जलवायु सङ्कटप्रति गम्भीर बन्न आग्रह गर्दै सुरु भयाे 'किम्फ'

 मंसिर २३, २०७८ बिहिबार २०:४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जलवायु सङ्कटप्रति गम्भीर बन्न आग्रह गर्दै यो वर्षको काठमाण्डाै अन्तर्राष्ट्रिय चलचित्र महाेत्सव (किम्फ) काठमाण्डौमा सुरु भएको छ । किम्फकाे १९ औँ संस्करण आज बिहीवारदेखि चलचित्र विकास बोर्डको अडिटोरियममा सुरु भएको हो ।

आउँदाे मङ्सिर २७ गतेसम्म चल्ने महाेत्सवकाे उद्घाटन सत्रलाई भारतका चर्चित वातावरण अभियन्ता तथा रोलेक्स अवार्ड विजेता सोनाम वाङचुकले विशेष सम्बोधन गर्नुभयो । यस पटक किम्फ फेस्टिभलको मुख्य थिम ‘क्लाइमेट कर्म’ राखिएको छ । वातावरण अभियन्ता तथा किम्फका प्रमुख अतिथि वाङ्चुकले हिन्दूकुश हिमालय क्षेत्रमा देखिएको जलवायु असरप्रति गम्भीर हुनुपर्ने बताउनुभयो ।

आमिर खानको चर्चित बलिउड फिल्म 'थ्री इडियट्स' वाङचुककै जीवनबाट प्रभावित छ । मानव सभ्यताको सबैभन्दा ठूलो खोजी प्रेम र सम्बन्ध रहेको चर्चा गर्दै अभियान्ता वाङ्चुकले जलवायु परिवर्तनको असरप्रति गम्भीर बन्न सरकार र नागरिक दुवै गम्भीर बन्नुपर्ने बताउनुभयो ।

यो वर्षको महोत्सवमा जलवायु परिवर्तनका असर चित्रण गरिएका, लैङ्गिक समानता र सशक्तीकरणका सन्देश दिने चलचित्रहरू किम्फमा देखाइने भएको छ । डकुमेन्ट्री, फिक्शन, प्रयोगात्मक, शर्ट र एनिमेशन गरी २८ देशका ६० भन्दा बढी चलचित्र अनलाइन र प्रत्यक्ष रूपमा देखाइने भएको छ । विश्वभर दर्शकले सबै चलचित्रलाई महोत्सव अवधिभर किम्फ फिल्म फेस्टिभलको पोर्टलमा हेर्न सक्नेछन् ।

महाेत्सवकाे शुभारम्भ काइली रुडिक निर्देशित १८ मिनेट लामो वृत्तचित्र ‘ड्रिम माउन्टेन’ प्रिमियरसँगै सुरु भयो । एक बच्चाकी आमासमेत रहेकी नेपाली महिला हिमाल आरोही पासाङ ल्हामु शेर्पाले गरेको सङ्घर्षपूर्ण हिमाल आरोहणको कथा यसमा समेटिएको छ ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो हुनेलाई दुई लाख रुपैयाँ, दाेस्राे हुनेलाई डेढ लाख र तेस्राे हुनेलाई एक लाख रुपैयाँ नगद दिइने भएको छ । नेपाली पानोरमामा उत्कृष्ट हुने वृत्तचित्रले ७५ हजार नगद र उत्कृष्ट आख्यानात्मक चलचित्रले एक लाख रुपैयाँ पाउनेछ । उत्कृष्ट माउन्टेन चलचित्रले एक हजार अमेरिकी डलर प्राप्त गर्नेछ ।  

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया