बैंकहरुको खराब कर्जा बढे पनि आत्तिनुपर्ने अवस्था छैन
माघ २१, २०८१ सोमबार
कास्की – गण्डकी प्रदेशमा यस वर्ष ४ अर्ब १७ करोड २७ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक तथ्याङ्कानुसार ६६ हजार ५ सय ७८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । प्रदेशका ९ वटा जिल्लामा ५ हजार ७ सय ३ हेक्टरमा सुन्तला उत्पादन भएको निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलले जानकारी दिनुभयो ।
‘किसानले पाउने प्रतिकिलो सुन्तलाको औसत मूल्यका आधारमा यो वर्ष ४ अर्ब रुपैयाँभन्दा धेरैकाे सुन्तला उत्पादन भएको छ’, उहाँले भन्नुभयो, ‘सबैभन्दा धेरै स्याङ्जामा १ अर्ब ७१ करोड ६३ लाख ९० हजार रुपैयाँ बराबरको सुन्तला फलेको छ ।’ कृषि अर्थ विज्ञ पौडेलका अनुसार तनहुँमा ६४ करोड २० लाख, गोरखामा ४० करोड २० लाख, पर्वतमा ३८ करोड ३६ लाख, म्याग्दीमा ३४ करोड २१ लाख, बाग्लुङमा २६ करोड ४६ लाख, कास्कीमा २५ करोड ९६ लाख, नवलपुरमा १३ करोड ३९ लाख र लमजुङमा ३ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको हो ।
यस वर्ष स्याङ्जामा १९ सय ५० हेक्टर, तनहुँमा ९ सय ६८ हेक्टर, गोरखामा ७ सय ४६ हेक्टर, पर्वतमा ४ सय ६५ हेक्टर, म्याग्दीमा ४ सय २५ हेक्टर, बाग्लुङमा ३ सय ७७ हेक्टर, कास्कीमा ५ सय ४१ हेक्टर र लमजुङमा ८० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको हो । यस वर्ष ११ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको निर्देशनालयले जनाएको छ । दुई वर्षअघि ५० हजार ८ सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएकाेमा यो वर्ष बढेर ६६ हजार ५ सय ७८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।
वर्षेनि सुन्तलाखेतीको क्षेत्रफल विस्तार पनि भइहेको छ । देशमै सबैभन्दा धेरै सुन्तलाखेती हुने स्याङ्जाले वर्षेनि उत्पादनको ठूलो हिस्सा ओगट्छ । गण्डकीमा मुस्ताङ र मनाङ जिल्लामा भने सुन्तलाखेती हुँदैन । किसानले पाउने प्रतिकिलो सुन्तलाको औसत मूल्य ६७ रुपैयाँका आधारमा उत्पादनको कुल मूल्य निर्धारण गरिएको कृषि अर्थ विज्ञ पौडेलले जानकारी दिनुभयो । शुरूमा केही कम मूल्य परे पनि पछिसम्म बोट र चिस्यान केन्द्रमा राखेर बेच्ने किसानले सुन्तलाको भाउ बढाउँदै लैजान्छन् ।
जिल्लागत रूपमा पनि सुन्तलाको औसत मूल्य फरक–फरक रहेको छ । किसानको बगैँचाबाट बजारमा आएपछि पाउने बिक्री मूल्यको त लेखाजोखा नै नहुने निर्देशनालयले जनाएको छ । जिल्लाहरूले पठाएको प्रतिवेदन र तथ्याङ्क विश्लेषण गरेर प्रदेशभरिको उत्पादन सार्वजनिक गर्ने गरिएको हो । नयाँ बोटले फल दिन थाल्नु, उत्पादन क्षेत्र विस्तार, बगैँचाको सही व्यवस्थापनजस्ता कारणले सुन्तला उत्पादनमा वर्षेनि वृद्धि हुँदै आएको निर्देशनालयले जनाएको छ ।
मुस्ताङ र मनाङबाहेक प्रदेशका ९ वटा जिल्लामा गरी कुल ८ हजार ५ सय १६ हेक्टरमा सुन्तलाखेतीले ओगटेको छ । रोगकीराको प्रकोप, कलमी बिरुवाको अभाव, बगैँचा व्यवस्थापन, सुन्तला टिप्नेदेखि सुरक्षित भण्डारण र ढुवानी, बजारको अभावजस्ता समस्या सुन्तला किसानले बेहोर्दै आएका छन् । बोट सुकेर मर्ने रोग, औँशे किरालगायतले पनि सुन्तलाखेतीमा क्षति पुर्याउने गरेको छ ।
सुन्तलाखेती विस्तार र व्यवसायीकरणका लागि सुन्तला ‘सुपर जोन’, ‘जोन’, ‘पकेट’ र ‘ब्लक’ कार्यक्रम सञ्चालित छन् । बाग्लुङ, पर्वत र म्याग्दीका केही पालिकालाई समेटेर सुन्तला ‘जोन’ बनाइएको छ । ‘सुन्तला जोन’ मा बाग्लुङको बिहुँ, सिगाना, पर्वतको बाँसखर्क, सालिजा, लेखफाँट, म्याग्दीको बास्कुनालगायतका गाउँ पर्छन् । स्याङ्जामा सुन्तला ‘सुपरजोन’ कार्यक्रम लागू भइरहेको छ । शुरूमा केही पालिकाका सीमित वडामा मात्र सञ्चालन गरिएको याे कार्यक्रमलाई पछि जिल्लाभर विस्तार गरिएको हो ।
स्याङ्जाका करेनडाँडा, जैसीडाँडा, राङ्खोला, अर्जुनचौपारीलगायत गाउँ सुन्तलाखेतीका लागि बढी चिनिन्छन् । तनहुँको म्याग्दे गाउँपालिका, गोरखाको शहीद लखन गाउँपालिकामा पनि सुन्तला उत्पादन राम्रो हुन्छ । यहाँ उत्पादित सुन्तला पोखरालगायत प्रदेशभित्रैका शहरी क्षेत्रमा धेरै खपत हुन्छ । व्यापारीले नारायणगढ, काठमाण्डाैलगायत ठाउँमा पनि बिक्रीका लागि पुर्याउँछन् ।
पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका अगुवा सुन्तला किसान मेखबहादुर खत्रीका अनुसार यो वर्ष बाँसखर्कमा मात्र १८ करोड ४४ लाख ४७ हजार रुपैयाँको सुन्तला उत्पादन भयो । त्यहाँ १५ सय रोपनी जमिनमा सुन्तलाखेती गरिएकामा फल दिने बोट २६ हजार ७ सय ६ र हुर्कँदै गरेका बोटको सङ्ख्या २४ हजार ४ सय ४५ रहेको उहाँले बताउनुभयो । कुल ५१ हजार १ सय ५१ बोट रहेकामा सबै बोटले फल दिँदा केही वर्षमा उत्पादन दोब्बर बढेर झन्डै ४० करोड रुपैयाँ हाराहारी पुग्ने अनुमान गरिएको छ । अगुवा किसान जतबहादुर खत्रीको बगानमा वर्षमा ३५ लाख रुपैयाँ बराबरको सुन्तला फल्ने गरेको छ । उहाँले २५ रोपनी जमिनमा सुन्तलाखेती गर्दै आउनुभएको छ ।
अगुवा किसान शान्तबहादुर छिन्तेलले वार्षिक २३ लाख र हेमबहादुर अर्मजाले १९ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन गर्दै आउनुभएको छ । तेजबहादुर खत्री र नरबहादुर पाइजाले सुन्तलाको नर्सरी सञ्चालन गर्दै आउनुभएको छ । ‘व्यावसायिक सुन्तलाखेतीले बाँसखर्कका किसानको जीवनस्तर नै बदलिएको छ, सुन्तला बेचेर वर्षको ५ लाखदेखि ४० लाख रुपैयाँसम्म कमाउने किसान यहाँ हुनुहुन्छ’, अगुवा किसान मेखबहादुर खत्रीले भन्नुभयो । बाँसखर्कको सुन्तला पोखरा, मुग्लिन, नारायणगढ, काठमाण्डाैलगायत ठाउँमा जाने गरेको उहाँको भनाइ छ ।
उहाँकाअनुसार जलजला–१ को मालगाउँ र घुमाउने तालको केही ठाउँबाहेक बाँसखर्कको धेरैजसाे क्षेत्रमा सुन्तलाखेती हुँदै आएको छ । विसं १९९७–९८ तिर बाँसखर्कको बजारमारे र वीरमारेमा केही सुन्तलाका बोट देखिएको र त्यसपछि समयक्रममा सुन्तलाखेती विस्तार हुँदै आएको उहाँले बताउनुभयो । विसं २०२८ मा कृषि विकास बैंकले सुन्तलाखेती गर्ने किसानलाई ऋण दिन थालेपछि बाँसखर्कमा सुन्तलाखेती शुरू भएको गाउँका अगुवा किसान बताउँछन् ।
पोखरासम्म सडक पहुँच विस्तार भएपछि विसं २०५२–५३ देखि बाँसखर्कका किसानले व्यावसायिक रूपमा सुन्तलाखेती शुरू गरेका हुन् । २ सय ३९ घुरधुरी रहेको बाँसखर्कका धेरैजसाे किसान सुन्तलाखेतीमा आबद्ध छन् । किसानले सुन्तलाखेतीको विकल्प देख्न छाडिसकेका छन् ।
गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्यमा जिसी श्रेष्ठले सुन्तलाको पकेट क्षेत्र विस्तारका लागि प्रदेश सरकारले सहयोग गर्दै आएको बताउनुभयो । ‘सरकारले सुन्तलाखेती गर्ने किसानलाई सीप र प्रविधि हस्तान्तरणमा ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने योजना ल्याएको छ’, उहाँले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।