पीएम कप : एपीएफ र प्रदेश २ विजयी

 पुस २७, २०७८ मंगलबार १७:२१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेटमा एपीएफले वाग्मती प्रदेशलाई सात विकेटले हराएकाे छ ।

कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा आज मङ्गलवार भएकाे खेलमा वाग्मतीले दिएको एक सय २६ रनको लक्ष्य एपीएफले १८ दशलमव ४ ओभरमा मात्र तीन विकेट गुमाएर पूरा गर्‍याे ।

एपीएफका लागि लोकेश बमले अर्धशतकीय पारी खेले । बलिङतर्फ वाग्मतीका रामनरेश गिरी, रिजन ढकाल र प्रतिस जिसीले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै वाग्मतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २५ रन बनाएको थियो । वाग्मतीका लागि इशान पाण्डेले सर्वाधिक २९ रनको योगदान गरे । बलिङतर्फ एपीएफका अविनाश बाेहराले चार विकेट लिए । 

यस्तै आजै भएको अर्को खेलमा प्रदेश नम्बर २ ले गण्डकी प्रदेशलाई दुई विकेटले हराएको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशले दिएको एक सय १७ रनको लक्ष्य प्रदेश २ ले १८ दशमलव १ ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍याे ।

प्रदेश २ का लागि कप्तान हसिम अन्सारीले सर्वाधिक २६ रनको योगदान गरे । यस्तै सन्तोष कार्कीले २१ बलमा २३ रन जोडे । बलिङतर्फ गण्डकीका कृष्ण पाैडेलले तीन विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै गण्डकीले २० ओभरमा सात विकेट गुमाएर एक सय १६ रन बनाएको थियो । गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ४१ रनको योगदान गरे । यस्तै सन्दीप क्षेत्रीले २७ रन जोडे । बलिङतर्फ प्रदेश २ का माेहम्मद आदिल आलमले दुई विकेट लिए । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया