सामान्य बाटाे खन्दा पनि अदालतबाट 'स्टे अर्डर' हुन्छ, यसले समस्या भइरहेकाे छ : अर्थमन्त्री शर्मा

 मंसिर १५, २०७८ बुधबार १९:५४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले विकासका लागि छुट्टै कानुनको आवश्यकता भएको बताउनुभएको छ । आज बुधवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्ती तथा सेजन अवार्ड वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले त्यसका लागि ऐन संशोधनको कार्य अघि बढेको जानकारी दिनुभयो ।

उहाँले विकासका सानातिना काममा पनि अदालतको 'स्टे अर्डर' ले विकासमा ढिलाइ हुने गरेको बताउनुहुँदै विकासका लागि विशेष कानुनको आवश्यकता औल्याउनुभएको हो ।

‘सामान्य बाटो खन्दा अदालतबाट स्टे अर्डर हुन्छ, त्यसले बाटो बनाउन समस्या उत्पन्न हुन्छ । योसँगै जग्गा अधिग्रहण, वातावरणीय अध्ययनमा वर्षाैँ लाग्नेलगायतका कुरा छन्’, उहाँले भन्नुभयो, ‘यसका लागि छुट्टै विकास ऐनको आवश्यकता महसुस भएको छ । अहिले त्यसको तयारी भइरहेको छ ।’

उहाँले अहिलेको खर्च प्रणालीले भनेअनुसार लक्ष्य प्राप्त नभइरहेकाले नयाँ विधि अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । नयाँ प्रणाली ल्याउनेबारे पनि छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । ‘अहिले जे छ, त्यहीँ प्रणालीले भनेअनुसार खर्चको लक्ष्य प्राप्त नभइरहेको अवस्थामा नयाँ तरिका ल्याउनुपर्ने आवश्यकता पनि देखिएको छ’, मन्त्री शर्माले भन्नुभयो, ‘नयाँ मोडालिटी ल्याउने कुरामा पनि छलफल भइरहेको छ ।’

यसैबीच मन्त्री शर्माले पछिल्लो समय केही वस्तुको आयातमा कडाइ गरिएको जानकारी दिनुभयो । नेपाल मोबाइल वितरक सङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्नुहुँदै उहाँले यस्ताे जानकारी दिनुभएको हो । ‘बैध रूपमा अवैध काम भइरहेको’ भन्नुहुँदै उहाँले भन्सारमा कडाइ गरिएको बताउनुभयो । त्यसरी कडाइ गर्दा ठूलो मात्रामा सुन भित्रिएको उहाँले बताउनुभयो ।

‘वैध रूपमा अवैध काम भइरहेको छ यहाँ’, मोबाइल पनि अवैध रूपमा भित्रिरहेकोप्रति सङ्केत गर्नुहुँदै मन्त्री शर्माले भन्नुभयो, ‘सुनको बाला बनायो अनि लगाएर आयो । त्यस्तालाई केही समय जफत नगरौँ भनेर नीति लिएर निगरानी गर्दा दैनिक २१/२२ किलो सुन आएको भेटियो ।’ उहाँले त्यस्ता सुनको भन्सार लिएर छोडिएको समेत जानकारी दिनुभयो ।

यसैगरी उहाँले मोबाइलको पनि नेपालमै उत्पादन कम्पनी स्थापना गर्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो । त्यसका लागि अर्थ मन्त्रालयको तर्फबाट सहजीकरण गर्न तयार रहेको समेत व्यवसायीहरूलाई विश्वास दिलाउनुभयो । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया