राप्रपामा लिङ्देनको जित : पार्टीमा पुस्तान्तरणको प्रक्रिया सुरु

 मंसिर २०, २०७८ सोमबार १४:१:१५ | गेहेन्द्रलाल मल्ल
unn.prixa.net

राष्ट्रिय प्रजातन्त्र पार्टीमा राजेन्द्र लिङ्देनको जितले पार्टीमा पुस्तान्तरणको प्रक्रिया सुरु भएको मान्नुपर्छ । किनकि वरिष्ठ नेताहरु पशुपति शम्शेर जबरा, प्रकाश चन्द्र लोहनी र पछिल्लो पटक कमल थापा नेतृत्वबाट बिस्तारै बाहिरिने क्रममा र अभिभावकको भूमिका निर्वाह गर्ने क्रममा जुन महाधिवेशन भयो, त्यसबाट दोस्रो पुस्ताको हातमा नेतृत्व गएको छ । 

हिजोको सोचाइ र हिजोको काम गराइले बेलाबेलामा भड्केर गएको जस्तो, कहिले राजाको पक्ष लागेर हिँड्ने अनि कहिले के गर्ने कुराहरु भइरहेको देखिन्थ्यो । लोकतन्त्रको सही मार्गमा आजको जुन परिवर्तित अवस्था छ, हिजो राजतन्त्र थियो, आज गणतन्त्र छ त्यस अनुसार काम गर्ने अवस्थामा शायद प्रवेश गर्छन् होला भन्ने मलाई लाग्छ । 

कमल थापाले निर्मल निवासको आशीर्वादको कारण म हारेँ भन्ने जुन प्रतिक्रिया आयो, तर पनि एउटा परिपाटी बस्ने अवस्था देखापर्यो । चुनाव हार्ने बित्तिकै चुनावलाई अस्वीकार गर्ने प्रवृत्ति नेतृत्वमा देखिन्छ । आफूले हारेपछि हार चाहिँ स्वीकार नै नगर्ने जुन एउटा अवस्था छ त्यसबाट सन्तोष लिनुपर्ने एउटा अवस्था के छ भने कमल थापाजीले हारलाई स्वीकार गर्नुभयो।

तर, लोकतान्त्रिक परिपाटी अनुसार नै अगाडि बढ्ने भन्ने कुरामा हिजोको संवैधानिक राजतन्त्रको कुरा अहिले आएर उठाउने ? राजा रहुञ्जेल राजालाई विभिन्न कुरामा उक्साउने अनि जब संवैधानिक राजतन्त्र हट्यो र गणतन्त्रमा प्रवेश गर्यो अब संवैधानिक राजतन्त्रको नारा लगाउनु बेसुरको बाजा हुन्छ जस्तो लाग्छ मलाई । 

त्यसले खास नागरिकको बीचमा काम गर्ला जस्तो लाग्दैन । तर, लोकतान्त्रिक भनाउँदा जो दलहरु छन् तिनले लोकतन्त्रको भावना अनुरुप नागरिकलाई दिने सेवा सुविधा नदिने र नागरिकको दुःख, पिर–मर्का हटाउने काममा नलागेसम्म, देश विकास गर्ने बाटोमा नलागेसम्म यो चुनौतीको सम्भावना रहिराख्छ ।

लिङ्देनलाई निर्मल निवासले सघायो भन्ने कमल थापाको प्रतिक्रियामा भित्रि कुरा त थाहा हुँदैन । तर, बाहिर आएसम्म कुनै जमानामा निर्मल निवास कमल थापासँग त्यति खुशी छैन भन्ने कुरा त आएको हो । नआएको होइन । त्यसलाई कति सत्य मान्ने ?

यी सब कुराहरु हुँदै गर्दा आफूलाई अनुकूल हुँदा राजाको अलोकतान्त्रिक तथा व्यवस्था विरोधी कदमलाई स्वीकार गरेर स्वागत गर्ने अनि मन्त्री हुनेदेखि विभिन्न काम गरेर हिँड्ने, राजालाई सक्रिय बनाउने । एक पटक विना रेफ्रीको फुटबल खेल्न खोज्यो भन्ने पनि आएको थियो कमल थापाबाट, मैले विभिन्न अन्तर्वार्तामा सुनेको थिएँ । 

गोल भएन भनेर रेफ्रीले नै गोल गर्न खोजेको अवस्थालाई ध्यानमा राखेर त्यो कुरालाई स्वीकार गर्न सकिन्छ र ! रेफ्रीले त निष्पक्ष भएर खेलाउने मात्र हो गोल गर्ने होइन भन्ने कुरालाई उहाँहरुले स्वीकार गर्न नसक्ने तर, अहिले आएर त्यस्तो प्रतिक्रिया व्यक्त गर्दा त्यो हारको एउटा कुण्ठा मात्र हो जस्तो लाग्छ मलाई । 

अहिले निर्वाचनको परिणामलाई सहर्ष स्वीकार गरेर हुनुपर्ने जुन प्राकृतिक व्यवहार त देखियो त्यसलाई सन्तोषको कुरा मान्दा मान्दै पनि नाङ्गो हस्तक्षेप भन्ने जुन कुरा जोडिन आएको छ त्यसले कमल थापाले पार्टी फुटाउनु हुन्छ भन्ने कुरामा शङ्काको ठाउँ दिएको छ । 

भोलि पार्टी फुट्दैन भन्ने कुरा भन्नु चाहिँ अलि हतार होला जस्तो लाग्छ । यो प्रतिक्रिया हेर्दा मिलेर बस्ने सम्भावना कम र फुटाउने ठाउँ राखेकै देखिन्छ । तर, निर्मल निवासले ठाडो हस्तक्षेप गर्यो भनेर निस्केर हिँड्न सक्ने अवस्था पनि देखिँदैन । किनकि हिजो निर्मल निवासले शासन व्यवस्थामा हस्तक्षेप गर्दा स्वागत गर्ने अहिले चाहिँ पार्टी भित्र कुनै व्यक्तिलाई साथ दियो भन्नेकुरामा उहाँले साथ दिन नसक्ने भनेको कता कता कुरा नमिलेको देखिन्छ । 

निर्वाचित भएपछि राजेन्द्र लिङ्देनले माला खादा लिएर नआउनु अनि अब सबै गुटको अन्त्य भयो म सबैलाई मिलाएर लिएर जान्छु भन्ने भनाइलाई त स्वागत नै गर्नुपर्छ । नेतृत्व निर्वाचित भएपछि त एउटै गुट भयो । उहाँको नेतृत्वमा पार्टी अगाडि बढ्नु पर्ने हो । तर, हामीकहाँ भनाइ र व्यवहारमा अन्तर देखिन्छ । 

प्रतिनिधिले नेतृत्व स्वीकार गर्नुपर्छ 

मेरो प्रतिस्पर्धी, मेरो विरोधी, विभिन्न आरोप लगाउने भनेर भित्तामा पुर्याउने किसिमले व्यवहार गर्नु हुँदैन । निर्वाचनपछि उहाँको पक्षमा मत नहाल्ने मतदाताले पार्टीको सदस्य भएका नाताले नेतृत्वलाई स्वीकार गर्ने, उहाँको नेतृत्वमा अगाडि बढ्ने तिर लाग्नुपर्छ । 

जुन आजको व्यवस्था र आजको परिपाटी अनुसार हिँड्नु पर्ने अवस्था हुँदा कुनै फरक नपर्ने खालको सोच राख्दा ठीकै हुन्छ । उहाँलाई अध्यक्ष मानेर, नेता मानेर अगाडि बढ्छु भन्ने सोच पदाधिकारीमा भयो भने काम गर्न सजिलो हुनसक्छ । हामी अर्को समूहबाट आएको मान्छे हौँ, यसलाई कामै गर्न नदिउँ, अप्ठ्यारो पारौँ जसरी पनि राजीनामा गर्न बाध्य पारौँ र अर्को महाधिवेशन गराउँ भन्ने नियत राखेर गर्छन् भने जे पनि हुनसक्छ । 

तर, त्यति साह्रो विवेकहीन काम उहाँहरुले गर्नुहुन्न होला । पार्टीको नयाँ नेतृत्वलाई हामीले साथ दिनुपर्छ, सहयोग गर्नुपर्छ । किनकि पार्टीका नेता, कार्यकर्ताले उहाँको सोचलाई छाप लगाएको हो नि त । थापाले आफ्ना समर्थक पदाधिकारीमार्फत आफ्नो कुरा पार्टीमा लाद्छु भन्न थाल्नुभयो भने पार्टीमा वैधानिक सङ्कट आउन सक्छ । 

वैधानिक रुपले निर्वाचित भएपछि पार्टी पदाधिकारीले नेतृत्वलाई सहयोग गर्नुपर्छ भने नेतृत्वले पनि विधान र पार्टीगत सिद्धान्त अनुसार चल्ने गर्नुभयो भने असहयोग गर्न मिल्दैन । तर नेतृत्व पनि आफ्नो हिसाबले चल्ने, पार्टी विधान विपरीतका कुरा लाद्ने भयो भने पार्टी छिन्न भिन्न भएर जानसक्छ । त्यसो भयो भने एकताको महाधिवेशन भनेर दिइएको नाम बेकार हुनसक्छ। यदि नेतृत्व र पदाधिकारीबीच तालमेल नभएका खण्डमा राप्रपाले आफूलाई जुन एउटा वैकल्पिक शक्तिको रुपमा उभ्याउन खोजिरहेको छ त्यो लक्ष्य प्राप्त गर्न सक्दैन । 

हिन्दुत्व र जनजाति फरक एजेण्डा

लिङ्देनले राजतन्त्र र हिन्दुत्वको नारा दिएर जसरी जित्नु भएको छ त्यस्तै उहाँ जनजाति भएको नाताले जनजातिको एजेण्डा पनि छँदैछ । हिन्दुत्व सशक्त हुँदा जनजातिको मुद्दा एकातिर पन्छिएर बसेको जस्तो उहाँहरुको सोच छ । अब यसलाई उहाँले कसरी मिलाउन सक्नुहुन्छ हेर्न बाँकी छ ।

उहाँको नेतृत्व क्षमताको परीक्षण यसमा हुन्छ । लोकतन्त्रलाई राजतन्त्रको अभिभावकत्व चाहिन्छ कुरा आफ्नो ठाउँमा छ । तर, हिन्दुत्वको कुरा गर्दा जुन हिन्दुवादी सोच छ यसले जनजातिलाई त्यति सहज नभइ रहेको र राज्यले एउटा धर्मलाई मात्र ग्राह्यता दिँदा अरु धर्मलाई पन्छाउने जुन भइरहेको छ, ती कुरामा उहाँ कसरी जोगिनुहुन्छ र आफ्नो नेतृत्व कौशल देखाउनु हुन्छ हेर्न बाँकी छ ।

(मल्लसँग गरिएकाे कुराकानी बदलिँदाे नेपालमा सुन्नुहाेस्।) 

अन्तिम अपडेट: चैत १२, २०८०

गेहेन्द्रलाल मल्ल

गेहेन्द्रलाल मल्ल राजनीति शास्त्रका प्राध्यापक हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया