एमाले महाधिवेशन : मतगणना सुरु, साढे २ घण्टाभित्रै परिणाम आउने

 मंसिर १४, २०७८ मंगलबार १३:४६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – नेकपा एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानको मतगणना सुरु भएको छ । विद्युतीय मेशिनबाट तथ्याङ्क सङ्कलन सुरु भएकाे केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिनुभयो ।

विद्युतीय मेशिनका प्राविधिकहरूले अब साढे दुई घण्टाभित्र नतिजा सार्वजनिक गर्न सकिने बताएका उहाँले बताउनुभयो । महाधिवेशनमा दुई हजार एक सय ५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । 

चितवनको सौराहामा भइरहेको महाधिवेशनको बन्द सत्रमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि चुनाव भएको हो । पार्टीको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावल उम्मेदवार छन् ।

६ जना उपाध्यक्षको पदमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ ।

सात जना सचिव हुने व्यवस्था भएको ठाउँमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टङ्कप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्माकुमारी अर्याल, भीमप्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदवारी परेको छ । महाधिवेशनले १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया