दलहरूलाई स्वास्थ्यमन्त्रीकाे आग्रह : ‘चुनावमा भाेट माग्न गए जस्तै खाेप बाेकेर गाउँ–गाउँ पुग्नुस्’

 मंसिर १९, २०७८ आइतबार १९:३०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले खोपका झोला बोकेर गाउँ–गाउँमा गइ काेरोना भाइरसविरुद्धको खोप लगाउन सहयोग गर्न सञ्चार माध्यम, राजनीतिक दलहरूलाई आग्रह गर्नुभएकाे छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिकाे आज आइतवारकाे बैठकमा यस्ताे आग्रह गर्नुभएकाे हाे । 

उहाँले भन्नुभयो, ‘मिडियाका साथी, राजनीतिक दलहरूलाई एउटा अनुराेध छ, हामीले चुनावमा भोट माग्नका लागि नमस्कार गरेर घर गएजस्तै त्यही मेहनत कोरोना खोपका लागि गरिदिनुहोस् भन्न चाहन्छु । खोप र दुई जना सुई लगाउन जाने स्वास्थ्यकर्मीहरूसँगै खोपका झोला बोकेर गाउँ–गाउँका केन्द्रमा गएर यसअघि हामी भोट र पर्चा बाँड्न आएका थियौँ, यस पटक तपाईँहरूको स्वास्थ्य उपचार गर्न आएका छौँ भनेर सबै दलहरू हिँडिदिनु होस् ।’

यसैबीच मन्त्री खतिवडाले कोरोना भाइरसकाे नयाँ भेरियन्ट 'ओमिक्राेन' बाट बच्न सरकारले अहिलेसम्म १० वटा देशलाई प्रतिबन्ध लगाएको बताउनुभयो । उहाँले अन्य देशबाट आउने नागरिकहरूलाई पनि क्वरेण्टीनमा राखिने र उनीहरूको पीसीआर परीक्षण गरेर मात्रै घर जान दिने बताउनुभयो ।

बैठकमा बाेल्दै मन्त्री खतिवडाले कोरोनाकाे नयाँ भेरियन्ट 'ओमिक्रोन' देखिएसँगै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले तेस्रो डोज खोप लगाउन आग्रह गरेको बताउँदै त्यसबारेमा छलफल भइरहेकाे बताउनुभयाे ।

बैठकमा समितिका सदस्य योगेश भट्टराईले नयाँ भेरियन्टबाट बच्न सतर्कता अपनाउनुपर्ने बताउनुभयो । उहाँले कोरोनाको नयाँ भेरियन्ट आएमा लकडाउन बाहेकको विकल्प सोच्नुपर्ने सुझाव दिनुभयाे । 

बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले कोरोना भाइरसको नयाँ भेरियन्ट नयाँ भएकाले विश्वले यसमा चासो देखाइरहेको भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले ओमिक्रोनको अध्ययन हुने क्रम जारी रहेकाले अध्ययनपछि यसबारेमा जानकारी गराउने बताउनुभयो ।

त्यस्तै परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले विश्व स्वास्थ्य सङ्गठनले गरेको एक अध्ययनमा ओमिक्रोन धेरै घातक नरहेको बताउनुभयो । उहाँले यसको पूरा अध्ययन भइ नसकेकाले नेपालमा भने विभिन्न १३ नाकामा सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सदस्य जीवनराम श्रेष्ठले ओमिक्रोनबारे विज्ञहरूको कुरा सुन्दा सामान्य लागे पनि संसारभर त्रासको वातावरण रहेको भन्दै सतर्कता अपनाउनुपर्ने बताउनुभयो । उहाँले विगतमा पनि डराएर तयारी गर्न नसकेको बताउँदै यस पटक भने पूर्वतयारी गर्न आग्रह गर्नुभयो । उहाँले समस्या आउनुअघि नै रणनीतिक रूपमा काम गर्न सुझाव दिनुभयो ।

बैठकमा सदस्य खगराज अधिकारीले पोस्ट कोभिडमा नेपालको अध्ययन नपुगेको भन्दै अध्ययनको क्रम बढाउनुपर्ने बताउनुभयो । उहाँले एन्टिबायोटिकको 'साइड–इफेक्ट' को बारेमा अध्ययन गरेर मात्रै मन्त्रालय अगाडि बढेमा जनस्वास्थ्यप्रतिको दायित्व पूरा हुने बताउनुभयो ।

बैठकमा विज्ञहरूले नेपालमा पनि यसको सङ्क्रमण फैलिन सक्ने भन्दै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी नियमित हात धुन, मास्कको प्रयोग गर्न, सामाजिक दुरी कायम राख्न र भिडभाड नगर्न आग्रह गरेका छन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया