलुखुम्बुको लुक्ला, स्याङबोचे, नाम्चे बजार र ताक्सिन्दु, गोरखाको छेकम्पार, बिही र न्याक तथा मनाङको ओडार भ्यु–प्वाइन्टमा हेलिकप्टरबाट उपकरणहरू ढुवानी गरी नयाँ टावरबाट सेवा सञ्चालन गरिएको हो । यी टावरबाट सेवाग्राहीलाई टुजी र फोरजी सेवा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

सोलुखुम्बुको लुक्ला साइटबाट खुम्बु पासाङल्हामु गाउँपालिकाका वडा नम्बर २ र ३ का लुक्ला, सुर्के, मुसे, नाजिपाङ, चौरीखर्क, स्याङमा र सगरमाथा पदमार्ग लगायतका क्षेत्रमा टुजी र फोरजी सेवा उपलब्ध भएको छ । स्याङबोचे एअरपोर्ट साइटबाट त्यही गाउँपालिका ४ का बस्ती र नाम्चे बजार साइटबाट ३ र ५ का नाम्चे, कोङदे, जोरसल्लो लगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ । त्यसैगरी टाक्सिन्दु साइटबाट वडा नम्बर १ का नुनथला, खरिखोला, थामडाँडा, बुप्सा, पान्गोम र सगरमाथा पदमार्ग लगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ । 

गोरखाको छेकम्पार साइटबाट चुमनुब्री गाउँपालिका ४ अन्तर्गतका छेकम्पार, छोकाङसहित छिमेकी देश चीनसँग जोडिएका पर्यटकीय क्षेत्रहरूमा सेवा उपलब्ध भएको छ । गोरखाकै बिही (गर्ज्याङ डाँडा) नयाँ साइटबाट त्यही गाउँपालिका ५ अन्तर्गत क्वाकडाँडा, बिही गाउँ, सराङ गुम्बा ल्हो, प्रोक, सामा, लार्केपाससहित मनास्लु ट्रेकिङ रुट लगायतका क्षेत्र र न्याक साइटबाट वडा नम्बर ३ अन्तर्गत न्याक, लिक्पा, डेंग, सिर्दिबास फिलिम, भान्सिङ र मनास्लु ट्रेकिङ रुट लगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ । मनाङको ओडार भ्यु प्वाइन्ट साइटबाट न्यासो गाउँपालिका अन्तर्गत ओडार, नाचे, थोंचे, धारापानी, तिल्चेलगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ । 

यसैगरी अन्य तीन दुर्गम र विकट ठाउँमा हेलिकप्टरबाटै सामान ढुवानी गरी निकट भविष्यमा नेपाल टेलिकमले टुजी र फोरजी सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको फाक्दिङ र नाचिपाङ तथा दार्चुलाको व्यास गाउँपालिकाको छाङ्गरु साइटमा टावर स्थापना गरी सेवा सञ्चालन गरिनेछ । ती ठाउँमा संरचना निर्माण भइरहेको र निकट भविष्यमै टुजी तथा फोरजी सेवा सञ्चालनमा आउने टेलिकमले जनाएको छ ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया