निजी क्षेत्रलाई पनि बिजुली व्यापारकाे अनुमति दिने तयारीमा छाैँ : मन्त्री भुसाल

 पुष २६, २०७८ सोमबार १६:२३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सरकारले निजी क्षेत्रलाई पनि बिजुली व्यापारको अनुमति दिने तयारी गरेको बताउनुभएको छ ।  

आज सोमवार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाले काठमाण्डाैमा आयोजना गरेको 'नेपाल पावर मार्केट समिट' लाई सम्बोधन गर्दै मन्त्री भुसालले अन्तरदेशीय बिजुली व्यापारमा सहयोग पुर्‍याउनका लागि सरकारले निजी क्षेत्रलाई त्यसकाे अनुमति दिने तयारी गरेको बताउनुभएको हो ।

सरकारले नेपाल विद्युत् व्यापार कम्पनीलाई अन्तरदेशीय बिजुली व्यापारका लागि अनुमति दिइसकेको पनि मन्त्री भुसालले बताउनुभयो । निजी क्षेत्रलाई बिजुली व्यापारको अनुमति दिने सम्बन्धी कार्यविधिकाे खाका तयार गरिरहेको उल्लेख गर्दै उहाँले सरोकारवाला निकायसँग पनि छलफल गरिने उल्लेख गर्नुभयाे । 

मन्त्री भुसालले भन्नुभयो, ‘भर्खरै सरकारले नेपाल विद्युत् व्यापार कम्पनीलाई अन्तरदेशीय बिजुली व्यापारको अनुमति प्रदान गरेको छ । मन्त्रालय अन्तरदेशीय बिजुली व्यापारमा सहयोग पुगोस् भनेर निजी क्षेत्रलाई पनि बिजुली व्यापारका लागि अनुमति दिने तयारीमा छ । बिजुली व्यापारमा सरकारी र निजी क्षेत्रको निरन्तर पहलकदमीबाट हामीले सफलता प्राप्त गर्नेछौँ भन्ने मैले विश्वास लिएको छु ।’

मन्त्री भुसालले सरकारको पहिलो प्राथमिकता बिजुली खपतलाई बढाउँदै लैजानु भएको बताउनुभयो । देशको समृद्धिका लागि बिजुलीकाे उत्पादन र खपत बढाउनुपर्नेमा उहाँको जोड छ । देशको प्रतिव्यक्ति बिजुली खपत न्यून रहेकाले कम्तीमा त्यसलाई सात सय युनिट पुर्‍याउनुपर्ने मन्त्री भुसालले भन्नुभयाे ।

उहाँले भन्नुभयो, ‘हामीले चाहेको समृद्धिका लागि बिजुली उत्पादन र खपत वृद्धि गर्दै लैजानुपर्दछ । यसका लागि हाम्रो आन्तरिक बिजुली खपत झन्डै पाँच हजार मेगावाट पुर्‍याउनुपर्दछ । अहिले हाम्रो पिक आवरको बिजुली झन्डै १६ सय ५० मेगावाट रहेको छ ।’

बिजुली खपतलाई बढाउनका लागि सरकारले विद्युतीय चुलाेकाे प्रयोग र विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्ने नीति लिएको मन्त्री भुसालले स्पष्ट पार्नुभयो । 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया