बझाङ : बाढी–पहिराेकाे मार थेग्न पुरुषहरू भारत गएपछि भुवा पर्व प्रभावित

 पुस १९, २०७८ सोमबार १९:४७:५९ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – ढाल, तरबारसहित नाचिने भुवा पर्व सुदूरपश्चिम प्रदेशमा सुरु भएको छ । कौरव र पाण्डवको युद्धको सम्झनामा नाचिने यो पर्व प्रत्येक वर्षको पौष औँसीका दिन मसाल (राँको) सल्काएर सुरु हुने गर्दछ ।

बझाङका विभिन्न गाविसका ८० भन्दा बढी गाँउमा यो पर्व मनाइने गरिएको छ । तर असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको बेमौसमी वर्षासँगै आएको बाढी, पहिरोले परेको मार थाम्नका लागि पुरुषहरू गाउँ छाडेर भारत गएकाले धेरै गाँउमा यो वर्ष भुवा पर्व प्रभावित भएको छ । 

गाउँका सबैजसो पुरुष भारततिर गएका छन् । भुवा नाच्ने मान्छे नै छैनन् । त्यही भएर हाम्रो गाउँमा राँको हालेनौँ, खप्तडछान्ना गाउँपालिकाका सुवास खड्काले भन्नुभयाे, पोहोर–परार विदेश गएकाहरू पनि भुवा पर्वमा घर फर्किसक्थे । यो वर्ष कोही पनि आएनन् बरु जाने क्रम अझै रोकिएको छैन ।

औसीँको दिन गाउँका प्रत्येक घरबाट बाल्नका लागी मुढा माग्ने र राति भुवाखाडा (भुवा नाच्ने चौर) मा ठूलो आगो बालेर हातमा राँको सल्काइ भुवा नाचको सुरु गर्ने गरिन्छ । गाउँमा पुरुषहरू नभएकै कारण भुवाको लागि प्रख्यात मानिने सिरेटा, भण्डार, कोटदेवल, रनाडा, भिनमड लगायत दर्जनाैँ गाउँमा यसपालि यो पर्व नमनाइएको त्यहाँका स्थानीयवासीले बताएका छन् । 

बाजाको तालमा खुकुरी, तरबार र ढालसहित पुरुषहरूले प्रदर्शन गरेको युद्धकला हेर्नका लागि केही गाँउमा भने दर्शकहरूको भिड भएको छ । भुवाको रौनकले महिला बालबालिकादेखि वृद्धवृद्धा सबैलाई तानेको छ ।   

महाभारतकाे समयमा कौरव र पाण्डवबीच भएको युद्धकाे कथालाई एक समूहले लयात्मक शैलीमा भट्याउने र अर्काे समूहले  हात र खुट्टाको चालमा नाच्ने गर्दछन । कुरुक्षेत्रको युद्धभन्दा पहिले पाण्डवहरू वनवास भएका बेला भेष बदलेर हिमालय पर्वतदेखि भारत वर्षका विभिन्न ठाउँमा घुमेको र त्यहाँ विकास निमार्णका काम गर्नका लागि स्थानीयवासीको सहभागिता जुटाएको र विभिन्न गाउँमा भुवा पर्वको आयोजना गरी युद्ध अभ्यास गराएको कथाहरू पनि यस नाचमा प्रस्तुत गर्ने गरिन्छ । 

अन्तिम अपडेट: चैत २०, २०७८

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया