युवाको हत्यामा संलग्नलाई पक्राउ गर्न माग गर्दै सिरहाको गोलबजारमा प्रदर्शन

पूर्व–पश्चिम राजमार्ग बन्द, बजार तनावग्रस्त

 पुस ५, २०७८ सोमबार १४:५४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

सिरहा – सिरहाको गोलबजार तनावग्रस्त बनेको छ । गोलबजार नगरपालिका ६ का २६ वर्षका रामकुमार सदालाई छुरा प्रहार गरी हत्या गर्नेलाई प्रहरीले अझै पक्राउ गर्न नसकेको भन्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग नै बन्द गराएका गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले जानकारी दिनुभयो ।

हिजो आइतवार छुरा प्रहार गरी हत्या गर्ने अभियुक्तहरुलाई २४ घण्टाभित्र पक्राउ गर्ने प्रतिबद्धता प्रहरीले पूरा नगरेको भन्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग नै बन्द गरेका हुन् । सडक खुलाउन प्रहरीले माइकिङ गरे पनि प्रदर्शनकारीले प्रहरीमाथि नै ढुङ्गामुडा गरेका छन् । त्यसपछि प्रहरीले पनि लाठीचार्ज गरेको छ । प्रदर्शनकारी र प्रहरी दुवैतर्फका केही व्यक्ति घाइते भएका मेयर साहले बताउनुभयो ।

हिजो छुरा प्रहारबाट गोलबजार नगरपालिका ६ का २६ वर्षीय रामकुमार सदायको ज्यान गएको थियो । छुरा प्रहारबाटै उहाँका साथी निकेश सदाय गम्भीर घाइते हुनुहुन्छ । मृतकको शव भने परिवारले बुझेका छैनन् ।

छुरा प्रहार गरी हत्या गर्नेलाई पक्राउ गर्नुपर्ने, घाइतेको निःशुल्क उपचार र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने प्रदर्शनकारीकाे माग छ । उनीहरूले अपराधी ठूला व्यक्ति भएकाले प्रहरी आर्थिक प्रलोभनमा परेर पक्राउ गर्न नचहेको आरोपसमेत  लगाएका छन् । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया