अहिलेसम्मका सबै कुरा बिर्सेर देशका लागि खेल्ने हो, विश्व कपमा छनोट हुनुपर्छ : मल्ल

 पुष २०, २०७८ मंगलबार १४:५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : फेसबुक

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अब पुराना सबै कुरा बिर्सेर देशका लागि खेल्ने बताएका छन् । बन्द प्रशिक्षणका लागि आज मङ्गलवार त्रिवि मैदान कीर्तिपुर पुगेका मल्लले विगतमा जे–जस्तो भए पनि अब विश्व कपमा छनोट हुने लक्ष्य लिएर खेल्ने बताएका हुन् । 

‘अब व्यक्तिगत रिसइबी त्यागेर देशका लागि खेल्ने हो, बोर्ड र खेलाडी एक ठाउँमा बस्नुपर्छ र हामीले नै क्रिकेट अघि बढाउनुपर्छ भन्ने लाग्यो । जे भयो भयो, अबको दिनमा राम्रोसँग अघि बढ्ने हो’, ज्ञानेन्द्र मल्लले भने ।

अहिले पनि क्यान र पदाधिकारीसँग सम्बन्धमा दरार आएको वा झगडा नै परेजस्तो गरी बाहिर आए पनि निकै राम्रो सम्बन्ध रहेको मल्लको भनाइ छ । आफूहरूले कुनै व्यक्ति र संस्थाको विरोध नगरि आफ्ना गुनासा राख्दा विषय लम्बिएको र विवाद जस्तो देखिन पुगेको उनी बताउँछन् । 

क्यानले खेलाडीको वर्गीकरण र तलब भत्ता लगायतका विषयमा पहिल्यै आफूहरूको माग सुनेको भए यस्तो अवस्था नआउने मल्लले बताए । कप्तानबाट हटाउँदा अलिकति दुःख लागेको तर आफू सधैँभरि कप्तान हुनुपर्छ भन्ने नरहेको उनकाे भनाइ छ ।  

‘कप्तानबाट हटाएको विषयमा अलिकति दुःख लाग्यो, विना कारण विषय निकालेर कप्तानबाट हटाउँदा मलाई गाह्रो भएको थियो । केही नभएका आरोप पनि लगाउँदा दुःख लाग्यो । म सधैँ कप्तान हुनुपर्छ भन्ने छैन, पहिले म कप्तान नहुँदा पनि खेलेकै थिएँ, अब पनि खेल्छु, देशका लागि खेल्छु’, मल्लले भने । 

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया