हुवासिन सिमेन्टले शनिवारदेखि परीक्षण उत्पादन गर्ने

 पुस २३, २०७८ शुक्रबार १५:४४:१९ | रासस
unn.prixa.net

काठमाण्डाै – लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले भाेलि शनिवारदेखि परीक्षण उत्पादन थाल्ने भएको छ । परीक्षण उत्पादनका लागि आवश्यक तयारी पूरा भएको उद्योगले जनाएको छ ।

हुवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलका अनुसार उद्योगको भट्टीमा चुनढुङ्गा राखेर उत्पादनको तयारी थालिएको छ । व्यावसायिक उत्पादनका लागि थप दुई महिना लाग्ने उहाँले बताउनुभयो । डिसेम्बरभित्रै परीक्षण उत्पादन थाल्ने भनिए पनि प्राविधिक तयारी बाँकी रहेकाले केही दिन ढिला भएको हो । नेपाली र चिनियाँ व्यवसायीको संयुक्त लगानी रहेको याे उद्योगमा गएकाे कात्तिकको अन्तिम हप्तादेखि विद्युत् उपलब्ध भएको थियो । उद्योगले प्रदूषण नियन्त्रणका लागि ध्यान दिएको जनाएको छ । ड्राई प्रोसेस प्रविधिबाट उत्पादन हुने र विश्वमा अहिले अत्यन्त प्रचलित फिल्टरलगायत इलेक्ट्रो स्ट्याटिक प्रिसिपिटेटर (ईएसपी) जडान गरिएको छ ।

आफ्नै गुणस्तरीय खानीबाट उत्पादित चुनढुङ्गाबाट क्लिन्कर र सिमेन्ट उत्पादन गर्ने उद्योगको दाबी छ । प्लान्टलाई प्रविधिमैत्री बनाइएको छ । अत्याधुनिक कम्प्युटर प्रविधि (सीसीआर) बाट उत्पादन प्रक्रियाको निरन्तर निगरानी गर्न सकिन्छ । अत्याधुनिक प्रयोगशालाबाट निरन्तर क्लिन्कर र सिमेन्टको गुणस्तर परीक्षण भइरहने एवम् भर्टिकल रोलर मिल (भीआरएम) प्लान्टबाट सिमेन्ट उत्पादन हुने भएकाले गुणस्तर अधिक हुने बताइएको छ । भीआरएम अत्याधुनिक प्रविधि हो । यो हुवासिनको आफ्नै उत्पादन हो ।

अत्याधुनिक प्याकेजिङ प्लान्टबाट सिमेन्ट बोरा प्याकिङ हुने भएकाले लिकेज प्रुफ र ओस नलाग्ने उद्योगले जनाएको छ । वेस्ट हिट रिकभरीबाट झन्डै पाँच मेगावाट विद्युत् उत्पादन हुने उपमहाप्रबन्धक पोखरेलले जानकारी दिनुभयो । मर्स्याङ्दी–काठमाण्डाै १३२ केभी प्रसारण लाइनबाट उद्योग परिसरसम्म बिजुली उपलब्ध गराइएको हो । नेपाल विद्युत् प्राधिकरणले सबै उद्योगमा क्षमताअनुसारको थप बिजुली माग गर्न र थप लोड स्वीकृतिका लागि अनुरोध गरिरहेको बेला याे उद्योगमा समेत लाइन जोडिइ सञ्चालनमा आएको छ । 

उपमहाप्रबन्धक पोखरेलका अनुसार गएकाे कात्तिकमा नै स्विचिङ स्टेशन सञ्चालनमा ल्याइएको थियो । धादिङको सिद्धलेक गाउँपालिका ६ मा निर्माण भएको स्विचिङ स्टेशनलाई गएकाे कात्तिकमा नै चार्ज गरिएको भए पनि गएकाे मङ्सिरको दोस्रो हप्तादेखि उद्योगमा नियमितरूपमा बिजुली उपलब्ध भएको छ । प्रसारण लाइन निर्माण उद्योग आफैँले गरेको हो । त्यसका लागि मात्रै झन्डै एक अर्ब बराबरको खर्च भएको छ । 

तनहुँको तल्लो मर्स्याङ्दी विद्युत् गृहबाट आएको प्रसारण लाइन स्विचिङ स्टेशनमा भित्रिने (लुप इन) र बाहिरिने (लुप आउट) निर्माण गरिएको छ । प्रसारण लाइनलाई स्विचिङ स्टेशनमा लुप इन गराएर हुवासिन सिमेन्टलाई विद्युत् उपलब्ध गराइएको छ । याे स्विचिङबाट सिमेन्ट उद्योगले २० मेगावाट विद्युत् लिनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उद्योगमा विद्युत् खपत गराउन देश दौहाडामा रहेका बेला काठमाण्डाै नजिकैको उद्योगमा २० मेगावाट बिजुली खपत हुन लागेको हो । बेनिघाट रोराङ गाउँपालिकाको ताल्दीमा निर्माणाधीन उद्योगले एक वर्षमा नै स्विचिङ स्टेशन निर्माण गरेको हो । स्विचिङ स्टेशनबाट उद्योग परिसरम्म झन्डै १४ किलोमिटर प्रसारण लाइन र १३२ केभी क्षमताको सबस्टेशन निर्माण भएको छ ।

प्राधिकरणको प्राविधिक सहयोग एवम् सुपरिवेक्षणमा स्विचिङ स्टेशन र सबस्टेशन निर्माण भएको हो । घिसिङका अनुसार स्विचिङ स्टेशन निर्माण भएपछि धादिङको विद्युत् आपूर्तिमा सुधार भएको छ । सामान्य हावाहुरी आउँदा प्रभावित हुने धादिङको विद्युत् आपूर्तिमा गुणात्मक सुधार आउनेछ । त्यसका लागि ३३ र ११ केभी क्षमताका वितरण लाइन निकालिएका छन् ।

स्विचिङ स्टेशन सञ्चालनसँगै धादिङको गल्छी, नौबिसे क्षेत्रमा खुल्न लागेका अन्य उद्योगलाई सहजरूपमा बिजुली उपलब्ध गराउन सहज भएको छ । काठमाण्डाै नजिक भएकाले राजमार्ग क्षेत्रमा दर्जनौँ नयाँ उद्योग खुल्न लागेका छन् । ती उद्योगमा सहजरूपमा बिजुली उपलब्ध गराउन प्राधिकरणको पूर्वाधारसमेत तयार छ । राजमार्ग क्षेत्रमा गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्ति हुँदा प्राधिकरणको आम्दानीमा वृद्धि हुनेछ ।

निजी क्षेत्रले कोभिड–१९ कै बेला एक वर्षमै सशस्टेशन र १४ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नु आफैँमा महत्त्वपूर्ण रहेको पोखरेलको भनाइ छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग परिससम्म प्रसारण लाइन बनाउने नीति लिए पनि समयमा काम नहुने भएपछि हुवासिनले आफैँ याे संरचना तयार पारेको हो ।

कोरोना कहर, प्राकृतिक विपत्तिलगायत कारणले उद्योगको लागत बढ्न गएको छ । लगानी बोर्डसँग सुरुवाती सम्झौता गर्दा झन्डै १४ अर्ब ४० करोड रुपियाँ बराबरको लागत रहने भनिए पनि विभिन्न कारणले लागत बढ्न गएको बताइएको छ । नेपालमा गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ बोर्डले प्रख्यात चिनियाँ कम्पनी हुवासिनसँग सम्झौता गरी काम अगाडि बढाएको थियो ।

अर्को चिनियाँ लगानीको सिमेन्ट उद्योग होङ्सीले पछिल्लो तीन वर्षदेखि नियमितरूपमा उत्पादन गरिरहेको छ । केही समयअघि याे उद्योगले नियमितरूपमा ३० मेगावाट बिजुली पाएको छ । त्यसबाट सस्तो मूल्यमा नेपाली बजारमा सिमेन्ट उपलब्ध हुनेछ । उद्योग सञ्चालनमा आएपछि नेपाली बजारमा अर्को गुणस्तरीय सिमेन्ट उपलब्ध हुनेछ । आर्थिक विकासको गतिमा अगाडि बढिरहेको देशका लागि गुणस्तरीय सिमेन्ट उपलब्ध गराउनु नै आफूहरूको प्रमुख कर्तव्य रहेको पोखरेलको भनाइ छ । हुवासिन सिमेन्ट उद्योगले दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने छ ।

बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङबीच २०७५ असार ६ गते उद्योग  स्थापनाका लागि सम्झौता पत्रमा चीनको राजधानी बेइजिङमा हस्ताक्षर भएको थियो । सम्झौतामा एक वर्षभित्र कारखाना स्थापना गर्ने भनिए पनि विविध कारणले समय लागेको हो । उद्योगमा तीन सय ५० जनाले प्रत्यक्ष र एक हजारले अप्रत्यक्षरूपमा रोजगारी पाउने बोर्डको अनुमान छ । विसं २०७४ मङ्सिर १२ मा हुवासिनलाई खानी विभागले धादिङको पानीखर्कमा खानी उत्खनन गर्न अनुमति दिएको थियो । खानीका लागि चिनियाँ प्रवर्द्धकले ६० करोड रुपैयाँ बराबरको लगानी गरेको थियो । खानीका लागि अहिलेसम्मकै बढी खर्च गरिएको छ । 

खानी विभागले बोलपत्रका आधारमा बढी मूल्य भुक्तानी गर्ने कम्पनीलाई याे खानी दिएको हो । बोर्डका अनुसार २०७२ पुस ५ गते वैदेशिक लगानी भित्र्याउनका लागि सरकारले स्वीकृति दिएको थियो । नेपालमा अहिले झन्डै ३५ लाख मेट्रिक टन सिमेन्टको माग छ । नेपालमा स्थापना भएका सिमेन्ट उद्योगको जडित क्षमता ५५ लाख मेट्रिक टन पुगिसकेको भए पनि क्लिन्कर भने आयात गर्नुपर्ने अवस्था छ । विकास निर्माणका काममा बढोत्तरी हुँदै गएको तथा भौतिक पूर्वाधारमा लगानी बढिरहेको सन्दर्भमा आउँदा दिनमा थप सिमेन्ट उद्योग स्थापना हुने देखिन्छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया