बर्दिया–बाँके कम्प्लेक्समा बुधवारदेखि बाघ गणना सुरु हुँदै

 मंसिर २८, २०७८ मंगलबार २०:२९:२४ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जको बर्दिया–बाँके कम्प्लेक्समा भोलि बुधवारदेखि क्यामेरा ट्र्यापिङ प्रविधिबाट बाघ गणना सुरु हुने भएको छ । भोलिदेखि बर्दियाबाट बाघ गणना सुरु गरिने बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

मङ्सिर २९ गतेदेखि क्यामेरा ट्र्यापिङ प्रविधिबाट बर्दिया–बाँके कम्प्लेक्समा बाघ गणना सुरु गर्ने तयारीका साथ गणनामा खटिनेहरूका लागि दुई दिनको विशेष तालिम दिइसकिएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताउनुभयाे । बर्दिया निकुञ्ज मुख्यालय ठाकुरद्वारामा एक औपचारिक कार्यक्रमको आयोजना गरी भाेलिदेखि बाघ गणनामा खटिने गणक टोली बर्दिया निकुञ्ज भित्र प्रवेश गर्ने उहाँले बताउनुभयो । 

हरेक चार वर्षमा बाघ गणना गर्ने गरिन्छ । राष्ट्रिय बाघ सर्वेक्षण अभियान अन्तर्गत देशैभरिका निकुञ्ज तथा आसपासका क्षेत्रमा रहेका बाघको सङ्ख्या पत्ता लगाउने उद्देश्यले देशभर तीन वटा कम्प्लेक्समा क्यामेरा ट्र्यापिङ प्रविधिबाट बाघ गणना सुरु गर्न लागिएको हो । 

मङ्सिर १९ गतेदेखि चितवन–पर्सा कम्प्लेक्समा बाघ गणना सुरु भइसकेको र चितवन–पर्सा कम्प्लेक्समा बाघ गणना सकिएलगत्तै शुक्लाफाँटा कम्प्लेक्समा बाघ गणना सुरु गरिने निकुञ्जले जनाएको छ ।

यसअघि सन् २००० मा बर्दिया राष्ट्रिय निकुञ्जमा ४० वटा बाघ रहेकामा द्वन्द्वकालका बेला चोरी सिकारका कारण सन् २००९ को बाघ गणनामा याे सङ्ख्या घटेर १८ पुगेको थियो । यस्तै सन् २०१३ मा गरिएको गणनामा बाघको सङ्ख्या बढेर ५० र सन् २०१८ को गणनामा अझ बढेर ८७ पुगेको तथ्याङ्क निकुञ्जले सार्वजनिक गरेको थियो । 

सन् २०१८ काे बाघ गणनामा बर्दिया निकुञ्जमा ८७ र नेपालकै सबैभन्दा कान्छो ११ वर्षअघि मात्रै घोषण भएको राष्ट्रिय निकुञ्ज बाँकेमा २१ वटा वयस्क बाघ रहेका थिए । सन् २०१८ को बाघ गणनाबाट बर्दिया–बाँके कम्प्लेक्समा एक सय आठ वटा वयस्क बाघ रहेको तथ्याङ्क छ । 

बर्दिया र बाँके राष्ट्रिय निकुञ्जका बर्दिया–बाँके कम्प्लेक्समा चार वटा ब्लक विभाजन गरी सात सय २२ ग्रिडमा बाघ गणना गरिने निकुञ्जले जनाएको छ । दुई किलोमिटर लम्बाइ र चौडाइको क्षेत्रलाई एउटा ग्रिड मानिन्छ र हरेक ग्रिडमा दुई वटा क्यामेरा राखिन्छ । 

हरेक दुई किलोमिटरको दुरीमा राखिएका क्यामेराले खिचेको फोटोबाट बाघका पाटा हेरेर गणना गरिने गरिन्छ । कुनै पनि वन्यजन्तुले ओहोरदोहोर गरेमा स्वचालित क्यामेराले तस्बिर लिन्छ । 

एक ठाउँमा १५ दिनसम्म झन्डै चार सय वटा क्यामेरा राखेर तस्बिर लिइन्छ । स्वचालित तरिकाबाट वन्यजन्तुको तस्बिर खिच्ने क्यामेराहरू १५ दिनपछि अर्को ब्लकको ग्रिडमा राखिन्छ । एक ठाउँबाट अर्को ठाउँमा राख्दा २० देखि २२ दिन लाग्ने भएकाले झन्डै तीन महिना लाग्ने प्रमुख संरक्षण अधिकृत श्रेष्ठको भनाइ छ ।

बर्दिया–बाँके कम्प्लेक्समा रहेका बाघको सङ्ख्या गणनाका लागि सात सय बाइस ग्रिडमा क्यामेरा राखिने र प्राविधिकसहित ९८ जना जनशक्ति खटिने बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताउनुभयो ।साथै बाघ गणना अवधिभर क्यामरा छुने/हटाउने काम नगर्न निकुञ्ज प्रशासनले सबैलाई अनुरोधसमेत गरेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ नेपाल, जेड एस एल नेपालको संयुक्त पहलमा बाघ गणना थालिएको हो । 

सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर अर्थात् दुई सय ५० पुर्‍याउने सरकारको लक्ष्य छ । अहिले नेपालभर बाघको सङ्ख्या दुई सय ३५ पुगेको तथ्याङ्क छ । 

यस वर्षको बाघ अनुगमनबाट देशैभरिका निकुञ्जमा बाघको सङ्ख्या वृद्धि हुने अनुमान गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार पछिल्ला केही वर्षयता गरिएको बाघ गणनामा बाघको सङ्ख्या बढ्दै गएका कारण बर्दिया र बाँके राष्ट्रिय निकुञ्जमा यस पटकको गणनामा पनि सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । 

बाघ संरक्षणमा नेपाल सरकारको जोड, निकुञ्ज प्रशासन, नेपाली सेनाको गस्ती, स्थानीयवासीकाे सहयोग, चोरी सिकार नियन्त्रणमा युवा परिचालनको निगरानीले गर्दा बाघको सङ्ख्या बढ्ने अनुमान गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया कार्यक्रमका प्रमुख डा. रबिन कडरियाले बताउनुभयो । 

राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया कार्यक्रमका प्रमुख कडरियाका अनुसार चार वर्ष यता बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने पूर्व–पश्चिम राजमार्गमा गाडीमा ठोक्किएर दुई वटा बाघको मृत्यु भएको छ । 

बाघ आतङ्क बढेपछि निकुञ्ज र जैविक मार्ग क्षेत्रबाट ६ वटा बाघ नियन्त्रणमा लिएर राखिएको छ । जसमध्ये एउटाको उपचारका क्रममा मृत्यु भएको छ । यस्तै विद्युतीय धराप, पासो र विष प्रयोगबाट गरी तीन वटा बाघ र निकुञ्जभित्रै कालगतिले सात वटा बाघ मृत फेला परेका थिए ।

भारतको कर्तनियाघाट वन्यजन्तु आरक्ष नजिक खाता जैविक मार्गसँग जोडिएको बर्दिया राष्ट्रिय निकुञ्जले ओगटेको नाै सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा बाघ गणना हुन लागेको हो । बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र पाँच सय सात वर्ग किलोमिटर रहेको छ । 

बर्दिया–बाँके कम्प्लेक्समा बाघ गणना भाेलिदेखि सुरु भइ फागुन मसान्तमा सकिनेछ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया