सन्दर्भ विश्व माटो दिवस : सङ्कटमा माटो

 मंसिर १९, २०७८ आइतबार १३:४५:५९ | डा. दिनेश पाण्डे र लक्ष्मी चौलागाईँ
unn.prixa.net

स्वस्थ माटोको महत्त्वबारे सचेत गराउन र माटोजन्य स्रोतको दिगो व्यवस्थापनको लागि वकालत गर्न हरेक वर्ष डिसेम्बर ५ मा विश्व माटो दिवस मनाइन्छ ।

दिवसको मुख्य उद्देश्य भनेको माटो व्यवस्थापन सम्बन्धी बढ्दो चुनौतीलाई सम्बोधन गर्दै, माटो लवणीकरणसँग जुध्दै, माटोप्रतिको सचेतना वृद्धि र समाजलाई माटो स्वास्थ्य सुधार गर्न प्रोत्साहन गर्ने जस्ता कार्य गरेर पारिस्थितिक र मानव कल्याणलाई कायम राख्ने गरी महत्त्वबारे जागरुक बनाउनु हो ।

संयुक्त राष्ट्रसङ्घ खाद्य एवं कृषि सङ्गठनको वेबसाइटमा विश्व माटो दिवस सम्बन्धी अन्तरक्रियात्मक नक्सा हेर्ने हो भने विश्वभरि झण्डै तीन सय  कार्यक्रमहरु भैरहेका छन् । 

यस्ता कार्यक्रमको महत्त्व जागरण फैलाउनबाहेक साना किसानको वर्चस्व बढी भएको देश जस्तै नेपालका लागि अरु के नै हुन सक्ला र ? नेपाली किसानको अवस्था मुख्यतया प्राकृतिक स्रोतको ह्राससँग प्रत्यक्ष रूपमा सम्बन्धित छ । मुख्यतया माटो, जमिन र वन जसले अन्ततः दिगोपन पनि निर्धारण पनि गर्छ । अझ भनौँ, नेपालमा माटोलाई न्यून स्रोतका रुपमा लिएको छ अनि किसान र सरकार दुवैले यसलाई प्राथमिकता दिन सकेका छैनन् । माटो दिवसले हाम्रो माटो वन फँडानी, अत्याधिक चरन, अधिक खनजोत र अव्यवस्थित कृषि अभ्यासबाट कसरी खतरामा छ भनेर सम्झाउने मात्र गरेको छ ।

त्यसो भए अहिले नेपाली कृषिले भोगिरहेका धेरै समस्या बाहेक हामीले माटोको लवणता या नुनिलोपनाको बारेमा पनि ख्याल गर्नुपर्छ कि ? तपाईँले कहिल्यै माटोको सतह वा माटोमा सेतो छाल अर्थात तर देख्नुभएको छ या माटो र पानीको स्वाद नुनिलो पाउनुभएको छ ? यदि छ भने जान्नुहोस् माटो लवणता यही हो ।

माटो लवणता भन्नु नै माटोमा अत्याधिक पानी मिश्रित नुनको मात्रा बढ्नु हो । प्रायः सिँचाइ गर्ने पानीमा नुन हुने गर्दछ, त्यसैले जति बढी सिँचाइ गरेर खाद्यान्न उत्पादन गरिन्छ, त्यतिनै माटो नुनिलो हुँदै जान्छ । यस्तो हुनु बाली उब्जनीका लागि राम्रो हुँदैन किनभने यसले उत्पादनमा ह्रास ल्याउँछ । प्रायः बालीहरु बढ्दो नुनिलोपनाप्रति संवेदनशील हुन्छन् र अहिलेको अवस्थामा यो समस्या भोग्ने जमिनको मात्रा दिनदिनै बढ्दो छ । 

यसै वर्ष अक्टोबर २०२१ मा प्रकाशन भएको पुस्तक ‘नेपालको माटोमा उल्लेख भए अनुसार नेपालमा माटो लवणता या अत्याधिक नुनिलोपनाको समस्या खासै देखिएको छैन । यसको मुख्य कारण हो, नेपालमा प्रायः क्षेत्रमा प्रति वर्ष औसत एक हजार मिलिमिटर वर्षा हुनु, जसले माटोमा भएको नुनलाई जमिन सतहबाट मुनि चुहाउने या बगाउने गर्दछ, जसलाई लिचिङ पनि भनिन्छ ।

नेपालको सुक्खा या अर्ध सुक्खा क्षेत्र जस्तै मनाङ र मुस्ताङ जिल्लामा भने यस्तो समस्या देखिन सक्छ तर त्यस्तो ठाउँ यसै पनि सानो भएका र हिउँबाट पग्लिने पानीले अत्याधिक नुनलाई बगाइदिने भएकाले अहिलेसम्म यो समस्याकै रुपमा विकास भएको छैन । त्यसैगरी नेपाल समुद्रबाट पनि टाढा छ जसकारण समुद्र सतहको उचाइले नुनिलो पानी हुने र त्यसले पूरै खेतीयोग्य जमिन डुबाउने जस्तो समस्या छैन, जुन माटो नुनिलोपनाको अर्को मुख्य कारण हो । 

लवणीकरण सुक्खा र अर्धसुक्खा क्षेत्रहरूमा एक ठूलो समस्या हो, जहाँ बालीको वृद्धि र विकास गर्न सिँचाइको अत्याधिक अभ्यास गरिन्छ र ती प्रायः प्राकृतिक रूपमा नुनिलो हुन्छन् । कमजोर निकासले जब पानी जम्ने अवस्था निम्त्याउँछ र पानीको सतह बढाउँछ, यसले जमिनको सतहको नजिकको उपसतहमा नुन ल्याउँछ ।

जब पानी वाष्पीकरण हुन्छ या वाफमा परिणत हुन्छ, बिरुवाको जरा वरिपरि नुन रहन पुग्छ, बिरुवालाई पानी सोस्नबाट रोक्छ, फलतः बिरुवाहरू ओइलाउन थाल्छन् र पर्याप्त पानी लिन नसक्ने कारणले मर्छन् । त्यसैगरी समुद्री सतहको वृद्धिले समुद्री सतह मुनि रहेका क्षेत्रहरूमा पानी जमिन मुनीबाट चुहिन्छ ।

उच्च वाष्पोत्सर्जन हुने सुक्खा क्षेत्रहरूमा माटोलाई चिसो पार्न वर्षाको कमीको कारण, तटीय क्षेत्रहरूमा हावाले भित्री भागमा मध्यम मात्रामा नुन उडाउन सक्छ । नुनको सञ्चयले माटो र बालीको उत्पादकत्वलाई मात्र ह्रास गर्दैन कि भू–जल प्रदूषण पनि बढाउँछ, जस कारण पिउनका लागि त्यो पानी अब अनुपयुक्त हुन सक्छ ।

आज विश्वको कुल भू–भागको ९ प्रतिशत नुनिलोपना या लवणीकरणबाट प्रभावित छ । यो इजिप्टको लागि अझै ठूलो समस्या हो, जहाँ ३५ प्रतिशतभन्दा बढी खेती गरिएको भू–भाग सतह नुनको सञ्चयका कारण प्रभावित छन् र ती क्षेत्रहरू मरुभूमिमा परिणत हुँदैछन् ।

बङ्गलादेशमा खेतीयोग्य जमिनलाई जलीय खेती (झिँगा खेती उद्योग) मा रूपान्तरण गर्ने प्रचलन बढ्दै गएको छ किनभने तिनीहरूको जमिन समुद्री सतहको वृद्धिका कारण डुबानमा परेको छ । इजरायलका किसानहरूले पनि माटोको लवणताको समान समस्या भोगी राखेका छन्, किनभने तिनीहरूले भू–मध्यसागरलाई कृषिको लागि पानीको मुख्य स्रोतको रूपमा प्रयोग गरिरहेका छन् ।

यद्यपि तिनीहरुले दिगो कृषि उत्पादन प्रणालीको लागि पानीको आवश्यकता पूरा गर्न डिसेलिनाइजेसन (समुद्रको पानी वा माटोबाट नुन वा अन्य रसायनहरू हटाउने प्रक्रिया), साथै पानीको पुनः प्रयोग गर्ने प्रविधिहरू अपनाइरहेका छन् । अहिले इजरायलमा ९० प्रतिशत फोहोर पानी पुनः प्रयोग गरिन्छ, यो संसारको कुनै पनि देशको तुलनामा चार गुणा बढी हो ।

सामान्यतया अनुपयुक्त बाली व्यवस्थापन अभ्यासहरू, खराब सिँचाइ पानीको गुणस्तर र जलवायु परिवर्तनले माटोको नुनिलोपनाको समस्या बढाउन सक्छ । तर नेपाल जस्ता देशका लागि केही कृषि व्यवस्थापन अभ्यासहरू जस्तै पशु चर्ने जमिनमा अत्याधिक चरन, सधैँ एउटै बालीमात्र लगाउने अभ्यास, नाइट्रोजन (विशेष गरी युरिया) मलको अनुपयुक्त प्रयोग, खेतीयोग्य जमिनलाई बाँझोमा छोड्ने आदिले माटोको लवणता झन् बिग्रन सक्छ । धेरै किसानहरूले बढ्दो नाइट्रोजनको मात्राले बाली उत्पादन बढाउने विश्वास गर्छन्, मल राम्रो उपजको पर्यायवाची हो भनि सोच्छन्। 

एउटै बाली मात्र लगाउने अभ्यासले माटोको पोषक तत्वहरू घटाउँछ र समयसँगै माटोको क्षय बढाउँछ । बाँझो खेतहरू, जुन या त कृषि सञ्चालनमा जनशक्तिको कमीको कारण वा पहिरो र बाढी जस्ता प्राकृतिक प्रकोपहरूका कारण खेतीका लागि अनुपयुक्त हुन्छ, यसलाई माटो क्षरणबाट जोगाउन वनस्पतिको सतहले ढाक्नुपर्छ ।

अझ महत्त्वपूर्ण कुरा हामीले एउटै जमिनमा निरन्तर गाईबस्तु चराउन रोक्नुपर्छ किनभने ती क्षेत्रको माटोमा पानी सञ्चय शक्ति कम हुन्छ र मरुभूमिकरणको प्रक्रियामा जान सक्छ । हामीले चक्रमा चराउने योजना बनाउनुपर्छ, जसले प्रकृतिको नक्कल गर्न सक्छ र घाँसे मैदानको पुनःस्थापनामा मद्दत गर्छ । जिम्बाब्वे पारिस्थितिक विज्ञान शास्त्री, एलन सेभोरीलाई १९६० को दशकमा विश्वको घाँसे मैदान पारिस्थितिक जीवनतन्त्रमा माटोको क्षय र मरुभूमिकरणको कारण बुझ्नमा महत्त्वपूर्ण सफलता हासिल भयो, जहाँ उहाँले समग्र व्यवस्थापनको योजना प्रक्रिया र योजनाबद्ध चरन विकास गर्नुभयाे।

उहाँको सन् २०१३ को भिडियोले हाम्रो माटोलाई मरुभूमिकरण र सम्भवतः भविष्यमा माटोको क्षयीकरणबाट जोगाउन ठूलो सन्देश दिएको छ । यसका अतिरिक्त धेरै जलवायु मोडलहरूले सुक्खा मौसममा वर्षामा कमी र दक्षिण एसियामा मनसुनमा वृद्धि हुने प्रक्षेपण गर्दछ ।

नेपालमा हालैका वर्षहरूमा खडेरीको बढ्दो आवृत्ति देखिएको छ । ऐतिहासिक रूपमा सन् १९९४ को खडेरीले पश्चिमी पहाडी र तराई क्षेत्रका ३५ जिल्लालाई प्रभावित गर्यो । २००८ र २००९ को खडेरीले ४० जिल्लालाई प्रभावित गर्यो, जहाँ कुल वर्षाको ५० प्रतिशत कम भयो ।

कहिलेकाहीँ यी खडेरीहरूपछि बाढी आउने र भारी वर्षा हुने हुन्छ । यी सबै चरम घटनाहरूले बाली उत्पादकता मात्र होइन, माटोको उत्पादकतालाई पनि क्षति पुर्याउँछ । किसानहरूले वर्षा गराउन वा रोक्न सक्दैनन् तर तिनीहरूले आफ्नो भूमिलाई चरम घटनाहरूको प्रभावबाट कम जोखिममा पार्ने कामहरू गर्न भने अवश्य गर्न सक्छन् ।

हाम्रो माटोलाई जीवित र स्वस्थ राख्न जिम्मेवार हुनुपर्छ । कल्पना गर्नुहोस् कि माटो एउटा विशाल पेट जस्तै हो जसले सबै कुरा पचाउन सक्छ । अबका दिनमा अझ थप कदम चालेर माटोलाई माया किन नगर्ने त ? माटोलाई सङ्कटबाट जोगाउन ढिलाइ गर्नुहुँदैन ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

डा. दिनेश पाण्डे र लक्ष्मी चौलागाईँ

डा. पाण्डे कृषि पर्यावरण प्रणालीमा कार्बन र नाइट्रोजन चक्रको विशेषज्ञता भएका माटो वैज्ञानिक हुनुहुन्छ । चौलागाईँ अहिले ल्यान्डस्केप मोडलिङमा पीएचडी गर्दै गरेकी कृषि माटो विज्ञानकी आकाङ्क्षी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया