दाहसंस्कार गरेको ६ वर्षपछि जब आमा साउदीको जेलमा जिउँदै भेटिइन्

मरेकी आमालाई जेलमा भेट्दा

 पुस १५, २०७८ बिहिबार १६:२७:२४ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाण्डौ – दाहसंस्कार गरेको छ वर्षपछि आमा साउदीको जेलमा जिउँदै भेटिँदा नवलपरासीको सुनवलकी सुशीला मगरका मनमा उब्जेको पहिलो प्रश्न थियो “मेरी आमाको नाममा साउदीबाट आएको त्यो लास कसको थियो?” त्यसपछि सुशीलालाई अनेक प्रश्नहरूले घेरेका छन् ।

सबै प्रश्न अनुत्तरित छन् । तर, सुशीला तीन वर्षदेखि एउटै प्रश्नको जवाफ खोज्दै हुनुहुन्छ “आमालाई मृत्युदण्डबाट कसरी बचाउने ?” 

कसको दाहसंस्कार थियो त्यो ?

सुशीलाले २०६८ सालमा साउदीबाट बाकसमा आएको आमाको शव पशुपति आर्यघाटमा दाहसंस्कार गर्नुभयो । लास आउँदा आमा साउदी गएको सात महिना मात्र भएको थियो । दाहसंस्कार गरेको ६ वर्षपछि सुशीलालाई काजकिरिया गरिसकेकी आमा साउदीमा जीवितै रहेको अर्को खबर आयो । 

खबर खुसीको थियो, तर अति अपत्यारिलो । छ वर्ष बिते पनि बाकसमा आएको आमाको शव आफ्नै हातले विमानस्थलबाट बुझेर पशुपतिमा दाहसंस्कार गरेको पीडा मनमा गाढै थिए । तर, उनै आमा साउदीको जेलमा जिउँदै रहेको खबर सुन्दा मनमा हर्ष र पीडाका लहर एकसाथ दौडिए । 

सरस्वतीकाे छाेरी सुशीला मगर

उहाँलाई यो खबर दिउँसै देखेको सपना सरह लाग्यो । तर, खबर दिने व्यक्ति साउदीमा रहेको नेपाली दूतावासका कर्मचारी थिए । उनले आफ्नो परिचय दिएर आमा सरस्वती घिमिरे साउदीको जेलमा थुनिएको खबर सुनाएका थिए । 

यो खबर सुनेपछि सुशीलाका मनमा फेरि प्रश्न बर्सिन थाले । त्यसो भए आफ्नै आमाको नाम र फोटो सहितको पासपोर्ट, मृत्यु दर्ताको प्रमाणपत्र र मृत्युको कारण खुलाएर बन्द बाकसमा साउदीबाट आएको लास कसको थियो ?

आफ्नी आमाको नाममा मैले कसलाई दागबत्ती दिएँ ? पशुपतिमा कसको दाहसंस्कार गरियो ? कसको बरखी बारियो ? यस्ता प्रश्नले घेरिन थालेपछि आमा जिउँदै भएको खबरले फुरुङ भएको सुशीलाको मन एक्कासि खङ्ग्रङ्ग भयो । 

मानमाथि भुक्तमान सहन नसकेपछि 

जन्डिसको कारण पहिलो श्रीमानको ज्यान गएपछि सरस्वती तीन सन्तान लिएर पर्वतबाट नवलपरासीको सुनवल झर्नुभएको थियो । सुशीलालाई आफूहरू पर्वतबाट मधेस झर्दाको मिति त याद छैन । तर सानैमा बुवा गुमाउँदा भोगेका सङ्घर्षका दिनहरू अहिले पनि ताजै छन् सुशीलाको मनमस्तिष्कमा ।

जेठी छोरी सुशीला र उहाँको भाइ सुनिललाई रुपन्देहीको खैरेनीमा रहेको माइती घरमा छाड्नुभयो सरस्वतीले । अनि कान्छी छोरी काखी च्यापेर सरस्वती होटेल व्यवसाय गर्ने भन्दै सुनवल आउनुभयो । 

सुनवलमा होटेल व्यवसाय गर्दागर्दै सरस्वतीले घिमिरे जातका केटासँग बिहे गर्नुभयो । तर बिहे गरेको केही वर्षपछि दोस्रो श्रीमान् एकाएक सम्पर्क विहीन भए । यो २०६८ सालको कुरा हो । दोस्रो श्रीमान् गुमाउनुको पीडाले सुशीलाकी आमा सरस्वती विक्षिप्त हुनुभयो ।

‘बुवा हराएपछि आमालाई निकै गाह्रो भयो, सबै मिलेर खोजी पनि गरेका हौँ, तर मानिस भेटिएन । केही समयपछि एउटा लास भेटियो, तर बुवाको हो कि हैन चिन्न सक्ने अवस्था थिएन’ सुशीला भन्नुहुन्छ ‘त्यो बेला आमालाई बुवा गुमाउनुको पीडा सहन गाह्रो भयो ।’ 

एकाएक कहाँ हराइन् आमा 

दोस्रो श्रीमान् पनि गुमाएपछि सरस्वती सबै कुरा छाडेर खैरेनीमा रहेको माइतीमै बस्न थाल्नुभयो । माइतीको सहारामा अघि बढ्ने कोसिस गरिरहेकी आमालाई कसले के सुनायो जान्नुहुन्न सुशीला ।

एकाएक कसैलाई जानकारी नै नदिई घरबाट आमा हिँडेको खबर पाउनुभयो सुशीलाले पनि । 

‘म त बिहे भइसकेको मान्छे, आमालाई ल्याएर त्यो बेलामा राख्न सक्ने अवस्था पनि थिएन, म सुनवलको घरमै थिएँ, खैरेनीबाट आमा हिँड्नुभयो भन्ने सुनियो,’ सुशीला आमा परदेश हिँड्दाको क्षण सम्झँदै भन्नुहुन्छ ‘त्यस्तो अवस्थाको मानिस कहाँ जानुभयो, के भयो केही जानकारी पाइएन, त्यो बेलाको जमाना अहिलेजस्तो सजिलो पनि थिएन ।’

नम्बर लिने र फोन गर्ने मान्छे को थियो ?

छोराछोरी कसैलाई केही खबर नगरी सरस्वती हिँडेपछि सबैतिर हराएको खबर फैलियो । छोराछोरीले केही महिना आमाको सोधखोज गरे पनि कुनै पत्तो मिलेन । घरबाट हराएको सात महिनापछि सरस्वतीको खबर आफै सुशीलाको आँगनमा आइपुग्यो ।

आमाको साथी दाबी गर्ने एक अपरिचित महिलाले सुशीलालाई घरमा आएर आमा साउदीमा रहेको र पैसा पठाउनका लागि नागरिकता नम्बर चाहिएको बताइन् । आमाको खबर ल्याउने ती महिला को हुन् भन्ने नचिने पनि सुशीलाले नागरिकता नम्बर दिएर पठाउनु भयो । 

साउदीबाटै परिवारले पाएकाे सरस्वतीकाे एकमात्र फाेटाे

‘हराएकी आमा कमाउन गएको खबर सुन्दा खुसी पनि लाग्यो, पैसा पठाउन तिम्रो आमाले फोन नम्बर र तिम्रो नागरिकता नम्बर मागिदेऊ भनेको छ भनिन्, नागरिकता नम्बर र फोन नम्बर दिएर पठाएँ’ सुशीला सुनाउनुहुन्छ ।

‘आमाको नाम लिएर लास लिन आइज भन्दा कसरी पत्याउनु ? नपत्याउनु पनि कसरी !’ आमाले संसार छाडेको खबर सुन्दाको क्षण सम्झँदै सुशीला भन्नुहुन्छ ‘सपनामा कसैसँग भएको कुराकानी झैँ लाग्यो ।’ 

नम्बर दिएपछि आमाको फोन आउने पर्खाइमा हुनुहुन्थ्यो सुशीला । मोबाइलमा बज्ने हरेक घण्टी आमाकै हो कि झैँ लाग्थ्यो सुशीलालाई त्यो बेला । करिब साता दश दिनपछि एउटा अपरिचित नम्बरबाट फोन आयो । 

फोनमा सोधियो ‘सुशीला हो ।’ 

सुशीलाले भन्नुभयो ‘हो ।’ 

आमाको फोन कुरेर बसेकी सुशीलाले आमा मरेको अप्रत्याशित खबर सुन्नपर्‍यो । फोनमा बोल्नेले भने ‘म एयरपोर्टबाट बोलेको, तपाईँको आमाको लास आएको छ, लास लिन जतिसक्दो छिटो काठमाण्डौ एयरपोर्टमा आउनुस् ।’

सात महिनादेखि हराएकी आमाको फोनको घण्टी कुरिरहेका बेला आएको अप्रत्याशित खबरले सुशीलाका हात गोडा लल्याक लुलुक भए । बोल्न खोजेका शब्द घाटीमै अड्किए । फोन गर्ने मानिसले भनेका कुरा चुपचाप सुनिमात्र रहनुभयो । 

‘आमाको नाम लिएर लास लिन आइज भन्दा कसरी पत्याउनु ? नपत्याउनु पनि कसरी !’ आमाले संसार छाडेको खबर सुन्दाको क्षण सम्झँदै सुशीला भन्नुहुन्छ ‘सपनामा कसैसँग भएको कुराकानी झैँ लाग्यो ।’ 

१० वर्षको उमेरमै बुवा गुमाएकी सुशीलाले स–साना दुई भाइबहिनी हुर्काउन एक्ली आमालाई भरथेग मात्र गर्नुभएन सङ्घर्ष झेल्दै उहाँको जीवन अघि बढ्यो । अनि अब त केही होला कि भन्ने आशाको मुना पलाउँदै गर्दा थाहै नदिई घरबाट हिँडेकी आमाको लास लिन आइज भन्ने खबर कल्पना पनि गर्न नसक्ने थियो । 

तर मानिसले जीवनमा आइपरेका हरेक परिस्थितिको सामना गर्नुपर्छ र गर्छ पनि । सुशीलाले पनि पोखरामा रहेकी ठुली आमाकी छोरीलाई फोन गर्नुभयो । खबर सुनेको भोलिपल्ट बिहानै काठमाण्डौ पुग्ने बस चढ्नुभयो । पोखराबाट आएकी ठुली आमाकी छोरी गीता र उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभयो । 

विमानस्थलबाट शव बुझ्न गर्नुपर्ने प्रक्रिया सबै पूरा गर्नुभयो । विमानस्थलका प्रहरीको सहयोगमा शव बुझेर दाहसंस्कार गर्न पशुपति आर्यघाट लाग्नुभयो । त्यहाँ आफन्तहरू जम्मा भैसकेका थिए । चितामा राखेर आर्यघाटमा आमाको शव हेर्नु पनि भयो । तर शव चिन्न सकिने खालको अवस्थामा थिएन ।  

अज्ञात लासमा आएको आमाको पासपोर्ट 

‘शरीर पुरै कालो भएको थियो, आँखा भित्र गढेका थिए, गाला र गिजा पनि चाउरिएको, दाँत मात्र देखिन्थ्यो, लासको अवस्था हेर्दा प्राण गएको धेरै समय भएको जस्तो लाग्थ्यो’ पछुतो मान्दै सुशीला भन्नुहुन्छ ‘कागजात आमाकै नामको थियो, पासपोर्ट र फोटो पनि आमाकै थियो, मेरी आमा होइन होला भनेर कसरी सोच्नु र ?’

मा गुमाउँदाको गह्रौँ मन, आँखा भरी आशु र आमाको सम्झना स्वरूप पासपोर्ट बोकेर सुशीला नवलपरासी फर्कनुभयो । छोरा सुनिल गुरुङ (पहिलो श्रीमानपट्टिका छोरा)ले आफ्नो संस्कार अनुसार आमाको काजकिरिया गर्नुभयो । 

सुशीलाका अनुसार मेडिकल रिपोर्टमा क्षयरोगको कारण आमाको ज्यान गएको भनेर लेखिएको थियो । आमाले खाने गरेका भनेर केही औषधि पनि बाकसमा राखिएका थिए । आमाको औषधि, मेडिकल रिपोर्ट र बाकससँगै आएका कागजात पनि आमाकै चितामा राखेर सुशीलाले दागबत्ती दिनुभयो ।

आमाको शरीर केही घण्टामा जेलर खरानी भयो । आमा गुमाउँदाको गह्रौँ मन, आँखा भरी आशु र आमाको सम्झना स्वरूप पासपोर्ट बोकेर सुशीला नवलपरासी फर्कनुभयो । छोरा सुनिल गुरुङ (पहिलो श्रीमानपट्टिका छोरा)ले आफ्नो संस्कार अनुसार आमाको काजकिरिया गर्नुभयो । 

आमा हराउँदा दशैं तिहार सकिएको थियो भने आमाको लाश लिन जाँदा काठमाण्डौमा समेत जाडो हराएको थियो । सुशीलालाई आमा मंसीरमा हराएको र लास चैत वैशाखमा आएको जस्तो लाग्छ । 

आमाका नामको लगेज कसको थियो ?

आमाको दाहसंस्कार गरेको झण्डै एक डेढ महिनापछि सुशीलाकै नाममा एउटा लगेज आयो साउदीबाट । आमाकै सरसामान ठानेर सुशीलाले लगेज लिनुभयो । तर लगेज खोल्दा अपरिचित महिलाको केही कागजात, नागरिकता र लुगाफाटो रहेछ । त्यसमा एउटा सम्पर्क नम्बर पनि थियो ।

सुशीला भन्नुहुन्छ ‘त्यो नम्बरमा फोन गरेर हामीले त्यो लगेज लान भन्यौँ । फोन गरेपछि उनीहरू लिन आए, हामीले लगेज उनीहरूलाई दियौँ, दाङतिरका हुन् जस्तो लाग्छ । हामीले चासो राखेनौँ त्यो बेलामा ।’

मरेकी आमालाई जेलमा भेट्दा

आमाको काजकर्म गरेको लगभग चार वर्षपछि छोरा सुनिल रोजगारीका लागि साउदी जानुभयो । घर व्यवहार, बालबच्चा यस्तैमा बित्दै थिए सुशीलाको दिन पनि । समयसँगै आमाको सम्झनाहरू धमिलिँदै जान थालेका थिए । तर, एक दिन आमाका सम्झनालाई गाढा बनाउने गरी सुशीलाको मोबाइलमा फेरि अर्को घण्टी बज्यो ।  

सरस्वतीका छाेरा सुनिल

काठमाण्डौबाट शारदा घिमिरे नाममा आएको फोनले फेरि आमाको अर्को खबर दियो । खबर फेरि पनि अपत्यारिलो थियो । त्यो खबर काजकिरिया गरेकी आमा जिउँदै भेटिएको खबर थियो । पत्याउँ, कसरी पत्याउने ? तर फोन गर्ने महिलाले भनिन् ‘तिम्रो आमा साउदी एयरपोर्टमा दुःख पाएर बसेको छ, अब तिम्रो आमाको उद्धार गर्नुपर्छ भन्नुभयो,’ सुशीला त्यो अपत्यारिलो खबर सुन्दाको क्षण सम्झँदै भन्नुहुन्छ ‘मलाई त पत्यारै लागेन, आफ्नै हातले दागबत्ती दिएकी आमा कसरी साउदीमा हुनुजस्तो लाग्यो ।’

आमा सरस्वती साउदीमा जीवितै रहेको कुरा भनेपछि भने सुशीलालाई चमत्कारै भए झैँ लाग्यो । 

आमाको बारेमा यो खबर पाएपछि कुन झुटो र कुन सत्य हो भन्ने ठम्याउन नसकेर उहाँको दिमाग धेरैपल्ट चक्करायो । सोच्नुहुन्थ्यो मरिसकेको मानिस जिउँदो कसरी हुन्छ ? आफ्नी मरिसकेकी आमाको नाममा कसैले आफूलाई बारम्बार जिस्क्याएको जस्तो पनि लाग्यो ।  मरिसकेकी आमाको बारेमा किन यस्ता खबर आउँछन् भनेर आफूसँगै रिसाउनुभयो पनि ।

शारदा घिमिरेले फोन गरेको एक महिनापछि फेरि अर्को फोन आयो । त्यो फोनले पहिलेको अपत्यारिलो खबरलाई सत्य साबित गरी दियो । त्यो फोन साउदीमै रहेको नेपाली दूतावासको कर्मचारीले गरेका थिए । उनले आमा सरस्वती साउदीमा जीवितै रहेको कुरा भनेपछि भने सुशीलालाई चमत्कारै भए झैँ लाग्यो । 

‘दूतावासबाट सुनवल १ नम्बर वडामा फोन गरेको रहेछ, त्यहाँबाट मलाई खबर गर्नुभयो, मैले आफ्नो नम्बरहरू दिएपछि दूतावासबाट भरत नाम गरेको सरले मलाई आमा जिउँदै भएको र साउदीमा जेल परेको कुरा भन्नुभयो तर मलाई पत्यार लागेन,’ आमा जीवितै भएको खबरले सुशीलालाई यस पटक भने खुसीभन्दा बढी अनौठो पीडा दियो । 

‘मेरी आमा जिउँदै छन् भने, मेरो आमाको नाममा कसको शव आयो, मैले कसको दाहसंस्कार गरे त ?’ पुनः मनमा यही प्रश्नले घोच्यो ।

दूतावासका कर्मचारीलाई सुशीलाले मेरो आमा जिउँदै भएको प्रमाण देऊ भन्नुभयो । दूतावासले यकिनका साथ जीवित रहेको तर जेलमा भएको कुरा गरेपछि भने उहाँले साउदीमै काम गरिरहेका भाइ सुनिललाई आमासँग भेटाइदिन आग्रह गर्नुभयो । 

किरिया गरिसकेकी आमालाई जीवितै भेट्दा

आमाको काजकिरिया गरेको चार वर्षपछि साउदी गएका सरस्वतीका छोरा सुनिल त्यो बेला दमाममा काम गर्नुहुन्थ्यो । साउदी गएको डेढ वर्षजस्तो हुँदै थियो ।

भौगोलिक हिसाबले दमामबाट दूतावास रहेको साउदीको रियाद सहर आउन सहज छैन । टाढा पर्छ । आफूलाई चाहिएको बेलामा कम्पनीले छुट्टी दिदैन । तर आमासित भेट गराउने सबै बन्दोबस्त र समन्वय दूतावासले नै गरिदियो । 

‘दूतावासले नै कम्पनीमा चिठी पठाएछ, त्यसपछि मलाई कम्पनीले बिदा दियो, दुई दिनको बिदा लिएर म रियाद गएँ,’ अहिले त साउदीमा काम गरेर नेपाल फर्किसकेका सुनिल भन्नुहुन्छ ‘दूतावासकै भरत सरले मलाई रिसिभ गरेर आमा रहेको जेलमा लैजानुभयो ।’

सुनिलले आफैले किरिया गरिसकेकी आमालाई आफ्नै सामुन्ने देख्नुभयो । हेर्दा आफ्नै आमा हो । काजकिरिया गरिसकेकी आमालाई आफ्नै अघिल्तिर देख्दा सुनिललाई एक पल त सपना झैँ लाग्यो । तर कहिलेकाहीँ मानिसका भोगाइ सपनामा पनि नदेखिने खालका हुन्छन् ।

‘आमाले मलाई त सानैमा छाडेको चिन्न गाह्रो भयो, तर मैले त चिनी हालेँ, कालो बुर्का लगाउनुभएको रहेछ, आँखामा चस्मा, पहिलेभन्दा मोटाउनु पनि भएको रहेछ’ आमालाई भेट्दाको त्यो खुसी सम्झँदै सुनिल भन्नुहुन्छ ‘मेरो आमा जस्तै, बोली पनि उस्तै भएको अरू मान्छे त होइन जस्तो पनि लाग्यो, तर होइन रहेछ नि हाम्रा आमा हुनुहुँदो रहेछ ।’

मेरो हातमा चक्कु थमाएर बाथरुममा थुनेर पुलिस बोलाई । त्यो बेलामा म भाषा बुझ्दैन थिएँ, बोल्न पनि जान्दिन थिए, त्यसैले मलाई फसाइयो’ आमासँग भएको कुराकानी सम्झँदै सुशीला भन्नुहुन्छ ‘मरिसकेकी आमासँग फेरि कुरा गर्न त पाइयो, तर समयले हामीलाई साह्रै ठग्यो ।’

सुनिलका अनुसार उहाँले आमालाई भेट्दा सरस्वतीले जेलमा पाँच वर्ष बिताइसक्नुभएको थियो  । सुनिल र आमाबीचमा एउटा सिसाको बार थियो । त्यही सिसाबाटै भए पनि सुनिलले आमाको कुरा सुन्नुभयो । 

सुनिलका अनुसार आमा सरस्वतीले आफू निर्दोष रहेको र आफूलाई साहुनीले हत्याको अभियोगमा फसाएको कुरा सुनाउनुभयो । 

‘म माथिल्लो तलामा थिएँ, तल साहुलाई कसले मार्‍यो मार्‍यो, त्यो मान्छेले पछि मेरो हातमा चक्कु थमाएर बाथरुममा थुन्यो र पुलिसलाई फोन गरेर मलाई साहु मारेको आरोप लगायो भन्नुभयो’ सुनिल आमाले आफूलाई सुनाएको कुरा सुनाउनुहुन्छ । 

सरस्वतीले छोरासँग आफू निर्दोष भएकै कारण अहिलेसम्म फाँसी नदिएको र आफू छिट्टै छुट्ने आशा पनि व्यक्त गर्नुभयो । 

मरिसकेकी आमालाई भेट्दाको खुसी र आमालाई लागेको हत्याको अभियोगबारे कुरा गर्दागर्दै जेलले दिएको १५ मिनेटको समय सकियो । 

जेलमै सही तर आफूले किरिया गरिसकेकी आमालाई भेट्न पाउँदाको खुसी बोकेर सुनिल काममा फर्कनुभयो । सुनिलले आमालाई भेटेपछि छोरी सुशीलाले पनि आमा सरस्वतीसँग कुरा गर्नुभयो । छोरीसँग पनि सरस्वतीले आफू निर्दोष रहेको कुरा दोहोर्‍याउनुभयो । 

‘साहु साह्रै सोझो थियो । साहुनीको सम्बन्ध अरू मानिससँग पनि थियो । साहुले यो कुरा थाहा पाएपछि साहुनीले नै साहुलाई मारेर मलाई आरोप लगाइ । मेरो हातमा चक्कु थमाएर बाथरुममा थुनेर पुलिस बोलाई । त्यो बेलामा म भाषा बुझ्दैन थिएँ, बोल्न पनि जान्दिन थिए, त्यसैले मलाई फसाइयो’ आमासँग भएको कुराकानी सम्झँदै सुशीला भन्नुहुन्छ ‘मरिसकेकी आमासँग फेरि कुरा गर्न त पाइयो, तर समयले हामीलाई साह्रै ठग्यो ।’

त्यो कसको किरिया भयो ?

आफ्नै आमा ठानेर किरिया गरे पनि सुशीला र सुनिलले आमा जीवितै भेटेको झण्डै ४ वर्ष पुग्न लाग्यो । ५४ वर्षको उमेरमा सरस्वती अहिले साउदीको रियादस्थित मालाज सुजिन जेलमा हुनुहुन्छ । बेलाबेलामा छोरी सुशीलालाई आमाको फोन पनि आउँछ । 

मरिसकेकी आमालाई जीवितै पाउँदा रमेको सुनिल र सुशीलाको मन घरीघरी छट्पटाउँछ । हाम्री आमा जिउँदै छन् भने किरिया कसकी आमाको गरियो होला ? कसको लासलाई दागबत्ती दिए होला ? सुशीलालाई यही कुराले सताउँछ। 

जीवितै रहेकी आमाको नाममा, आमाकै पासपोर्ट सहित अरू कसको लास आयो होला ? सुशीला आफूले आफूलाई प्रश्न गरिरहनुहुन्छ । तर मनको प्रश्न कसलाई सोध्ने जान्नुहुन्न उहाँ । सरस्वतीलाई कसले कसरी साउदी पुर्‍यायो भन्ने पनि थाहा छैन परिवारमा । 

घरी घरी सोच्नुहुन्छ, आमाको लास आएको केही महिनापछि आएको लगेज जसको थियो, शव पनि कतै उनैको त थिएन ? यदि थियो भने पनि त्यो परिवारलाई कसरी भेट्ने हाला ? लगेज लाने मानिसको सुशीलासँग कुनै जानकारी छैन । कुन जिल्लाको हुन् भन्ने पनि याद छैन । 

‘उनीहरूले त्यो बेलामा आमा त आउनुभएको छैन, सामान चाहिँ कसरी आएछ भनेका थिए, तर हामी आफ्नो आमा गुमाउनुको पीडामा थियौँ, न उनीहरूको कुरा राम्रोसँग सुनियो, न त उनीहरूको कुनै विवरण राखियो,’ सुशीला त्यो बेलामा उनीहरूको विवरण नराखेकोमा अहिले पछुताउनु हुन्छ ।

जीवितै रहेकी आमाको नाममा, आमाकै पासपोर्ट सहित अरू कसको लास आयो होला ? सुशीला आफूले आफूलाई प्रश्न गरिरहनुहुन्छ । तर मनको प्रश्न कसलाई सोध्ने जान्नुहुन्न उहाँ । सरस्वतीलाई कसले कसरी साउदी पुर्‍यायो भन्ने पनि थाहा छैन परिवारमा । 

अब मरेर पनि बाँचेकी आफ्नी आमालाई जीवितै नेपाल ल्याउन मन छ । तर, साउदीबाट फोन गर्दा सरस्वती डरलाग्दो कुराहरू सुनाउनुहुन्छ बेलाबेला । 

‘अस्ति फोन गरेका बेलामा मलाई अब एक महिनामा फाँसी दिन्छन् रे नानी, मैले कसैको हत्या गरेको छैन, मलाई जेलबाट छुटाउन पहल गर भन्नुभयो, कसरी पहल गर्नु जहाँ जान्छौँ त्यहाँबाट आशाभन्दा बढी निराशा नै पाइयो,’ सुशीला दुखेसो पोख्नुहुन्छ ।

छोरी सुशीलाको अनुसार आफ्नो मृत्यु नजिकिएको कुरा सुनेर आत्तिनुभएको छ सरस्वती पनि । तर परदेशी भूमि, हत्याको अभियोग अनि अदालतको फैसला कसले टार्ला ? सुशीला घरीघरी निराश हुनुहुन्छ ।

आमाको उद्धार कसले गरिदेला ?

आमाले अब एक महिनामा आफूलाई मृत्युदण्ड दिने कुरा सुनाएपछि उहाँ काठमाण्डौ पनि आउनुभयो । आमासँग कुराकानी हुन थालेपछि सुशीलाले उद्धारको पहल पटक पटक गर्नुभयो । सबैभन्दा पहिला नवलपरासीकै ठुटीबारी नाकामा बस्ने माइती नेपालका कर्मचारीसँग आमाको उद्धारको कुरा गर्नुभयो । 

सबैले आमाको उद्धारका लागि उहाँलाई काठमाण्डौ जान सुझाए । 

आमाको उद्धार गरी पाउन १५ दिन अघि काठमाण्डौ पुगेर सुशीलाले कन्सुलर अफिसमा निवेदन दिएर जवाफ आउँछ कि भनेर केही दिन पर्खिनुभयो । सुशीलाले भन्नुहुन्छ ‘उहाँहरूले केही भन्नुहोला कि भनेर तीन दिनसम्म कुरेर बसियो काठमाण्डौमा, केही पनि कुरा नभनेपछि नवलपरासी फर्कियौँ ।’

सरस्वतीसँग तीन छाेराछाेरी

सुशीला र उहाँको परिवारले आमाको लास ०६८ सालमै आएको र काजकिरिया गरेको बताएको छ । तर साउदीमा रहेको नेपाली दूतावासका अनुसार सरस्वतीलाई आफूले काम गरिरहेको घरका मालिकलाई हत्या गरेको अभियोगमा २०७० भदौ २३ गते (सेप्टेम्बर ८, २०१३) पक्राउ गरिएको थियो । त्यसको १३ महिनापछि अदालतले सरस्वतीलाई मृत्युदण्डको फैसला सुनाएको थियो । 

अदालतबाट दूतावासले पाएको जानकारी अनुसार, सरस्वतीले आफूले हत्या गरेको स्वीकार गरी कागजमा सही समेत गरेकोले उहाँलाई २०७१ मङ्सिर २४ गते (डिसेम्बर १०, २०१४) का दिन साउदीको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । र, त्यसबाट सरस्वतीलाई बचाउने एक मात्र उपाय मृतकको परिवारले दिने आममाफी मात्र हो, जुन दूतावासकै लागि पनि अत्यन्त असजिलो काम हो ।  

साउदीमा रहेको नेपाली दूतावासका सूचना अधिकारी ऋषिराज आचार्यका अनुसार, पीडित परिवारले माफी दिएमा मात्र उहाँको ज्यान बच्नेछ । दूतावासले परिवारलाई भेट्न र कुरा गर्ने प्रयास गरिरहेको भए पनि मृतकको परिवारले दूतावासलाई भेट्न र कुरा सुन्न अस्वीकार गर्दै आएको छ । आचार्य भन्नुहुन्छ ‘तर दूतावासले हार मानेको छैन ।’

दूतावासले पछिल्लो समय कारागार प्रशासनलाई सरस्वतीसँग भेट्ने समय मिलाइदिन अनुरोध सहित पत्राचार गरेको र अदालतका अधिकारीहरूसँग पनि छलफलका लागि अनुरोध गरिएको जानकारी सूचना अधिकारी आचार्यले दिनुभयो ।  

सुशीला र सुनिलको मन आमाले मृत्युदण्ड पाएको खबर सुन्नुपर्ला भन्ने कल्पना गर्दा पनि काम्न थालेको धेरै भयो । अब दोस्रो पटक आमा गुमाएको खबर सुन्ने हिम्मत छोराछोरीले जुटाउन सकेका छैनन् । 

‘जेल प्रशासन र अदालतका अधिकारीहरूबाट छिट्टै समय पाउँछौ भन्ने दूतावासको आशा छ, यही बीचमा हामीले सरस्वतीको मृत्युदण्डलाई केही समय भए पनि पछि सार्नका लागि स्वेच्छिक न्याय सेवा दिने वकिलहरूसँग पनि समन्वय पनि गरिरहेका छौँ’ सूचना अधिकारी आचार्यले भन्नुभयो ।

अदालतले मृत्यु दण्डको सजायसहित फैसला गरे पनि मृत्युदण्ड कहिले दिइन्छ भन्ने यकिन हुँदैन । यता सुशीलालाई भने नेपालमै भए त आमालाई माफी दिन, माफी नभए पनि ब्लड मनी लिन अनुरोध गर्थेंजस्तो लाग्छ । 

‘घरबारी बेचेर भए पनि आमालाई बचाउन हुन्थ्यो, तर साउदीका मानिससँग कुरा गर्न सम्भव भएन’ सुशीला भन्नुहुन्छ । 

सुशीला र सुनिलको मन आमाले मृत्युदण्ड पाएको खबर सुन्नुपर्ला भन्ने कल्पना गर्दा पनि काम्न थालेको धेरै भयो । अब दोस्रो पटक आमा गुमाएको खबर सुन्ने हिम्मत छोराछोरीले जुटाउन सकेका छैनन् । 

सुशीला भन्नुहुन्छ ‘एक पटक मरेर पनि जीवितै भेटिएकी आमा, फेरि मर्दै छिन् भन्ने खबर सुनेदेखि हाम्रो मन र मुटु काँपेकाे काँप्यै छ । हाम्रा दिनहरू अँध्यारो भएर बित्छन् ।’

अनुत्तरित प्रश्नहरू

काजकिरिया गरिसकेकी आमा साउदीको जेलमा जीवितै भएको खबर सुनेदेखि सुशीलाको मनमा थुप्रै अनुत्तरित प्रश्नहरू छन् । कसको कुरा पत्याएर आमा घरका कसैलाई केही नभनी हराइन् ? विदेश लैजानेले आमालाई किन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नलगेर अन्तैबाट लग्यो ? आमालाई कुन बाटोबाट कसले साउदी पुर्‍यो होला ? 

वैदेशिक रोजगारीमा जान सही बाटो प्रयोग नगरेकाले सरस्वती कुन मितिमा साउदी पुग्नुभयो भन्ने जानकारी परिवारसित छैन । न त उहाँलाई साउदी पुर्‍याउने एजेण्ट को हुन् भन्ने जानकारी नै छ ।

आमाको लास आउनु एक हप्ताअघि तिम्रो आमाले पैसा पठाउँछु भनेको छ भन्दै सुशीलासँग फोन नम्बर र नागरिकता नम्बर माग्न आउने मान्छे को थियो होला ? फोन र नागरिकता नम्बर दिएको साता दश दिनमै विमानस्थलमा कसको लास आएको थियो ? त्यो लास आउनु संयोग मात्र थियो कि नियोजित घटना ? 

सरस्वती घरबाट हराएको २०६८ सालको दशैंताका हो । त्यो बर्षको अन्त वा वैशाखमा सरस्वतीको पासपोर्टसहित सुशीलाको नाममा कसले, कहाँबाट कसको लास पठायो होला ?

आमा बितेको केही समयपछि फेरि सुशीलाकै नाममा अपरिचित मानिसको लगेज कसरी आयो होला ? आफ्नी आमा जीवित हुँदा हुँदै सुशीलाको नाममा कसले कसको लास पठायो ? र कसले उहाँलाई नमरेकी आमाको किरिया गर्ने बाध्यता खडा गर्‍यो ?  

साउदीमा रहेको नेपाली दूतावासले सोधखोज गर्दा सरस्वतीले ८ सेप्टेम्बर २०१३ अर्थात् २०७० साल भदौ २३ गते हत्या गरेको कागजमा भेटिन्छ ।

तर, छोरी सुशीलाले दिएको जानकारी अनुसार त्यसको करिब दुई वर्ष अघि नै सरस्वतीको पासपोर्ट सहित लास आएको छ । जबकि साउदीको अदालतले उहाँलाई १० डिसेम्बर २०१४ अर्थात् २०७१ मङ्सिर २४ गते मात्र मृत्युदण्डको फैसला सुनाएको छ । 

साउदीको सरकारी तथ्याङ्कबाट दूतावासले बटुलेको जानकारीका आधारमा हेर्दा सरस्वतीको पासपोर्टसहितको लास नेपाल आउँदा उहाँ साउदीमा कार्यरत नै हुनुहुन्थ्यो । सरस्वती साहुको घरमा जिउँदै काम गरिरहेको बेला सरस्वतीको पासपोर्ट मरेको मान्छेको बाकसमा कसरी आयो ?

आमा बितेको केही समयपछि फेरि सुशीलाकै नाममा अपरिचित मानिसको लगेज कसरी आयो होला ? आफ्नी आमा जीवित हुँदा हुँदै सुशीलाको नाममा कसले कसको लास पठायो ? र कसले उहाँलाई नमरेकी आमाको किरिया गर्ने बाध्यता खडा गर्‍यो ?  

यस्ता अनेक प्रश्नहरूले सुशीलाका दिन र रातहरू बिथोलेका छन् । तर तीन वर्षदेखि सुशीला “आमालाई मृत्युदण्डबाट कसरी बचाउने ?” भनेर एउटै प्रश्नको जवाफ खोज्दै हुनुहुन्छ । 

(नवलपरासी पश्चिमबाट पुरन अधिकारीको सहयोगमा )

अन्तिम अपडेट: माघ ३, २०७८

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

2 Comments

  • MC

    Dec. 30, 2021, 9:27 p.m.

    यो कथाले मन नै कुटुक्क खायो ...अनि मन भित्रै तडपिए जस्तो पनि भयो /हामी नेपालीले कहिलेसम्म अर्काको देशमा गुलामी गर्न जानुपर्ने हो ...समयले कोल्टे फेरें भनेत सजिलै घर फिर्ने होला ...तर यो कथाको पात्र जस्तै जीवनमा ट्वीस्ट आयो भने ....केही परिवारको नरकमा बाँचे सरह हुने होला, जसले सम्बन्धित देशलाई पनि मर्माहित बनाइदिन बाध्य पार्दोरहेछ / आउने दिनमा अझ शसक्त कथाको अपेक्षा गर्दछु ...लेखनमा अझै उचाई मिलोस् /

  •  0 Reply
  • Udaya Bc

    Dec. 30, 2021, 5:33 p.m.

    खबर सुन्दा अच्चमा र खुसी पनि लाग्यो, सरस्वती जस्तै धेरै महिलाले विदेशी भूमिमा यस्तै पीडा भोग्दै आएका छन्, समयमै उनलाई उद्धार गर्न राज्य पक्षले पहल गरे राम्रो हुन्थ्यो कि ।

  •  0 Reply

तपाईको प्रतिक्रिया