अहिलेसम्म १६ सयभन्दा धेरै मत खस्यो : मत परिणाम आजै आउने (तस्बिरसहित)

 मंसिर १४, २०७८ मंगलबार ९:३६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । बिहान ४ बजेदेखि बिहान सवा ९ बजेसम्ममा १ हजार ६ सयभन्दा धेरै मत खसेको एमालेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

आयोगका सदस्य बाबुराम  दाहालका अनुसार अहिले पनि मतदान गर्नेको लामो लाइन छ । बिहान साढे ११ बजेसम्ममा मतदान सकिने अनुमान गरिएको छ । विद्युतीय भोटिङ मेसिनमा मतदान भइरहेकाले उत्साहजनक रुपमा मतदान भइरहेको उहाँले बताउनुभयो । यस्तै, उहाँले आजै मत परिणाम आउने पनि बताउनु भएको छ । एमालेको अध्यक्ष, उपाध्यक्ष र सचिवसँगै विभिन्न क्लस्टरका केन्द्रीय सदस्यमा पनि मतदान भइरहेको छ ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेको छ । ६ जना उपाध्यक्षको पदमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ ।

सात जना सचिव हुने व्यवस्था भएको ठाउँमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टङ्कप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्माकुमारी अर्याल, भीमप्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदवारी परेको छ ।

चितवनको सौराहामा भइरहेको महाधिवेशनले १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।  नयाँ नेतृत्वका लागि पदाधिकारीसहित केन्द्रीय समितिमा ३३३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिनुभयो ।

मतदान स्थलका तस्बिरहरु:

तस्बिर : राधेश्याम खतिवडा

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया