राजेन्द्र लिङ्देनलाई प्रकाशचन्द्र लाेहनीकाे साथ

 मंसिर १४, २०७८ मंगलबार १५:१६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी पार्टीको आउँदाे महाधिवेशनमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका नेता राजेन्द्र लिङ्देनको पक्षमा उभिनुभएको छ । 

आज मङ्गलवार काठमाण्डाैमा पत्रकार सम्मेलन आयोजना गरी अध्यक्ष लोहनीले पार्टीको नेतृत्व नयाँ पुस्तालाई दिनु पार्टी र देशको हितमा आवश्यक भएको बताउनुभयो । उहाँले पार्टीभित्र नयाँ नेतृत्वले ठाउँ पाउनुपर्छ भन्ने आफ्नो भनाइ र विश्वास रहेको उल्लेख गर्दै राप्रपाको नयाँ नेतृत्वमा राजेन्द्र लिङ्देनको पक्षमा उभिएको स्पष्ट पार्नुभयो । अध्यक्ष लोहनीले पार्टीका अन्य दुई अध्यक्ष कमल थापा र पशुपतिशम्शेर राणालाई पनि अभिभावकीय भूमिका निर्वाह गर्दै नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘पार्टीको नेतृत्व नयाँ पुस्तालाई दिनु पार्टी र देशको हितमा आवश्यक छ भन्ने दृष्टिकोण सार्वजनिक रूपमा स्पष्ट नै व्यक्त गरेको थिएँ । त्यही धारणाअनुसार राप्रपाको नयाँ नेतृत्वमा राप्रपाका पूर्वमहामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनको पक्षमा उभिएको छु । राप्रपामा आजको परिस्थितिमा नयाँ नेतृत्वले ठाउँ पाउनुपर्छ भन्ने मेरो भनाइ र विश्वास हो । म अन्य दुई मेरा मित्र अध्यक्षहरूलाई पनि पार्टीको हितमा अभिभावकीय भूमिका निर्वाह गर्न र नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन अनुरोध गर्दछु ।’

पत्रकार सम्मेलनमा बोल्दै राप्रपाका नेता राजेन्द्र लिङ्देनले पार्टीका अर्का अध्यक्ष कमल थापालाई समयको पदचाप बुझेर एक पटक विश्राम लिन आग्रह गर्नुभयो । उहाँले आफू पार्टी अध्यक्ष बन्दा कसैले अपमानित महसुस गर्नु नपर्ने पनि बताउनुभयो । नेता लिङ्देनले पार्टीभित्रका मात्रै नभइ पार्टीबाहिरका शुभेच्छुकहरू पनि नयाँ नेतृत्वको पक्षमा रहेको दाबी गर्नुभयो । 

उहाँले पार्टीभित्रको मात्रै नभइ देशकै अपरिहार्य आवश्यकताले आफूले पार्टीको नेतृत्व लिन चाहेको बताउनुभयो । नेता लिङ्देनले देश र धर्म बचाउनका लागि राप्रपा बलियो बनाउनुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया